स्वर्गवासी हजुरबाका नाममा एउटा पत्र
बाँचुन्जेल पनि टाढा टाढै भइयो। अहिले त हजुर कहाँ अनि म कहाँ उनै सृष्टिकर्ता एवम् संहारकर्तालाई थाहा होला । आफ्नो रगत न हो, जो जो जहाँजहाँ जुनजुन अबस्थामा रहेपनि आत्मीय माया र सम्बन्ध झनै गाढा हुँदो रहेछ । मलाई बडादशैँको नवमीका दिन राडीमाथि राखेर पुजा गरि मीठामीठा मिष्ठान्न खान दिएको अनि गोडा धोएर नयाँ कपडा अनि टीका लगाई दिएको, दक्षिणा हतारहतार खुरुरु कुद्दै आमालाई देखाउँन आईपुग्थेँ । अहिले जस्तो लाग्छ । सायद खस्कँदो उमेर भएर होला उफ ! आँखा रसाउँ छ ,छाती दुख्छ ,बोली अबरुद्ध हुन्छ अनि चारैतिर सन्नाटा छाउँछ । बालापनको यादले निकै पिरोल्छ मलाई ।
मेरा चारभाइ हजुरबाहरुमा जेठो कृष्णप्रसाद नाममात्र सुनेको छु , माईलो भानुभक्त सिधासाधा हुनुहुन्थ्यो । गोरस ( दुध दही ) मनपरनउने भएकाले होला " ए नानी अलिकति सेतो गोरस छ के" भनी सोध्नु हुन्थ्यो । दहीमोही बिनाको खाना सायद वहाँको मुखमा परेननै होला । साइँलो हजुरबा मिनप्रसादको माईलो छोरा नरनाथकि कान्छि छोरी म शान्ता पोखरेल दाहाल । साईलो हजुरबा झोंक्की स्वभावको हुनुहन्थ्यो । मेरा चारभाइ हजुरबामध्ये कान्छो हजुरबा नन्दलाल पोखरेल । तपाईंले सबभन्दा गुणस्तरीय जीवनशैलीसहित आफ्नो जीवनयापन गर्नुभयो र हामीलाई पनि तपाईंकै नामबाट देसपरदेसमा चिनिनका लागि सजिलो भयो । हामी त थामखार्के नन्दलालका सन्तान । वा ! क्या, सान अनि ईज्जत् र मर्यादा । यो रबाफ् नितान्त कसैको कुनैपनि साथ र सहयोगले हामीले पाएका होइनौँ । एकमात्र कान्छो हजुरबा तपाईंको खुबी र क्षमताको कमाल थियो । बा ! हजुरको जन्म १९७० साल असार ११ गते भएर हजुर ९७ बर्षको उमेरमा २०६६ साल असार २४ गते यस धराधामबाट आफ्नो भौतिक शरीर बिसाउनु भयो । हजुरको बाल्यकालको अबस्थामा मलाई कुनै जानकारी छैन । मैले हजुरबा तपाईंको को बारेमा जानेसम्म केही स्मृतिहरु उल्लेख गर्ने जमर्को गरेकी छु ।
कान्छाबा तपाईंको जीवनशैलीमा आफ्नै मौलिकपन थियो । तपाईंको खानपानमा नियमितता थियो । तपाईंलाई दीर्घजिवी बनाईराख्ने एउटा ठूलो पानि तताउने कित्लीभाँडो दिनरात त्यही मझेरीको खाँबो नजिकको अँगेनाको आगोमा तातिनै रहन्थ्यो । बा ! तपाईं त्यही शुद्धीकरण भएको पानिमात्र खानुहुन्थ्यो । तपाईंले जीवनमा हर कोहिसँग पनि केहिकुरा मागेर काम चलाउनु परेन । यदा कदा सौखिन चिजको भने इच्छा राख्नुहुन्थ्यो । तपाईं मृदुभाषि, स्थायॆ प्रकारको जीवनशैली, सँधै राष्ट्रिय भेषमा रहने , जादुरुपि ब्यबहारशैलीले चिनिनु भएको , ब्यबहारिक ज्ञान र अध्ययनशील हुनुहुन्थ्यो । तपाईं त वकिल , ईन्जिनियर , डाक्टर, बैध्य , प्रशाशक , मानिसको भुत , वर्तमान र भबिस्यबाणी गर्न सक्ने एउटा कुशल ज्वतिषी हुनुहुन्थ्यो । बा, तपाईं घरमै रहेपनि वा बाहिर रहेपनि तपाईंका अघिपछी दुई चार जना मानिस अनिवार्य रुपमा हुन्थे । बा, तपाईं निदाउँदामात्र एक्लो हुनुहुन्थ्यो । तपाईं बसेको , हिँडेको ठाउँको वातावरणनै आकर्षक र मनमोहक एबं रमाइलो हुन्थ्यो ।
धेरै मानिसले तपाईंमा एउटा अलौकिक शक्ति छ भनेर अनुमान गर्थे । तपाईंको हर कृयाकलाप नजिकबाट नियाल्दा ईश्वरको कृपा पाएको हो कि जस्तो लाग्थ्यो । कहिलेकाहिं लाग्छ , बा अहिलेसम्म भएको भए म कति अर्गानिक माया लिन्थेँ , अनि जीवनोपयोगी ज्ञान र शिक्षा । पूर्वजको खानदाङ बाहेक केही पनि लिन सकिएन बा ! हजुरबाट । हजुर त श्रीखण्ड हुनुहुन्थ्यो , जसलाई बेलामा हामीले बुझ्ने सकेनौं । ! यसरी सम्झंदा दु: ख लाग्छ । हजुरको भौतिक शरीर नरहे पनि आत्मा त अमर छ । म धर्मशास्त्रमा बिश्वास गर्छु । हजुरको अन्तिम श्रद्धाञ्जली दिन नपाए पनि हिन्दूशास्त्र अनुसार बिहान ब्रम्ह मुहुर्तको उषाकालमा उठेर न्वाइ ध्वाइ गरि ताम्र पात्रबाट मेरा पुर्बजहरुलाइ नाम र गोत्र उच्चारण गर्दै जल अर्पण गरिरहेकी छु । देवता दिने , पितृ हर्ने भन्छन् म त जानकार छुइन तथापि पितृलोकमा रहने मेरा पुर्बजसँग सँधै आशीर्बादको अपेक्षा गरिरहन्छु ।
उही हजुरकी नातिनी
-------------------------
शान्ता पोखरेल दाहाल
त्रियुगा नगरपालिका वडा नम्वर , ३
उदयपुर गाईघाट मोतिगडा
मोवाइल नम्वर : ९८५२८३५२६६
No comments:
Post a Comment