भोजकुमार ठकुरी |
म जन्मेकै दिन असार १५ गते (२०२९
साल असार १५ गते बुधबार) का दिन थामखर्के हजुरबा हाम्रो घर आइपुग्नु
भएको थियो रे । हजुरबालाई भगवानकै रुपमा हेर्नुहुने हाम्री
आमाले म जन्मेकै दिन हजुरबा हाम्रो घरमा आउनुमा संयोग मात्र मान्नु भएको छैन
ईश्वरीय लीलाको रुपमा ईश्वरको साक्षात स्वरुपमा छोरोलाई विशेष आशिष प्रदान गर्न
आउनु भएको भन्ने रुपमा लिनु भएको रहेछ । हजुरबा आउनु भयो,
भर्खर जन्मेको मरञ्च्याँसे बालक मलाई हेर्नु भो र सुत्केरोले थिल्थिलो भएको
कुपोषित शरीर की मेरी आमालाई हेर्नु भयो र वहाँले घोषणा गर्नु भयोः छोरी यो
बालकलाई बचाउन सक्यौ भने तिम्रो सबै दुःख गयो यसले धेरै पढ्छ र जागिर खाएर तिमीलाई
सुख दिन्छ । आफै कुपोषित, गलित र थकित शरीरमा रगत लतपतिएको सुत्केरो
आमालाई अचम्मको साहस र उर्जाले घेर्यो अनि हजुरबाले भनेको सुख सम्झिनु भो भविष्यको
सुख सम्झेर गदगद् हुनु भो । आमाको संस्मरण । आमालाई मैले कति सुख दिएँ कि दुःख
दिएँ त्यो त वहाँलाई अनुभव छ तर यो गहिरो छाप मेरो आमालाई संकल्पको रुपमा बस्यो
अनि मलाई प्रेरणा । जब म बुझ्ने उमेरमा पुगेँ तबदेखि मेरी आमाले गहिरो सङ्कल्प
भरिदिनु भो हजुरबाको त्यही पहिलो उदगार म प्रतिको । मलाई आमा सँधै भन्नु हुन्थ्यो तँ
बाँचिस्, शरीर तेरो कमजोर छ तर थामखर्के बुबाले भन्नु
भएको ढुङ्गाको अक्षर बराबर हो तैँले पढेर
मलाई सुख दिन्छस् छोरा राम्रो पढेस् ।
निरक्षर आमा
र सामान्य साक्षर बुबाले थामखर्के
हजुरबाको उद्गार सम्झेर मलाई पढ्न अनेकन व्यवस्था मिलाउनु भयो । सानैमा राम्पुर
ठूलोआमाको घरमा दाइले पढाउने गरी पठाउनु भएछ । अनेकन दुःख कष्ट गरेर पनि मलाई
पढाउने सङ्कल्पबाट पछि हट्नु भएनछ ।
म उमेरसँगै शरीरले पनि अलिकति बढ्दै गएँ । राम्पुरमा
दाइले मलाई कखरा, अङ्क, दुनाइ, साँवा अक्षर सिकाउनु भयो तर दाइ एकाएक राति
पढ्नको लागि उदयपुर गढी जानु भएछ त्यसपछि मेरो पढाइ बिग्रन्छ भनेर ठूलोबुबाले मलाई
राम्पुर कै स्कुलमा भर्ना गर्न लानु भयो । मेरो सामान्य ल्याकत जाँच गरेर हेडसरले
एकै पटक कक्षा २ मा भर्ना गरिदिनु भयो । ठूलो बुबाले ठूल्ठूलो स्वरमा भन्नु भो यो
केटाले पढेर खान्छ भनेर थामखर्केले भनेको पुग्ने भो । त्यस बखत म पाँच वर्ष
मात्रको थिएँ । ठूलोबुबाको भनाइ पनि खासै बुँझिन आमाले पनि थामखर्क बुबाले तैँले
पढ्छस् भन्नु भाछ भन्नु हुन्थ्यो त्यो पनि खासै बुझ्दैन थिएँ तर ती सबै भनाइले
मेरो मानसपटलमा सङ्कल्प रेखाको रुपमा बस्दै गएछ । राम्पुरमा मैले कक्षा २ पास गरेँ
। दाइ पनि पढ्न जानु भएकोले मलाई रुपाटारकै विद्यालयमा पढ्ने गरी घरमा ल्याइयो ।
पुषमा कक्षा ३ मा भर्ना भएछु । घरमा मामाको छोरा पढ्न बस्नु भएको थियो । वहाँ
कक्षा ५ मा पढ्ने म कक्षा ३ मा । त्यसै बेला आमाले स्वस्थानी ब्रत लिनु भएको रहेछ
। विहानको कथा वाचन मावली दाइले गर्ने बेलुकाको कथा वाचन मैले गर्ने गरी आमाले भाग
लगाइ दिनु भयो । मेरो आफ्नो किताब त म
राम्रैसँग पढ्थेँ तर स्वस्थानी कथाको किताब त पढेको थिइन बिहान दाइले पढ्नु भो भरै बेलुका
मेरो पालो, पढ्न सक्छु जस्तो लाग्यो । स्कुल गइयो र छुट्टी भएपछि
फुरुङ् हुँदै घर आइयो । बेलुका कथा वाचनको जिम्मा छ,
संयोग त्यसै दिन थामखर्के हजुरबा अन्य दुई जना
सहयोगी समेत (एक जना निवुवाटार राउत फुपाजु र अर्को याद भएन)
राति हाम्रैमा बस्ने गरी आउनु भयो । एक
दुई पटक देखेको भए पनि मैले हजुरबालाई राम्ररी ठम्म्याएको थिइन । आज उमेरले पनि
अलि ठूलो भएको, दिमागले पनि बढी बुझ्ने भएको र पटक पटक मेरो सिकाइसँग
हजुरबाको नाम जोडेर ठूलोबुबा र आमाले कुरा गरेको हुनाले पनि मैले बढी नजिकिने र
वहाँको कुरा सुन्ने इच्छा राखेको थिएँ । आमा साह्रै खुशी हुनुहुन्थ्यो । ब्रतको दिन आफू
नखाने भए पनि आमाले खिर पकाउनु भयो । आमाले पकाको खिर हजुरबाले खानुहुने रहेछ ।
बेलुका भान्साको नजिक वहाँहरुले खिर खानु भयो । घ्यू,
मह र तरकारीसँग पाहुनाहरुले खाइ सकेपछि हामीले पनि अलिकति खिर खान पाउने भयौँ ।
हजुरबाले खाएर अलिकति बाँकी रहेको खिरमा अलिकति खिर थपेर आमाले मलाई दिनु भयो ।
मैले खान आनाकानी गरेपछि आमाले विस्तारै भन्नु भो वहाँ सिपालु जोतिसी हो तेरो
भाग्य सबै थाहा पाउनु हुन्छ, तैँले हजुरबाको जुठो खाइस् भने तँ पनि सिपालु
हुन्छस् हजुरबा जस्तै जान्ने सुन्ने हुन्छस् खा । हजुरबाले आमा र
मेरो गन्थन सुन्नु भएछ र भन्नु भो खा नाति खा मलाई कुनै रोग छैन । अब राती सुत्नु
अघि म तातो पानी खान्छु विहान सबेरै उठ्छु पाठ गर्छु । तँलाई पनि फल मिल्छ । अनि
मैले हजुरबाको जुठो खिर खाएँ । मह घिउ र खिरको स्वाद भन्दा पनि जोतिसी बन्ने, जान्ने
सुन्ने हुने अरुको भाग्य थाहा पाउने लालसा ज्यादा थियो मेरो कलिलो मानस पटलमा ।
सबैले खाना खाइ सकेपछि लोटाइ पोती गरेर हजुरबालाई अगेनामा कराइमा पानी तताइ दिनु
भयो आमाले । अनि हजुरबाले झर्का थालमा तातो पानी राखेर खानु भो । त्यस पछि
स्वस्थानीको कथा वाचन गर्ने समय भयो । मेरो पहिलो स्वस्थानी वाचन अलिकति धक र
उत्साह ज्यादा । कथा वाचन पूर्वको संस्कृत श्लोक हजुरबाले मुखजावत भनिदिनु भयो अनि
कथा वाचन मैले शुरु गरेँ । हजुरबाले ढाडस दिँदै भन्नु भो पढ नाति पढ । कक्षा तीनमा
भर्खर भर्ना भएको छवर्षमा हिड्दै गरेको म फुच्चेले कति कन्दै भनेँ होला तर खासै
कथा वाचनमा अड्केको याद छैन । हजुरबाले सानो तर तीखो स्वरमा संस्कृतका केही उद्गार
भन्दै आमालाई स्यावासी दिनु भो । हेर छोरी मेरो वचन खेर जाँदैन तेरो छोराले यति
राम्रो स्वस्थानी वाचन गर्यो । यसले पढेर खान्छ । मलाई पनि राम्रो पढिस् नाति
भन्नु भो मेरो नेप्टो नाकले घरको धुरी छोला जस्तो गर्यो म ज्यादै फुर्किएँ । आमाले
पनि मावली दाइले भन्दा पनि राम्रोसँग कथा वाचन गर्यो भन्नु भो । दाइलाई दुःख
लाग्यो होला तर मलाई भने ज्यादै हौसला भो । गदगद हुँदै स्वस्थानीको प्रसाद सख्खरको
टुक्रा खाएर त्यस रात सुतियो । विहान सबेरै विउझिएर विछ्यौना मै हजुरबाले अनेकन
श्लोकहरु वाचन गर्नु भो । किताब नहेरी अध्याँरोमा हजुरबाले त्यसरी नबुझिने भाषाको
श्लोक वाचन गरेको सुनेर म तीन छक्क परेँ । कति जान्ने हजुरबा । विहान उज्यालो भयो
। खोलामा गएर दिसा पिसाव गरेर हजुरबा आउनु भो । बुबाले दूध दुहुनु भो । आमाले दूध
तताएर हजुरबा र सबै पाहुनालाई दिनु भो । हजुरबाले नातिलाई पनि दूध दे छोरी भन्नु
भो तर मलाई तातो दूध पिउन त्यति मन लाग्दैनथ्यो । आमाले बाबूले खान मान्दैन भन्नु
भो,
अनि हजुरबाले तातो दूध खाए पो बुद्धि बढ्छ पढ्न आउँछ खा नाति खा भनेपछि मैले
अलिकति दूध करबलले खाएँ । त्यस पछि हजुरबाले मेरो गणित जाँच्ने विचार
गर्नु भएछ । दुनाइ सोध्नु भो मलाई २० एकानसम्म दुनाइ आउँथ्यो । पूरै दुनाइ वाचन
गरेँ १३ एकानमा अलिकति विराएँ क्यार नत्र सबै सुनाएँ । हजुरबा ज्यादै खुशी हुनु भो
। भर्खर दुई कक्षा पास गरेको मानिसलाई यति धेरै दुनाइ आउनु राम्रो हो भन्नु भो र अङ्कको
नयाँ पहेली बताउनु भो । ९ एकान ९ बराबर ९ । ९ दुना १८ एकमा आठ जोड्दा ९ । ९ तियाँ
सत्ताइस दुईमा सात जोड्दा ९ यसैगरी ९ दशाङ्क ९० नौ मा शून्य जोड्दा ९ यसरी ९
अङ्कको दुनाइको योगबाट बन्ने अङ्क पनि ९ नै हुने फेहरिस्त बताउनु भए पछि मेरो गणित
प्रतिको चासो अझ बढ्यो साह्रै खुशी भएँ । कापीमा सबै लेखेँ । म आउँदै गर्छु तँलाईं
धेरै नयाँ कुरा सिकाइ दिन्छु नाति राम्रो पढ भन्नु भो म निकै खुशी भएँ । हौसल्ला
जाग्यो । साह्रै सानो फुच्चे, शरीर विकास नभएको,
उमेर पनि कक्षाका अरु साथी भन्दा कान्छो भएकोले मलाई सबै साथीहरुले नसे,
च्याँसे भनेर गिज्याउँथे, नरमाइलो लाग्थ्यो तर कक्षा ३ को परीक्षा
अञ्चल स्तरीय भनेको सुनेको थिएँ । छापिएको प्रश्न पत्रमा उत्तर लेख्नु पर्थ्यो ।
रामदेव सर बस्ने घरकी केटी फस्ट, चौधरी सर बस्ने घरको केटो सेकेन र म थड भएँ
मलाई फस्ट नै हुन्छु जस्तो लागेको थियो तर भइन । रिजल्टको दिन थड भए पनि अविर लगाइ
दिने चलन थियो मैले पनि अविर पाएँ त्यो दिन हाम्रो खेतमा धान झार्ने दिन थियो खेत
बाटामै पर्ने भएकोले रिजल्ट पछि सरासर खेतमा गएँ । आमा त्यहीँ खेतालासँग काम
गरिरहनु भएको थियो । मैले रातो अविर र पुरस्कारको एउटा सानो कपि पाएको थिएँ त्यो
देखेर आमा साह्रै खुशी हुनुभयो । सबैलाई
सुनाउनु भो थामखर्के बुबाले भन्नु भाछ मेरो छोरोले धेरै पढ्छ भनेर । संयोग हामी
धानको खलोमा हुँदा हुँदै थामखर्के हजुरबा बाटामुनी कान्छा हजुरबाको घरबाट ४/५
जना अन्य साथीहरुसहित निवुवाटार तिर जान हाम्रै खेतको बाटो भएर आउनु भयो । मैले
अविर लगाएको देखेर राम्रो पढिस् र पुरस्कार पाएछस् नाति भन्नु भो र स्यावसी दिनु
भो फेरि आमालाई उही कुरा दोहोर्याउनु भो तेरो छोराले राम्रो पढ्छ छोरी तेरो दुःख
हराउँछ । मलाई भने हजुरबाले कोटको खल्तीबाट मिस्रीको डल्लो झिकेर पुरस्कार दिनु भो
र अझै राम्रो पढ नाति तँ फस्ट हुन्छस् चिन्ता न ली भन्नु भो अनि निवुवाटार तिर जानु भो ।
मेरो पढाइ पनि अघि बढ्दै गयो । हजुरबा पनि
हाम्रो घरमा बाक्लै आउनु हुन्थ्यो । वहाँ आएपिच्छे म अङ्क गणितको केही न केही नयाँ
कुरा सिक्थेँ । मेरो पढाइ कक्षा १० सम्म राम्रैसँग सकियो तर एसएलसीमा म गणित विषयमै
फेल भएँ । रिजल्ट निस्केको १ महिना पछि
मार्कसिट पुग्यो म अनिवार्य गणितमा फेल भएछु । अचम्म ! खासमा म गणितमा फेल हुने
ल्याकतको विद्यार्थी थिइन तर नतिजा आयो त्यस्तै । मार्कसिट लिएर स्कुलबाट म घर
पुग्दा संयोगवश हजुरबा हाम्रै घरमा हुनुहुँदो रहेछ,
म फेल भएको त सबै आफन्तलाई थाहा थियो तर गणित
विषय नै लागेको चाहिँ त्यही दिन थाहा भएको हो । हजुरबाले सान्त्वना दिँदै भन्नु
भयो म्याट्रिक फलामे ढोका हो नाति पढेर मात्र हुँदैन भाग्य पनि बलियो हुनु पर्छ
अब तैँले अर्को वर्ष धेरै नम्बर ल्याएर सजिलै पास गर्छस् र जीवनमा कुनै कक्षामा
पनि फेल हुँदैनस् । हजुरबाको उक्त बचन मेरो पढाइमा ढुङ्गाकै अक्षर भएर रह्यो ।
मैले अर्को वर्ष पुरानै तयारीमा ८७ अङ्क ल्याएर गणित विषय पास गरेँ र क्याम्पसमा
परीक्षामा सामेल भएको सबै विषय सहज रुपमा पास गर्दै गएँ ।
एसएलसी पास भए पछि अब तँलाई पढाउन सक्दिन खर्च
आफै जुटाएर पढ्ने भए पढ्न जा भन्नु भो बुबाले । आमाले एकचोटी थामखर्क जा हजुरबा
सँग सोध भन्नु भो म तुरुन्तै थामखर्क गएँ,
थामखर्कमा विरलै भेटिने
हजुरबालाई संयोगले भेट भयो । तँ पढ्न जा । जनतपुर अन्तरेको छोराले उर्लावारीमा
पढेको हो । त्यहाँ केटाकेटी पढाएर पढ्न पाइन्छ उसलाई भेट । उसले तँलाई सहयोग
गरिहाल्छ । जानेआउने खर्च म दिँउला भन्नु भो । मलाई संसारै जिते जस्तो भो । म गोपालदाइलाई अनुरोध गर्न जतनपुर गएँ । वहाँले ट्युटर शिक्षक भएर पढ्ने
व्यवस्था मिलाइ दिने हुनु भो । हजुरबाले ६००। रुपैयाँ दिनु भो । साइत हेरी दिनु भो
। साउन भदौमा शुरु भएको क्याम्पसको पढाइ गोपालदाइ र हजुरबाको सहयोगले मैले पुषदेखि
शुरु गरेँ । उर्लावारी जान आउन, कपिकलम किन्न, ड्रेसको कपडा सबैको खर्च केही रिन केही
सहयोगको रुपमा हजुरबाले दिनु भो र मैले प्रमाण पत्र तहको पढाइ पूरा गरेँ ।
हजुर बाले ज्योतिष विज्ञान भारतवर्षमा शुरु
भएको र अङ्क गणितको अङ्क १-९ भारत वर्षमा आविष्कार भएको भन्नु हुन्थ्यो
त्यो वैज्ञानिक तथ्य रहेछ । मान्छेको शरीरमा, मनमा
जुनसुकै घट्ना हुन्छ त्यसमा
कुनै न कुनै प्रकारले नक्षत्रको प्रभाव हुन्छ भन्नु हुन्थ्यो त्यो पनि क्वान्टम
फिजिक्सको अध्ययन र डा माइकल न्युटनको प्रयोगबाट वैज्ञानिक
तथ्यपरक रहेछ भन्ने स्पष्ट भएको छ ।
पृथ्वीमा जेसुकै महामारी वा विरामी पैदा हुन्छ
त्यो सबै नक्षत्रको प्रभावले हुन्छ भन्ने ज्योतिषीय तथ्य राख्नु हुन्थ्यो, सूर्यको
आन्तरिक घटनाक्रम र त्यसको तरङ्गको परिवर्नबाट पृथ्वीमा प्रभाव पर्ने कुरा रुसी
वैज्ञानिक जिजेभस्कीको सूर्यमा प्रत्येक ११ वर्षमा आणविक विष्फोट हुन्छ त्यही
विष्फोटका आधारमा पृथ्वीमा मानवीय आन्दोलन क्रान्ति वा प्राकृतिक विष्फोट हुन्छ
भन्ने वैज्ञानिक तथ्य प्रकाशमा आएको छ उक्त कुरा हजुरबाले ज्योतिषीय ज्ञानका
आधारमा पहिले नै राख्नु भएको थियो । यतिसम्म कि क्रान्तिका कारण वर्गीय नभएर
नक्षत्रीय प्रभावका कारण हो भनेर वहाँ ठोकुवा गर्नु हुन्थ्यो ।
सूर्य ग्रहणको प्रभाव पर्ने पृथ्वीको
क्षेत्रमा सूर्य ग्रहण लाग्नु २४ घण्टा अगावै बाँदरहरु मौन हुन्छ भनेर ज्योतिषीय
तथ्यका आधारमा भन्नु हुन्थ्यो त्यो तथ्य भौतिक विज्ञानले आज स्वीकार गरिसकेको छ र
हामी आफैले सूर्यग्रहण लाग्ने समयमा वाँदरको अवलोकन गरेर विश्वस्त हुन सक्छौँ ।
पृथ्वीले आफ्नो किलमा २३ घण्टा ५६ मिनेटमा एक पटक घुम्छ त्यसकै आधारमा एक दिन र
रातलाई २४ घण्टा मानिएको तथ्य ज्योतिष विज्ञानको आधारमा बताउनु हुन्थ्यो ।
प्रत्येक ९० वर्षमा सूर्यमा महा विष्फोट वा
उथुलपुथुल हुन्छ र त्यसको प्रभावको कारण पृथ्वीको किलमा असर गर्छ जसका कारण
महाभूकम्प लगायत विविध प्राकृतिक विपत्ति हुने विषय ज्योतिष विज्ञानले पत्ता
लगाएको तथ्य राख्नु हुन्थ्यो त्यो पनि वैज्ञानिक तथ्य रहेछ । यसरी भूतल र आकाशीय
पिण्ड लगायत सौर्यमण्डल र महासौर्यमण्डल समेतको गहिरो ज्ञान राख्ने हजुरबा केवल
ज्योतिषी मात्र होइन महावैज्ञानिक हुनुहुन्थ्यो । कानुन,
न्याय,
दर्शन र गणितमा गहिरो दख्खल राख्ने हजुरबा हाम्रो इलाकाको आर्थिक र सामाजिक सहारा
नै हुनुहुन्थ्यो ।
म क्याम्पस पढ्दा साथीभाइको लहैलहैमा लागेर
विद्यार्थी राजनीतिको प्रभावमा थिएँ । इच्छा पनि जागेको थियो गरीवीको चपेटाबाट
मुक्ति हुने सपना राजनीति मानेको थिएँ । विदामा घर आउँदा म हजुरबालाई अनिवार्य
भेट्थेँ, आशिष लिन, आर्थिक सहयोग लिन र नयाँ कुरा सिक्न ।
हजुरबाले सुँघेर थाहा पाउनु हुन्थ्यो । मलाई विद्यार्थी राजनीतिको हावा लागेको
थियो हजुरबाले मलाई अर्थ्याउँदै भन्नु भो नाति तँ पढेर काममा साटिन्छस् भन्ने मेरो
चाहना थियो तेरी आमाले साह्रै दुःख पाकीछ
। तिमीहरुलाई हुर्काउन लाउन,
खान र पढाउन धेरै कष्ट गरेकी छ । मैले छोराछोरीले तँलाइ सुख दिन्छन् छोरी भनेर
मेरो विद्याको अन्तर्प्रयोगबाट भनेको छु तर तैँले सही बाटो लिए जस्तो लागेन । हेर
नाति दुईटा मध्ये एउटा खुट्टा उचाल्ने स्वतन्त्रता सबै मानिसलाई छ जुन मनलाग्छ
त्यही उठाउन पाउँछ तर अर्को खुट्टा उचाल्दिन भन्ने स्वतन्त्रता मानिसलाई छैन किनकि
एउटा खुट्टा उचाले पछि अघि बढ्न अर्को खुट्टा उठाउनु अनिवार्य हुन्छ नत्र लडिन्छ ।
त्यसैगरी फुस्रे राजनीति गर्ने वा राम्रोसँग विद्या आर्जन गरेर आफ्नो खुट्टामा
आफै उभिने भन्ने स्वतन्त्रता पनि मानिस मै छ । तँ आफूलाई के गर्दा राम्रो हुन्छ
भन्ने कुरामा आफै विचार गर । यसरी धर्म, दर्शन
र राजनीति सबैमा राम्रो
दख्खल राख्ने हजुरबाले प्रत्येक पाइलामा मलाई प्रेरणाको घिउ थपिरहनु भयो । जुन घिउ
नै मेरो जीवनको उज्यालो ज्योतिको वर्तन बन्यो । जब मैले कामसँग आफूलाई साट्दै पढाइ
निरन्तर गरेँ, हजुरबा धेरै खुशी हुनुभो । खास गरी अङ्क गणित प्रति मेरो
मोह हजुरबाले सिकाउनु भएको कारणले बढेको हो । गणितको ज्ञानले मैले ट्युटर शिक्षक
भएर पढ्ने सहजता प्राप्त गरेँ । मैले स्नातक तहको पढाइ पूरा नगरुञ्जेल हजुरबाले
मेरो पढाइको बारेमा चासो दिइ राख्नु भो । जब मैले जनकपुर क्याम्पसबाट कलेज टप गरेर
स्नातक तह पूरा गरेँ । अनि मातृका पोखरेल (वहाँकै छोरा)
ले बनाएर पठाइ दिनु भएको
ट्रान्सक्रिप्ट देखाउन म हजुरबा कहाँ पुगेँ । वहाँ साह्रै खुशी हुनु भो र भन्नु भो
म तँ जन्मेकै दिन तेरो घरमा गएको थिएँ
। तँ जन्मेको समय मलाई थाहा भएकोले तेरो चिना पूरा चिना बनेको छ सबै मिलेको
। तेरो लग्न कुण्डलीमा मुखमा वृहस्पति भएकोले तेरो पढाइ सोचेबमोजिम पूरा हुन्छ । मेरो
लागि वहाँको हौसला मनोवैज्ञानिक इरिक इरिक्सनको बालबालिकाको स्याहारमा नयाँ सोच
सिद्धान्तसँग दुरुस्त मेल खाने रहेछ भन्ने तथ्य अहिले महसुस गरिरहेको छु ।
छनौटको स्वतन्त्रता मैले हजुरबासँग सिकेँ र
गुजाराको कठिनाइबाट सहजता पाउन मैले जागिर खाने निधो गरेँ । हजुरबाले उद्देश्य
प्राप्तिका लागि लक्ष्य तोक्ने र सङ्कल्पना गरेर निरन्तर प्रयास (तपस्या) गरी
लक्ष्य प्राप्त गर्ने कला सिकाइ दिनु भएको
थियो । मैले लोक सेवा आयोग पास गरेर जागिर खाने लक्ष्य पूरा गरेँ । हजुरबा धेरै
खुशी हुनुभो । मैले आमालाई दुःख मुक्त गर्न र सुख दिन नसके पनि मैले स्वतन्त्र
रुपमा जीवन जिउने कलाको विकास हजुरबाबाट गरेँ ।
म आज हजुरबाले उदघोष गर्नु भएको पढाइ वृत्तिबाट नै जीविकोपार्जन गरिरहेको
छु । तन, मन र धनबाट मलाई जति उत्साह र प्रेरणा हजुरबाले दिनु भो
त्यति नै मैले गर्न सकिन तथापि वहाँको इच्छाको सानो अंश लिएर म आफू सुखी,
खुशी,
सहज र स्वतन्त्रतापूर्वक जीवन जिइरहेको छु । हार्दिक नमन हजुरबा । हजुरको प्रेरणा
सदा साथमा छ । कृतज्ञता अर्पण गर्दछु ।
ताप्ली गाउँपालिका
वडा नं ५ बडहरेखोला
हाल धुलिखेल
काभ्रेपलाञ्चोक ।
bhjthakuri@gmail.com
No comments:
Post a Comment