यादवप्रसाद पोखरेल |
म जन्मिएको गाउँ धापपानी । ठानागाउँ तेर्सो बाटोमा पर्ने देउराली देखि तल कैँदलबोटे , त्यो भन्दा थोरै तल मेरो घर । उत्तर फर्केको पाटो भएकोले हिउँदमा केहि चिसो , ओसिलो र अबेला घाम लाग्ने भएकोले मनग्गे ठण्डी महशुस हुनेगर्थ्यो । घर मुन्तिर एउटा ठूलो ढुंगो थियो जुन जमीनको सतहसँग मिलेको भए झण्डै दुई मुरी धानको बिस्कुन सुक्थ्यो होला तर त्यो टेढो थियो । बिचमा खुकुरीको दाप जस्तो वारपार छिचोलिएको चिरा थियो । बेलाबेलामा त्यहाँ बाट गोहोरोहरु निस्कन्थे । अलि तल बाटै छेउमा सानो चौरी थियो । माथिल्लोपट्टि छेउमा एउटा राम्रो खोपा आकारको ढुङ्गो थियो । दुई जनासम्म केटाकेटी हरु टुक्रुक्क बस्न सक्ने । हामी त्यो खोपालाई देउलको घर भन्दथ्यौँ । खेल्दै जाँदा जो पहिले त्यहाँ पुगेर बस्छ आफुलाई देउता भएँ भन्ने गरिन्थ्यो । त्यो भन्दा तल कान्ते दाईको घर थियो । उनका छोरा ध्रुब र काले मेरा साथी थिए । उत्तर तर्फ पारीपट्टि धयनीडाँडा भन्ने गरिन्थ्यो । कान्ला परेको राम्रो बारी गह्रैगह्रा माथी देखि तलसम्म फैलिएको जमीन थियो । तर त्यहाँको जग्गा आबादी थिएन । त्यसैले त्यहाँ सबैका गाई बाख्रा चर्थे । खेल्दै गर्दा घरीघरी आँखा सुनकोसीमा पुग्थे । पारी भुङ्जु लगायत दक्षिण महाभारत श्रृङ्खला फन्को मार्थे । महाभारत पारी पुग्न पाए त्यस भन्दा पर कस्तो ठाउँ होला भन्ने कौतुहलता पैदा हुन्थ्यो । एक पटक गिजिनचौरको ककनी दर्शन गर्न अभिभावकको साथ गाउँलेहरुसँग मैले पनि यात्राको अनुमति पाएँ । मलाई सबैभन्दा बढी माया गर्ने देउराली कान्छा दाजु पनि सँगै थिए । हिड्नु भन्दा बढी मलाई बोक्ने काम उनै कान्छा दाजुले गरे । मलाई राम्रो सम्झना छ ।
धापपानीदेखि उत्तर दमाई खोला छ । त्यहीनै थियो हामी सबैको पानीको श्रोत । नामले खोला भए पनि त्यो बास्तबिक खोल्सा थियो । त्यो देखि पारी च्यानडाँडा ,पड्केडाँडा नाम भएका जङ्गल थिए । केरा बारीका मानिसहरु गीत गाउँदै त्यसै जङ्गलमा दाउरा घाँस लिन जान्थे । साँझमा फर्किदा एक भारी दाउराको कमाई हुन्थ्यो । त्यो जङ्गलको पारी पटी बासपानी भन्ने गाउँ थियो । बासपानीकै पाटो लमतन्न तेर्सिएको पोखरेल वंशको ऐतिहासिक थलो जतनपुर पर्थ्यो । त्यो हाम्रा पुर्खा नन्दीकेशरको बिर्ता थियो । बिर्ता शब्द अहिले हराई सक्यो । तर पनि प्राय: दुख पाएकाहरुले पनि हाम्रो पुर्खाको बिर्ता हो भनि गर्व गर्छन् । मैले नन्दीकेशर लाई पुर्खा शब्दले सम्बोधन गरेँ । हामीले बोल्ने गरेका नाता सम्बोधनमा म समेत पाँचौ तह भन्दा माथी शब्द छैन । म, बाबु ,बाजे ,जिजु र बराजू । त्यसैले नन्दीकेशर हाम्रा पुर्खा हुन् । उनै पुर्खाले आर्जेको बिर्ता हो जतनपुर । जतनपुरकै माटोले मेरा पुर्खालाई जन्मायो, हुर्कायो र पालनपोषण गर्याे । यहीँकै अन्नपानी र कन्दमूलले मेरा पुर्खा बाँचे । उनै नन्दीकेशरको बाह्रौँ सन्तान मध्येको एउटा म पनि हुँ ।
त्यसबेला सबैभन्दा बढी रमाईलो दशैँमा हुने गर्थ्यो । जब दशैँ नजिकिंदै नवरात्र सुरु हुन्थ्यो, देउराली बडाबा लामो लेग्रो तानेर जयदेबि भैरवी गोरखनाथो भनेर मालश्री गाउनु हुन्थ्यो । हामी भने खसी काटेर मासु खाने दिन कहिले आउला भनेर दिन गन्थ्यौं । दुर्गापक्षको घटस्थापना देखि अन्तरे मुखियाको घरमा जमरा राखी ब्राम्हण पढाईन्थ्यो र दशैको बिधिवत प्रारम्भ हुन्थ्यो । सातौं दिन जातजातका फूलपातीहरु खोजेर ल्याउनका लागि ब्राम्हणहरुलाई पठाईन्थ्यो । सेतो सुकिलो धोती पहिरिएर तिन वा पाँच को संख्यामा ब्राम्हणहरु बिहानै प्रस्थान गर्थे र मध्यान्हतिर फूलपाती लिएर आउँथे । एक जनाको हातमा टिलिक्क टल्कने तरबार हुन्थ्यो । तरबार बोक्ने अगाडि हिँड्थे । प्राय: तरबार हातमा लिनेमा देउराली साइँला दाइ हुन्थे । उनै साईला दाइको घर नजिकै उत्तरपट्टि बाटो माथी तुलसाको मोठको आकारमा लामो ढुंगा गाडिएको थियो ।त्यसैलाई देउराली भन्थे । त्यहाँ सम्म पन्चे बाजा बजाउँदै दशैं उत्सबका आयोजक तथा आउरेबाउरेहरु फूलपाती लाई स्वागत गर्न र लिन जान्थे । त्यहाँ बोका काटेर देउरालीको फेरो पुग्ने गरी भुइँ रक्ताम्मे बनाउँदै बोकाको पछाडिको खुट्टा समाएर घुमाउँथे । साथै दुई , तीन नाल बन्दुक समेत पड्काएर बढाईं उत्सब गर्थे । बन्दुक पड्काउनेमा प्राय: डिल्लीबहादुर ठकुरी हुन्थे । यो सब हेर्दा निकै रमाईलो लाग्थ्यो । अष्टमीमा कालरात्रि गर्ने र नवमीमा नौ कन्या पहिर्याउने परम्परा थियो । अन्तरे बाबुसाहेबको आँगनको बिचमा एउटा खम्बा गाडिएको थियो । जसलाई मौलो भनिन्थ्यो । त्यही मौलोमा नजिक राखेर राँगा बोका काटेर घुमाउँथे । यो जीवहत्याको संस्कृति उज्यालो र दीर्घायु त हुँदैन बरु संस्कार अन्धकारमा धकेलिन्छ । यो राजर्षी संस्कृती कहिले सम्म कायम रहन्छ समयलाईमात्र थाहा छ । किनकि उक्त राजर्षी परिवार हाल अति दयनीय जीवन गुजारी रहेको भन्ने सुनिन्छ । समय भन्दा बलवान कोही पनि हुन सक्दैन । त्यस बेलाको त्यो रवाफ र त्यो ऐश्वर्य अनि वर्तमान जिवन भोगाई !! हिन्दीमा एउटा कहावत छ - 'नसिवसे ज्यादा और समयसे आगे कुछ नहीँ मिलने वाला है ।'
यस्तै अर्को सम्झना खोप लगाउँदाको छ । प्रत्येक वर्ष काठमाण्डौबाट आएका बैध्यले बालबालिका हरुलाई खोप लगाउँथे । देब्रे हातको नारीमा तिखो सुईरोले औषधिमा चोपेर घोच्थे । छिरछिर रगत निस्केपछी छोडिदिन्थे । मनग्य दुख्थ्यो । खोपको छैठौं दिनमा पुन जम्मा हुने भन्थे र बोका काटेर बरबखान गर्ने गर्थे । यो बरबखान बैध्य आफैले आफ्ना गुरु अथवा ईष्टदेवताको नाममा गर्दा रहेछन् । यो कार्य थामखर्कमा भएको थियो र त्यसबेला म पनि थामखर्क पुगेको थिएँ ।
आहालेको स्कूलमा म पाटी बोकेर पढ्न जान्थें । दमाई खोला पारी पट्टिको सेतो भिरको कमेरो माटोको मसि र बाँसको कलम । कमेरो माटो मगमग बासना आउँथ्यो । शुक्रबारको बिध्यार्थीले थोरै चामल र सक्खर लिएर सरस्वती पूजाको लागि स्कूल जानु पर्थ्यो । हामी सरस्वती बन्दना गाउँथ्यौं । पहिले मास्टरजीले गाउँथे , अनि पछि हामी गाउथ्यौं । त्यस पछि चामल र सख्खर मुछेर हातहातमा प्रसाद खान दिन्थे । हामी हात चाटीचाटी मिठो मानेर खान्थ्यौं । हामीलाई पढाउने शिक्षक भारतीय मूलका थिए , तर राम्रो नेपाली बोल्थे । शिक्षकलाई मास्टरजी भन्न उनैले सिकाए । त्यसैले हामी उनलाई मास्टरजी भन्थ्यौं । प्रार्थना गर्दा भारतीय राष्ट्रिय गान गाउन लाउँथे । पहिला उनी भन्थे, पछाडि हामी भन्थ्यौं - “जन गण मन अधिनायक जय हे भारत भाग्यबिधाता........” त्यो समयमा शहरी सभ्यता भन्दा उतिपर पहाडको कुनामा राष्ट्र र राष्ट्रियताको चेतना कम मान्छेमा मात्र थियो होला । अहिले भए किन अर्काको राष्ट्रिय गान गाईन्थ्यो होला र ! नेपाली बजारमा छापाखाना थिएन । नेपाली लेखक ज्यादै कम थिए । नेपाली विद्वान हरु पनि भारतमै गएर हिन्दी भाषामैं पढ्नु पर्थ्यो । त्यसैले हामीलाई पनि हिन्दी भाषाकै किताब मास्टरजीले दिन्थे । हामीले पैसा तिर्नु पर्थ्यो । केही समय पछाडि उनि गए । त्यस पछी रामपुर गहतेका लालबहादुर गिरी , रामबहादुर गिरी त्यहाँ शिक्षक भएर गए । त्यसपछी हामीलाई श्रीमान् गम्भिर नेपाली ....भन्दै राष्ट्रिय गान गाउँन सिकाए । हामीलाई पढाउनेमा यी दुई शिक्षक बाहेक भगवान ठकुरी ( ईश्वर ) , अमृतबहादुर ठकुरी र कहिेलेकाहीँ देउराली कान्छा दाजु पनि हुन्थे । बिध्यार्थीहरुमा भक्तबहादुर ठकुरी, अर्जुनठकुरी ,कैली कमिनी, अने कामी , डोरेन्द्र पोखरेल , खोलेखर्कका नारायणबहादुर भूजेल , लालबहादुर जर्घा, मिनप्रसाद तिम्सिना यसैगरी थुम्कीका छत्रबहादुर राई , ज्ञानबहादुर राई, पूर्णबहादुर ठकुरी, बाबुराम पाखरेल लगायत भिरगाउँबाट पनि पढ्नका लागि आउँथे । सो स्कूल हाल माध्यमिक विध्यालय भएको छ । सो स्कूलको उत्तरोत्तर प्रगतिको कामना छ । खोप लगाउन म पहीलो पटक थामखर्क पुगेको थिएँ । त्यहाँ नन्दलाल पोखरेलको घर थियो । नाताले उहाँ मेरो बडाबा हुनुहुन्थ्यो । यस अघि उहाँ निकैपटक हाम्रो घर धापपानी आउनु भएको थियो । उहाँ आर्थीक ,सामाजिक, एबं बौध्दीक क्षेत्रमा सम्पन्न हुनुको साथै ज्योतिष शास्त्रमा समेत निपुण हुनुहुन्थ्यो । उहाँका आर्थिक लगानी र आसामी हरु धेरै थिए । आसामी उठाउँदै हिँड्दा बास बस्न वा बिहानको खानाको लागि कहिलेकाहिँ हाम्रो घर धापपानी निस्कनुहुन्थ्यो । हजुरआमाले भान्सा तयार पारेर दिनुहुन्थ्यो । उहाँ ब्राम्णको मर्यादाले धोती फेरेर भान्साको चौकामा बस्नु हुन्थ्यो । म मूलखाँबोमा छेलिएर हेरि रहन्थें । मेरो मनोकाङ्छा बुझेर बडाबाले थोरै भात समेतको थाल मतिर घँचेटी ला खा भनि दिनुहुन्थ्यो । यो क्रम निकै पटक भयो । यसरी मैले नन्दलाल पोखरेल बडाबाको जुठो धेरैपटक खाएको छु । जुठो खाने सौभाग्य छोराले पाउँछ । अन्यत्रले खाएको जुठो त दुर्भाग्य मात्र हो । त्यसैले मैले गालटारबाट उहाँलाई सम्झेर यारीखोला पारीपट्टि कवासेटारमा बडा बा बृद्ध जीवन गुजार्दै हुनुहुन्छ र यसैबेला भेट्नु उपयुक्त हो भन्ने लाग्यो । कुनै दिन उहाँको अवसानको खबर सुन्नु पर्ला अनि परम्परा अनुसारको जुठो बार्नु पर्ला जिबित रहुन्जेल हेर्न र बोलाउन नजाने , अनि मृत्यु परान्त जुठो बार्नु स्वाङ् पार्नु हो जस्तै लाग्यो ।
थामखर्क नन्दलाल पोखरेल एक समान्य नाम मात्र थिएन । उहाँ ज्योतिष बिध्याका प्रकाण्ड विद्वान हुनुहुन्थ्यो । ब्यक्तिका चिना, जन्म कुण्डलीव्दारा पूरा भबिष्यबाणी गर्नुहुन्थ्यो । उहाँका ज्योतिषीय भबिष्यवाणी उनान्सय प्रतिशत सत्य साबित भएका छन् । उहाँको ज्योतिष बिद्वताले उहाँ बाँचेको समय नेपालको पूर्वी पहाडमा पूरै रजाईं गर्यो भन्दा फरक नपर्ला ।
तत्काल राणा शासन सकिएर पंचायत लागु भएको समयमा उहाले एउटा साहसिलो कार्य गर्नु भएर तमाम गरिव र पीडितब्राम्हणहरुको उध्दार गर्नु भएको थियो । लगभग २०२१ /०२२ सालतिर होला । त्यस ताका बाहुनले हलो जोत्नु हुदैन भन्ने थियो । हलो जोतेमा बाहुनको जात जान्थ्यो । जात गएको बाहुन कर्मकाण्डमा पूज्य हुदैनथ्यो । कर्म काण्ड नजान्ने भए पनि बिबाह , बर्तबन्ध आदि कार्य हरुमा भान्सामा चल्दैनथे । यति भएपछी बाहुन लाई हुनसम्मकै पीडा हुन्थ्यो । गरिब बाहुनहरु हली राखेर जोताउन नसक्ने अबस्थाका भएकाले ठूलो साहस बटुलेर नन्दलाल बडाबा समक्ष आफ्नो पीडा पोख्न गए । जाने मध्येमा हाम्रा ठुल्दाई होमनाथ पोखरेल पनि थिए । बडाबाले सबैको पीडा सुनिसकेपछी बारीमा गोरु नार्न लगाएर हलो जोती दिनुभयो । सबै गदगद् भएर आ-आफ्नो हलो कादालो आफैले समाए । नन्दलाल पोखरेलको जात गयो भनेर उहाँ माथी धावा बोल्ने साहस कसैको थिएन ।
उहाँको यस्तै अर्को क्रान्तीकारी प्रसङ्ग पनि सुनेको थिएँ । त्यो हो महीलाहरुमा हुने रजस्वला । बर्तमान् ज्ञानबिज्ञानको युगमा पनि पश्चिम पहाडतिर रजवती महीलाले छाउ गोठमा बस्नु पर्छ र कतिको त छाउ गोठमैं मृत्यु पनि भएको छ । अहिलेको एकाईसौं सताब्दीमा पनि नेपाली समाजको यो अभिशाप नन्दलाल पोखरेलले त्यसैबेलानै देखेर त्यागि सक्नुभएको थियो । रजस्वलालाई उहाँ फूल फूलेको संज्ञा दिनुहुन्थ्यो । छुवाछुतका कुरा गरेर प्रकृतिलाई गिज्याउनु जस्तै हुन्छ भन्नुहुन्थ्यो । उहाँको त्यस बेला राणाकालिन शासन ब्यबस्थामा अभिब्यक्त बिचारहरु अहिलेसम्म पनि मूल मुध्दाकै रुपमा छन् । तर नेपाली समाजको गति उस्तै मन्द नै छ ।
नन्दलाल पोखरेल कानूनविद् हुनुहुन्थ्यो । कस्तो अबस्थामा के के गरेर आफू माथी परिन्छ र आफ्ना बिरोधिहरुलाई तह लगाउन सकिन्छ भन्ने कुरामा उहाँको जुक्ति र बुद्धि सधैँ सफल रह्यो । तीनताका डिट्ठा नयनध्वजको सामन्ती रवाफ पुरै पूर्वी नेपालनै प्रभावित थियो । राणा परिवारसँग उनको पारिवारिक नाता सम्बन्ध पनि थियो । उनी आफ्नै घरमा आफ्ना विरोधीहरूलाई नेल ठोकेर समेत राख्ने गर्थे । डिट्ठा नयनध्वज मालपोत बुझाउन भोजपुर जाँदा भोजपुर अड्डाका हाकिम पनि थरथरी हुन्थे भन्ने सुनिन्थ्यो । तर नन्दलाल पोखरेलको जुक्तिले केही समयका लागि भएपनि डिट्ठा नयनध्वजलाई कारागार पठाएर उनको अहंकार खच्काई दिनुभयो । उहाँको चतुर्याईंको प्रशंसा गर्दै कृष्णचन्द्र पोखरेलले लेखेको पोखरेलको वंशावलीमा भनिएको छ -
कान्छा चाहिँ त नन्दलाल हुन ती बाठा चतुरा अति
मुद्दाले ठकुरी जिको गरिदिए धन्धान्यको धेर खति ।
बाबु नै रकमी प्रशिद्ध अघिका थिए ति राईटर
पारेथे ठकुरीजीमा खलबली केही नमानी डर । ।
उहाँका बारेमा संस्मरण लेख्न बस्दा मैले सुनें र सम्झे जति उपरोक्त कथन एवम् परिघटनाहरु दिमागमा सलबलाउन थाले । त्यसबेला मैले उहाँसँग एकपटक भेट गर्न आवश्यक ठानें र २०६४ सालको जेष्ठमा कवासेटार पुगेँ । सामाजिक मूल्य र मान्यतामा आधारित अभिवादन गरेर आफ्नो परिचय दिएँ । उहाँले हाम्रो घर, परिवार, बुवा सबैलाई सम्झिनु भयो । मेरो बुवा भारतीय सैनिक भएको समेत स्मरण गर्नु भयो र देवाली पुजामा मेरो बुवाले एकै हातले बोका छिनाएको प्रसङ्ग समेत निकाल्नु भयो । धापपानीको हाम्रो घर हामी बस्नु भन्दा धेरै अघि उहाँकै रहेछ । उक्त घर घडेरी आर्थिक समृद्धिको शुभ संकेतको रुपमा रहेको जानकारी उहाँले दिनुभएको थियो । आफ्ना जीवनमा व्यतित गरेका तर मूल्यवान सम्झनाहरु मलाई बताउनु भयो । दुई रात बसेर म तेस्रो दिन बडाबासँग बिदा मागेर हिड्ने प्रयत्न गरेँ - उहाँले भन्नु भयो ... " म भन्दा अघि तेरो बाबु बित्यो, म यस्तो बृद्ध भएँ । अब तैंले मलाई भेट्ने यत्तिकै होला ।" जे होस, हाम्रो पोखरेल वंशकै गौरव बडाबासँग बिदा भएर म घर फर्किएँ । ठिक दुई बर्ष पछी २०६६ असार २४,२५ गते तिर होला, उहाँको निधनको खबर आयो । मैले सम्झें, गत साल मलाई ठूलो संयोगले बडाबासँग भेट हुने अवसर मिलेको रहेछ । धन्य त्यो समयलाई ! उहाँको निधन भएको पनि तेह्र वर्ष वितीसकेछ ।उहाँ पाखरेल मात्रको नभएर सिंगै समाजको आडभरोसा पनि हुनुहुन्थ्यो । मैले पनि बडाबालाई उपरोक्त वाक्यहरुले सम्झिने अबसर पाएँ । बैकुण्ठवासी बडाबा नन्दलाल पोखरेलप्रति फेरि पनि हार्दीक श्रध्दान्जली अर्पण गर्दछु । उहाँको प्रेरणा सधैं शिरोधार्य रहोस् !
000
000
कटारी नगरपालिका वडानं
- ६ गालटार , उदयपुर
No comments:
Post a Comment