माहानन्द तिम्सीना |
उसबेलाको थुम रामपुर भनेर परिचित तत्कालीन रुपाटार,ठानागाउँ र इनामे पँचायतहरुको इलाकामा पर्थ्यो । थुम रामपुर भरी र अन्य ठाउँहरुमा नन्दलाल पोखरेलको नाम अत्यन्तै चर्चामा थियो । उहाँको बसोबास पनि टावर जस्तै डाँडा थामखर्क भन्ने ठाउँमा थियो ।
आज भन्दा ५०,५५ बर्ष पहिला मेरो संझनामा हामी उहाँलाई थामखर्के बा भनेर चिन्थ्यौं । पोखरेल परिवारका घरानियाहरू मध्य उहाँ अब्वल हुनुहुन्थ्यो । ज्योतिषका ज्ञाता हुनुहुन्थ्यो । नितिका जानकार, उपदेशका खानी, सम्पत्तिका कुवेरझैं लाग्थ्यो । जसलाई जे खाँचो छ, उसलाई घुमाइ फीराई मागेको कुरा उपलब्ध गराइदिने । प्राय: उहाँकोमा नगदको कारोवार कमै हुन्थ्यो । विहाबारी वा अत्यन्त जरुरी काममा किनमेल गर्ने भए मात्र नभए नगद मिल्थ्यो । केहीदिन पर्खाएर भए पनि समस्याको गाँठो फुकाई दिनुहुन्थ्यो । सुनकोसी पारी खोटाङ्का गाउँलेहरु पनि थामखर्के बा कहाँ गर्जो टारी माग्न धाउँथे । ढिलो चाँडो पाउँथे पनि । जस्ले जे मागे पनि छैन र हुन्न भन्ने बानी उहाँको थिएन । जेथा भएका नभएका इमान्दारी, बैमानी, धनी, गरिव कुनै भेदभाव थिएन उहाँमा । त्यसैले उहाँको पिताले उहाँलाई दिउला पाध्य भनेर पनि नाम राखिदिनुभएको चर्चा सुनिन्थ्यो । उहाँले दिएरै बाँच्नु भयो अन्त्यसम्म । उहाँको सहयोगले गरिवले खाँचो टारे, धनीले झन बढाय होलान नै ।
म एस.एल.सी.दिन गाइघाट जानु पर्यो, घरमा खर्च थिएन । मेरो बाले भन्नु भो - 'जा थामखर्के वा सँग गएर भन ! मैले भन्नु भन्दा तँ गएर भन्दा छिट्टै पैसा दिनुहोला ।' बाको कुरा मानेर म थामखर्क गएँ । घरै हुनुहुँदो रहेछ । कता आइस नाती ? भनेर सोध्नुभयो । मैले आफ्नो कुरा राखें, तर उहाँ केही पनि बोल्नुभएन । म छट्पटिएँ । चिया खायर जा भन्नुभयो र आफैंले चिया बनाउनु भयो । उहाँ र मैले चिया खायौं । अरु कुराहरु भए । म छट्पटिंदै हिंड्न लागेँ । चिया खाइसके पछि माथी चोटामा हिंड भन्नुभयो र म सँगसँगै गएँ । पाँचवटा सयसयका ओटा नोट हातमा राखिदिनुभयो । म खुसिले फुरुङ्ख भएँ । 'राम्रो गरी जाँच दे नाती' भन्नु भयो । मैले उहाँको बचन झर्न नपाउदै हवस बा भनी उडेझैं गरी घर आएँ ।
मलाई विशेष मायाँ गर्नु हुन्थ्यो थामखर्के बा । हाम्रो घरमा आउँदा सधैं सोधीखोजी गर्नुहुन्थ्यो अरे । पछि म घर जाँदा नाती आएको छ भनेर यता आको भनी एक रात हाम्रो घरमा बस्नु भाको सम्झना अहिले सम्म मलाई ताजा नै छ । त्यो मैले लिएको नगद बुवाले फर्काइ दिनुभएको रहेछ । मलाई पनी लाज भएन उहाँसँग पछि भेट हुँदा ।
निचोडमा भन्नुपर्दा उहाँ रामपुर क्षत्रको सचेत, दुरदर्शी, परोपकारी र उदार हृदयको व्यक्ति हुनुहुन्थ्यो । ज्योतिषको ज्ञाता र नियम कानुनको जानकार हुनुहुन्थ्यो । सबैले मान्ने र आदर गर्ने व्यक्तित्व हुनुहुन्थ्यो उहाँ ।
हार्दिक नमनः थामखर्के बालाई !
000
000
This comment has been removed by the author.
ReplyDeleteलेखकको नाम ?
ReplyDelete