साविक उदयपुर जिल्लाको गाउँ पञ्चायत ठानागाउँको वडा नं ४ थामखर्क निवासी सामाजिक व्यक्तित्व नन्दलाल पोखरेलसँग म सानै छँदा देखि सामान्य चिनारीमा रहेको थिएँ । बसोवासका हिसावले हामी त्यसताका ठानागाउँ वडा नं ६ को पोखरीमा रहँदै आएका थियौ । व्यक्तिगत रुपमा म पोखरी स्थित विद्यालयमा कक्षा ३ सम्मको अध्ययन पुरा गरी साविक झिल्के पोखरी (इनामे) को विद्यालयमा अध्ययनको लागि जान थालें । यस समयमा थामखर्के नन्दलाल बाको विविध कारणले गर्दा खासै सामिप्यता नरहेता पनि पारिवारिक हिसाबले हाम्रो बासँग समय समयमा भेटघाट वा कामको सिलसिलामा बाक्लै भेटघाट हुन्थ्यो । सामाजिक व्यक्तित्व तथा तत्कालिन नेतृत्वसँगको जिम्मेवार अगुवा व्यक्तित्वको हिसाबले उहासँग अरु दुईचार जना मानिसहरु सदैब साथमा रहन्थे । विषयबस्तुको खासै जनाकारी नभएतापनि मेरा बा (चन्द्रलाल पोखरेल) सँग लामै भलाकुसरी हुने गरेको पटक पटकको स्मरण समेत मलाई ताजै छ । पहिरनको हिसाबले तत्कालिन सेतो खाँडीको दौरा सुरुवा, कालो जवारी, जुत्ता र सेतै टोपी लाठी सहितको झझल्को अहिले नै हो जस्तो लाग्छ ।
वि सं २०४२ सालमा मैले एस.एल.सी. परीक्षा दिएर नतिजाको परखाईमा घर बस्दाको फुर्सदिलो समयलाई अवसर ठान्दै म थामखर्कसँगको सम्बन्धलाई बढाउन थालें । २०४३ सालको जेष्ठ महिनामा हुन लागेको चुनाबमा जनपक्षीय उमेद्वारको रुपामा क्षेत्रिय सदस्य पदका प्रत्यासी मातृका दाइ सँग चुनाव प्रसार प्रसारमा लागियो । इलाका केन्द्र बाराहा (हालको चिम्चुबुङ्ग गा.पा) लाई मतदान केन्द्र बनाइएको थियो । सोही अवसरमा आफ्ना मतदाताहरुलाई खानेबस्ने व्यवस्था मिलाउन कान्छा बा(नन्दलाल बडीबा)ले मलाई केही नगद सहित जिम्मेवारी दिनु भयो । आफ्नो जिम्मेवारी इमानदाताका साथ पुरा गरी बाँकी रकम फिर्ता बुझाउँदा उहाँ खुसी भई धाप मार्दै¬....अति इमान्दार छस्....भन्दै त्यस बेलाको रु. २००।- हातमा राखी दिनु भयो । शुरुमा मैले सो रकम लिन हिच्किच्याएँ तर बाको करकापमा मैले उहाँको कुरा नकार्न सकिन र सो रकम गोजीमा हालें ।
वि.सं. २०४४ साल मंसिर महिनामा म हालको महेन्द्र आ.वि. सोरुङ् पोखरीमा शिक्षक पदमा नियुक्त भएँ । त्यसपछि समय सययमा के के काम दिएर मेरा बाले मलाई थामखर्के कान्छा बा कहाँ भेट्न पठाउनु हुन्थ्यो । प्रायजसो चिना हेराउन, कानूनी सल्लाहा लिने, भैंसी किन्ने लगायतका कामहरु हुन्थे । थामखर्क पुग्नासाथ विभिन्न किसिमका सँस्कृत स्लोक भन्दै मेरो जन्ममिति मागेर हेर्नु हुन्थ्यो र ....तेरो जन्म कुण्डली राम्रो छ....भन्दै मलाई उत्साहित बनाउनु हुन्थ्यो । त्यसै समयको सेरोफेरोमा मातृका दाइ पढ्न बाहिर बस्ने र अन्य भाईहरु उमेर अनुसार सानै रहेको कुरा स्मरणमा छ । त्यसताका गाउँघरमा युवाहरु मध्ये अलिकति पढेलेखेको हामीहरु नै पर्दथ्यौ । कहिले काही हामीले पनि सामाजिक न्यायको छिनोफानो गर्नुपर्ने अवस्था आउँदै गएपछि झन नन्दलाल बाँसँग बाक्लै भेटेर परामर्श गर्नुपर्ने हुन थाल्यो । थामखर्के कान्छाबाको ज्योतिषशास्त्रना त्यसक्षेत्रमैं नामी कहलिनु भएको थियो । साथै उहाँ भित्रको ज्ञान राजनीति र कुटनीतिमा पनि फैलिएको थियो । कुनै पनि न्यायीक उपचारमा पक्ष र विपक्ष दुबैका पक्षमा निर्णय नगरिने रहेछ । यो त सर्वमान्य न्यायको सिद्धान्त भित्र पर्ने तितो सत्यता रहेछ । त्यसैले होला एउटा समस्यामा जितेको महशुस गर्नेहरु अर्को विवादमा हारेको समेत महशुस गर्दथे ।
थामखर्कको सामान्य परम्परा भित्र सँथै भरी ठूलो कित्लीमा चियाको पानी ताती रहनु र कसैलाई पनि खाली पेट नफर्काउनु पनि पर्दथ्यो । नन्दलाल बासँग भलाकुसारी गर्दा मैले हाम्रा पुस्तावलीबारे अलि बढी नै जानकारी पाएँ । पुरानो कुरा त के रहेछ भने पहिला नन्दलाल बाहरुको पुख्र्यौली घरमा (पोखरी) त हाम्रो परिवारले बस्ने गरेको रहेछ । नन्दलाल बा पोखरीबाट धापपानी हुँदै थामखर्कको बसाइलाई स्थायी बसाईमा परिणत गर्नुभएको रहेछ । मैले सुने अनुसार नन्दलाल बा को जन्म धापपानीमा भएको र जीवनका अन्तिम दिनहरु कबासेटारमा बितेको समेत मलाई जानकारी छ । हाम्रो परिवार र थामखर्के कान्छाबाको परिवार क्रमश ;
रुद्र ..……. मातृका
चन्द्रलाल ....…. नन्दलाल
बद्रीनाथ .....…. कुलप्रसाद
तारानाथ ............ लक्षिमापति
बीरभद्र ....... (भाई) जयभद्र (दाजु)
रुद्र ..……. मातृका
चन्द्रलाल ....…. नन्दलाल
बद्रीनाथ .....…. कुलप्रसाद
तारानाथ ............ लक्षिमापति
बीरभद्र ....... (भाई) जयभद्र (दाजु)
भन्ने सम्मको मलाई जानकारी छ । थामखर्क जाँदा ज्योतिष सिक्नपर्ने सल्लाह मेरा बालेपनि मलाई समयसमयमा दिई रहनुहुन्थ्यो तर काम व्यस्तताले र कान्छाबाको बृद्धा अवस्थाले त्यसबेला ज्योतिष सिक्न करीब करीब ढिला भैसकेको थियो ।
तत्कालिन समसामयीक सामाजिक संरचना र बिषयबस्तुहरुका सेरोफेरोमा थामखर्के कान्छा बाका सम्बन्धमा अलि बढीनै प्रतापी, सामाजिक, अगुवा, निडर, कुटनीतिक, चतुरका साथै समालोचनात्मक पात्रका रुमा औल्याउँन सकिन्छ । औपचारिक अध्ययनका विषयमा बारेमा मलाई खासै जानकारी छैन । तथापी समयानुकूल कानूनी परामर्श समेत उहाँबाट धेरैले प्राप्त गरेको र म आफैँले पनि केहि नीतिगत बिषयबस्तुहरू प्राप्त गर्ने अवसर पाएको हुँदा अध्ययनशील व्यक्तित्वका रुप्मा समेत मैले उहाँलाई मैले चिन्ने अवसर पाएँ ।
हाल : त्रि.न.पा. ५ देउरी, उदयपुर
मो. ९८६३६५४०८५
No comments:
Post a Comment