डाकबहादुर खड्का (जलश्रोत इन्जिनियर )
(उप-प्राध्यापक , इन्जिनियरिङ्ग अध्ययन सस्थान, त्रिभुवन विश्वविद्यालय )
मेरो जन्म थलो
उदयपुर जिल्लाको भित्री सुन्दर सानो उपत्यकाको रुपमा रहेको पहिलेको रुपाटार गाउँपालिकाको सदरमुकाम । हाल, ताप्ली गाउँपालिकाको सदरमुकाम रुपाटार । रुपा र टार को मिलन रुपाटार नाम जस्तै सुन्दर छ । पवित्र हिमालय नदी सुनकोशीको काखमा बसेको गाउँ हाम्रा लागि अत्यन्तै आकर्षक र प्यारो छ । यारी खोलाको जलले सिंचित अन्नको भण्डारण भएको गाउँ छिमेकी जिल्ला खोटाङलाई समेत अन्न आपूर्ति गर्न सक्षम छ । जातीय हिसाबले बाहुन, छेत्री ,ठकुरी, कामी, दमाई, सार्कीको अति सामाजिक सद्भाव र सम्बन्धमा रहेको यस ठाउँले जिल्लाभरि नै निकै महत्त्वपूर्ण भूमिका खेलेको छ । शिक्षा र राजनीतिमा निकै अग्रपङ्तिमा रहेको यस ठाउँले देशकै लागि भाषा, साहित्य , राजनीति र प्राविधिक जनशक्ति दिन सक्नु सुनमा सुगन्ध बनेको छ ।
उदयपुर जिल्लाको भित्री सुन्दर सानो उपत्यकाको रुपमा रहेको पहिलेको रुपाटार गाउँपालिकाको सदरमुकाम । हाल, ताप्ली गाउँपालिकाको सदरमुकाम रुपाटार । रुपा र टार को मिलन रुपाटार नाम जस्तै सुन्दर छ । पवित्र हिमालय नदी सुनकोशीको काखमा बसेको गाउँ हाम्रा लागि अत्यन्तै आकर्षक र प्यारो छ । यारी खोलाको जलले सिंचित अन्नको भण्डारण भएको गाउँ छिमेकी जिल्ला खोटाङलाई समेत अन्न आपूर्ति गर्न सक्षम छ । जातीय हिसाबले बाहुन, छेत्री ,ठकुरी, कामी, दमाई, सार्कीको अति सामाजिक सद्भाव र सम्बन्धमा रहेको यस ठाउँले जिल्लाभरि नै निकै महत्त्वपूर्ण भूमिका खेलेको छ । शिक्षा र राजनीतिमा निकै अग्रपङ्तिमा रहेको यस ठाउँले देशकै लागि भाषा, साहित्य , राजनीति र प्राविधिक जनशक्ति दिन सक्नु सुनमा सुगन्ध बनेको छ ।
मेरो विध्यालय शिक्षा
वि.सं. २०१७ सालमा स्थापित महेन्द्र रत्न माध्यमिक बिद्यालय रुपाटार, उदयपुर जिल्लाको पुरानो स्कुल हो । आजको दिनसम्म यस स्कुलले देशको लागि धेरै सक्षम जनशक्ति उत्पादन गरेको छ । देश विदेशमा रहेर आफ्नो व्यक्तिगत जीवनलाई सुखद र उन्नतिशील बनाएर बाँचेका हामी सबै मन र मस्तिष्क देखि स्कुलप्रति अभारी हुनैपर्दछ । यसै स्कुलमा मेरो ८ कक्षा सम्मको अध्ययन सकेर व्यक्तिगत कारणले सिराहा जिल्लाको जनता माध्यमिक बिध्यालयबाट माध्यमिक शिक्षा पूरा गरेँ । तर जिवनका सम्पूर्ण ज्ञान र उपलब्धिलाई मेरो जन्मभूमी रुपाटारका श्रद्धेय अविभावक र गुरुहरुमा समर्पित छ । मेरो शैक्षिक उपलब्धीको मार्गदर्शक मेरो पिता र पिता जत्तिकै मैले मान्नु पर्ने बुवा स्व. नन्दलाल पोखरेलनै हुनुहुन्छ ।
मेरो उच्च शिक्षा र स्व. नन्दलाल पोखरेल
पारिवारिक आर्थिक अबस्था कमजोर थियो । साधारण खेति किसान गरेर जिविकोपार्जन गरेर दैनिकी चलाउनु पर्ने अबस्था थियो । आँगनको स्कुल छोडेर सिराहा जिल्लाको स्कुलबाट सर्वोत्कृष्ट विध्यार्थी, उच्च आकांक्षा इन्जिनियर डाक्टर बन्ने सपना बोकेर हिडेको एउटा युवा म । कसरी लक्ष्यमा पुग्ने कुनै बलियो आधार नभएको, कति तनाव थियो त्यो समय । कुनै शब्दले ब्याख्या गर्न सक्दिनँ । केही उपाय आउलान भन्ने सोचेर पुर्वको सुन्दर सहर धरानमा इन्जिनिरिङ्ग क्याम्पस छ भन्ने सुनेर गएँ । त्यहाँको प्रवेश परिक्षामा सहभागी बनें । सञ्चारमाध्यमबाट धेरै टाढा रहेको मेरो गाउँ । एक महिना भै सकेको रहेछ रिजल्ट आएर भर्ना भएको । मेरो नाम सर्बोत्कृष्ट अङकमा निस्केको रहेछ । सरस्वतीको आशिर्वाद, क्याम्पसले नै लागेको दस्तुर तिरेर भर्ना गरिदिएको रहेछ । कटारी आएर बुझें फोनबाट । क्याम्पसले एक दिनको भाका राखेर क्याम्पस आउन आदेश दियो । त्यो बेलाको चिन्ता र चाप पोख्ने कुनै शब्द छैन म सँग । मन निकै भारी पारेर रात भरिको पैदल हिंडाई पछि घर पुगें । सबै कुरो बुवालाई सुनाएँ । बुवाको परिस्थितिले मेरा उपलब्धि अभिशाप बनेको भान भयो मलाई । क्याम्पस पुग्नुपर्ने बाध्यता । पैसाको अभाव , खर्चको जोहो गर्न नसक्दा बुवाको छ्ट्पटी । मेरो दरो भाग्य, बिहानै टुप्लुक्क उपस्थित हुनु भयो नन्दलाल पोखरेल । सबै दुख बिसाउनु भयो बुबाले । उदार हृदयको खानी रु ३०००/- मेरो हातमा राखेर ढुक्कले पढेर राम्रो प्राविधिक बन्ने हौसला दिदै मेरो बिश्वबिध्यालयको पाइला अगाडि बढाउने भगवान समानको व्यक्ति उहाँ आदरणीय बुवा स्व. नन्दलाल पोखरेल हुनुहुन्थ्यो । यिनै कर्म र सेवाबाट उहाँको असली मन र मानवको परिचय पर्याप्त हुन्छ । त्यसपछि मेरो लक्ष्यको आधार बन्नु भयो उहाँ । मैले उहाँलाई नजिकबाट चिन्ने प्रयास गरें । बिदामा घर आउँदा उहाँको दर्शन र शिक्षारुपि उपदेश लिने मेरो पहिलो लक्ष्य बन्थ्यो । उहाँलाई पहिलोचोटि उहाँको घरमा गएर भेट्दा निकै प्रभावित बनें । माहाभारत, गीता, बेद, ज्योतिष बिध्याका पुस्तकालयले मेरो कलिलो मन पुरै खिच्यो । धेरै समय ती पुस्तकका बारेमा सुनेर मैले गीताको महत्व बुझीसकेको थिएँ । त्यो भेगमा यति राम्रा पुस्तकको अध्ययन गर्ने व्यक्ति पाउँदा मेरो ठाउँनै पबित्र बनेको ठानें र उहाँको सम्पूर्ण ज्ञानको श्रोत पनि तिनै पुस्तक हुन भन्ने लागेर पुस्तकको अध्ययनले नै मान्छेलाई ज्ञानको ज्योति मिल्छ भन्ने लाग्यो ।
ज्योतिष विध्यामा स्व. नन्दलाल पोखरेल
उहाँ एक असल समाजसेवि को रूपमा मैले ब्याक्तिगत रुपमा चिनेको छु । गाउँघरको भेट्घाट पछि घर पुग्न अबेला हुँदा उहाँको वास मेरो घरमैं हुन्थ्यो । मेरो पिता उहाँको असाध्य प्यारो हुनुहुन्थ्यो । कान्छा मुखियाकहाँ गयो, आज भेट भएन भन्दै खोज्ने उहाँको चिन्ता र चासोले बुबा प्रति को प्रेमत्यतिकै प्रतीत हुन्थ्यो । बेलुका दूध र तातो पानी पिउने उहाँको बानी मलाई निकै मन पर्याे । उहाँले यस्ले स्वस्थ राख्ने कुरो गर्दा मलाई उहाँ एउटा अनुभवी बैध्य जस्तै लाग्थ्यो । त्यो समय यतिको अनुभव र ज्ञान भएको व्यक्ति जन्मनु समयको ठूलो उपहार जस्तो लाग्थ्यो । बेलाबेलामा मेरो चिना हेर्नुहुन्थ्यो । उहाँले मेरो व्यक्तीगत जीवनमा छाप पार्ने बर्ष किटेर बोलेको फलले मलाई निकै चकित बनाइरहेको छ । उहाँले भनेकै वर्ष मैले त्रिभुवन बिश्वबिध्यालयको स्थायी अध्यापन सेवा पाएँ । मैले उत्सुकतासाथ सुनाएँ उहाँलाई । ज्योतिषको सम्पूर्ण कुरो उहाँले सुनाउनु भयो । उहाँले मेरो बैवाहिकी जीवन पनि निकै सुसँस्कृत घरकी हुने ठोकुवा गर्नुभयो । शारदा प्रसाद भट्टराई इलामका नामुद ज्योतिष पण्डितकि नातिनी जमुना भट्टराईसँग मेरो मागी बिवाह भयो । पेशाले उनी चिकित्सा क्षेत्र । एउटै बिश्वबिध्यालयको हामी प्राध्यापक र छोरी मानस्विको मातापिता । बुवा नन्दलाल पोखरेललाई सम्झने झन बलियो आधार बन्यो मेरो जीवनमा । अनि लाग्यो त्यो भेगमा यस्तो ज्ञान भएको ब्यक्ति उहाँनै पहिलो हो र आजसम्म पनि जन्मेको छैन जस्तो लाग्छ मलाई ।
सामाजिक रूपमा स्व. नन्दलाल पोखरेल
हाम्रो सामान्य परिवार थियो । खेतिमा आश्रित । छ महिना खान पुग्ने । बाँकी छ महिना धौ धौ । चाडपर्व , अडकोफडको, खोज्दा सजिलोसँग नपाइने । सबैको आस्थाका केन्द्र नै उहाँ हुनुहुन्थ्यो । चलन अनुसारको सबैको अफ्टेरो फुकाउन आफ्नो गाउँठाउँमात्र हैन छिमेकी जिल्लाहरुमा पनि उहाँको नाम निकै चलेको थियो थामखर्के नन्दलालको नामले । नरिसाइ सबैको अफ्ट्यारो फुकाउने उहाँको बानी थियो । झर्कोफर्को उहाँमा कहिले देखिन्नथ्यो ।
समग्रमा स्व. नन्दलाल पोखरेल
समय अनुसार मान्छे जन्मेको हुन्छ । त्यो बेलाको समाजका मान्छेको सोच्ने र बुझ्ने क्षमता अनुसार मुल्यांकन र अनुमान लगाउने हो । मान्छे भगवान होइन । भगवानबाट पनि गल्ती हुन्छन् , कमजोरी हुन्छ्न् । उहाँ पनि मान्छे हो । कमी कमजोरी थिए होलान् । तर व्यक्तिको देन उसले समाजमा कति दियो भन्ने कुरासँग मूल हुन्छ । उसको सहयोगमा समाज कति अगाडि बढ्यो भन्ने हुन्छ । उसको कारण समाजमा मान्छेको जीवनशैली कति सहज बन्यो भन्ने कुराले निर्धारित हुन्छ । नीतिनियम र आचारविचारको कोणबाट त्यो सानो ठाउँलाई सबैतिर परिचय गराउँने उहाँको योगदान कसैसँग तुलना हुन सक्दैन । आसा गरौं, फेरि पनि उहाँजस्तै बौद्धिक र ज्ञानी व्यक्तिबाट पल्लवित बनोस् मेरो जन्मभूमि । बुवा स्व. नन्दलाल पोखरेलमा सदैब श्रद्धा सुमन !
ooo
No comments:
Post a Comment