मचिन्द्रप्रसाद पोखरेल (अधिवक्ता) |
उदयपुर जिल्लाको साविक ठानागाउँ गा.वि.स. वडा नं. २ को हाल ताप्ली गा.पा वडा नं ४ मा पर्ने धापपानीमा हजुरबुवा कुलप्रसाद पोखरेलको कान्छो छोरा भएर बिक्रम सम्वत १९७० सालमा जन्मीनुभएका पिताजी नन्दलाल उपाध्याय पोखरेलको जीवनको आरोह अवरोह सुरु भएको थियो । पिताजीको उमेर ५ वर्षको हुँदा जन्मस्थानबाट सोही गा.वि.स.को थामखर्क भन्ने ठाउँमा वसाईसराईका क्रममा हजुरबासँग आउनु भएको कुरा पिताजीकै मुखवाट सुनेको थिएँ । उहाँकोे बाल्यकाल देखि नै थामखर्कलाई नै कर्मथलो बनाउनु भएको थियो । जीवनभर हजुरबुबाले आर्जेको थामखर्कलाई नै अफ्नो पैत्रिक थलोको रुपमा राखीरहनु भयो यद्यपि सो थलोमा भाई पर्शुरामले सुन्तला, जुनार, कागती र निबुवाको खेतिको सुरुवात गरेको छ ।
पिताजीको आठ भाई छोरा मध्य म तेश्रो छोरो । स्थानीय विद्यालयको अभावमा दाजुहरु शिक्षाको निम्ति बाहिरिनुले घरको व्यवहार यसैले हेरिदिए हुन्थ्यो भनेर होला मलाई व्यवहारका विषयमा अन्य दाजुभाईलाई भन्दा धेरै कुराको जानकारी गराउनुहुन्थ्यो । हामी सानै छँदा नजिकमा विद्यालयको अभाव थियो । हामीलाई पढाउन विभिन्न ठाउँवाट शिक्षक खोजेर ल्याउनु हुन्थ्यो । पिताजीमा पूर्विय ज्योतिषशास्त्रको राम्रै दख्खल भएकोले हामीलाई पढाउन आउने प्राय शिक्षकहरु ज्योतिष सिकेर नै जाने गर्नुहुन्थ्यो । म लगाएत साँना भाई वहिनीहरुलाई बाह्रखरी उतार्नको लागि पहिलो गुरु भक्तवहादुर सुनुवार (गोडडाँडे कान्छा), उजिरबहादुर राउत, कृष्णबहादुर राई, बालकृष्ण पोखरेल, निलेन्द्र दाहाल विद्यालय सुरु गरेपछि ज्ञानि ब. महत, रामेश्वर दाहाल, गोपाल कटुवाल, हिराकृष्ण पोखरेल, मुन्सिलाल दास आदि शिक्षकहरु क्रमस राखिदिनु भएको थियो ।
शिक्षावाट कोहि वन्चित नहुन भन्ने सोच उहाँमा थियो नै । सबैले पढुन् भन्ने उद्धेश्यले आफूसँग भएको ज्योतिष विद्या सवै छोराछोरीलाई र सिक्न खोज्ने जो कोहिलाई सिकाउन आफु कहिल्यै चुक्नु भएन । पिताजी घरमा भएका वखत विहानको खाना पछाडी ज्योतिषमा प्रयोग हुने गणित सिकाउनु हुन्थ्यो भने विहान वेलुका अगेनाको छेउमा वसेर आगो ताप्ने क्रममा दुई एकान दुई बीस सम्म दुनाई सिकाउनु हुन्थ्यो र आफूले पढाएको कुरा कत्तिको पढ्यो भनेर म भन्दा मुनिका भाई वहिनीहरुलाई मैले भन्न लगाउदै गर्नु पर्थ्यो। दुनाई पढेपछि ज्योतिषका श्लोक भन्नु हुन्थ्यो र तिनीहरुको एक एक अर्थ लगाउनुहुन्थ्यो । पिताजी घरमा हुँदा प्राय अगेनाको डिलमा बसी आगो ताप्ता पनि ज्योतिष पढ्नुपर्ने नित्य कर्म जस्तै थियो । ज्योतिष विद्या पढ्न मन नभए पनि पिताजीले भनेपछि नपढिकन विकल्पै थिएन कसैको पनि । कि पढ्नु पर्थ्यो कि त सँधैको लागि घरै छोड्नु पर्थ्यो । यति कि म बाह्र / तेह्र वर्षको उमेरमै चीना लेख्न पिताजीकै डरको कारण जानिसकेको थिएँ । जस्तालाई पनि ज्ञान दिन सक्ने क्षमताई नकार्नै नसकिने प्रतिभा थियो पिताजीमा ।
हाम्रो घरलाई एक किसिमको अहिलेको जमानाको सहकारी संस्था जस्तो नै ठान्थे मानिसहरु । ऋण माग्न आउदा कसैलाई पनि हुदैन र दिन्न भन्ने वाक्य पिताजीको मुखवाट कहिल्यै पनि निस्कदैनथ्यो र पछि सम्म पनि निस्केन । सायद सबैलाई दिन्छु र हुन्छ भनेको सुनेरै हजुरबुबाले दिक्क भएर होला पिताजी नभएको वेला मानिसहरु भेट्न आउँदा हाम्रो 'दिउँलापाध्य' कता छ हँ !भनेर हाँस्नुहुन्थ्यो रे ! भनि पछि माहिलो बडाबाले हामीलाई सुनाउनुहुन्थ्यो ।
पिताजीले छोराछोरीहरुलाई माया देखाउनुहुन्नथ्यो । जुत्ता लगाएको गोडो र पुल्पुल्याएको छोरो काम लाग्दैन र त्यस्ताले घर छोड्दैनन् भन्ने उहाँको सोच थियो । एकदिनको कुरा हो म र म मुनिको भाई टिका एकै कक्षामा पढ्ने सहपाठी थियौँ । पिताजीले हामीलाई पाँच कक्षामा भर्ना गर्नका लागि खाँडीका दौरासुरुवाल सिलाइदिनुभएको थियो । तिनै दौरासुरुवाल लगाई हामी पहिलो पटक पिताजीको पछि लागि त्यस बेलाको महेन्द्र रत्न नि.मा.वि. रुपाटार जाँदा दौरा सुरुवालको पोशाकमा जाने त हामी मात्रै पो रहेछौँ । दौरा सुरुवाल छोडौँ भने पिताजीको डर, नछोडौँ भने लाजले भुतुक्कै हुन्थ्यौं । दुईचार दिन त लाजले स्कूलमा कसैको मुखमा हेरिएन पनि, केहि समय पछि मात्र बानी परेको थियो । यो मेरो निम्ति अविष्मरणीय क्षण हो ।
पिताजीको जीवनकालमा केहि मानिसहरु पिताजीसँगै हुने गर्थे । पिताजीसँग निरन्तर अन्य मानिसहरु हुनुको कारण एक त पिताजी लगानी लगाउनुहुन्थ्यो अर्को धर्मशाश्त्र,ज्योतिषशाश्त्र र कानूनमा राम्रै दख्खल भएकाले पनि कुनै न कुनै कामका लागि पिताजीसँग मानिस ठोक्किनै पर्ने हुन्थ्यो । लामो खडेरी पर्दा मानिसहरु "पानी कहिले पर्छ बा ?" भनि सोध्न आउने गर्थे । त्यसवेला मलाई सिकोस भन्ने हेतुले मलाई पात्रो हेरी कुन ग्रह काहाँ बसेको छ ? ग्रह कहिले सर्ने दिन कुन हो ? आरद्रा नक्षत्र कुन दिन पर्छ ? भनि सोध्नुहुन्थ्यो । मैले पात्रो हातमा लिएर सबै भन्नु पर्थ्यो । अनि पिताजीले पानीको योग यस दिन छ भनेपछि त्यसै दिन पानी धेरैथोरै परेरै छाड्थ्यो ।
वाल मनस्पटलमा गढेको अर्को कुरा के हो भने लगभग २०३९/०४० सालको कुरा हो । हाम्रो क्षेत्रमा लामै खडेरी पर्यो । पिताजीले सवै बेसीमा बस्ने मानिसहरुलाई आज सुनकोसीमा लाखपाती वगाउनु पर्छ भन्नुभयो । हामी पनि रुपाटार स्कूलवाट लाखबाति वगाएको हेर्न सुनकोसी गयौँ । त्यहाँ धेरै मानिसहरु पिपलको पातमा धमाधम ॐ अक्षर लेख्तै रहेछन । पिताजीले हामीलाई पनि लेख भन्नुभयो हामीले पनि खुसी हुँदै पिपलका पातमा ॐ लेख्तै गयौँ । अव एकलाख पुग्यो भनेपछि वत्ति वालेर ती पिपलका पात वगाई हर हर महादेव पानी देउ देउ भन्दै कोसीमा केही मानिसहरु नुहाउन थाले र हामी पिताजीको अगाडी आफनो अनुशासन कायम राख्तै हामी आदमारातिर लाग्यौँ । हामी हिडेको १०/१५ मिनेट पछि संयोग हो वा के हो ठुलै पानी पर्यो । सवै हामी पानीमा भिज्यौँ । लाखपाती वगाएकाले पानी पर्यो भन्दै खुसी हुँदै वेलुका घर जानेको लश्कर थियो ।
पिताजी अरुले भनेका कुरामा थोरै मात्र विश्वास गर्नु हुन्नथ्यो भने आफैँले देखेको र पढेका कुरामा विश्वास राख्ने उहाँको स्वभाव थियो । उहाँका विश्वापात्रहरु थोरै थिए भने सम्पर्क प्राय सवैसँग थियो । समयलाई अत्यन्तै ख्याल राख्ने पिताजीले हामी सबै छोराछरीलाई “किताब तिमीहरुसँग सँधैँ रहदैन त्यस भित्र भएको ज्ञान लिई हाल्नु पर्छ” “पढ्दा जहिले पनि म केहि नभएको योगी हुँ यो वाहेक म मा अर्को विकल्प केहि छैन” भनि सवै कुरा विर्सिएर पढेका कुरामा मात्र ध्यान दिनु भन्नुहुन्थ्यो । यति भन्न सकिन्छ कि पिताजीले एक पटक पढेपछि सँधैलाई पुग्थ्यो । थोरै समयमा धेरै ज्ञान आर्जन गर्ने क्षमता भएको थियो भन्न सकिन्छ पिताजीलाई । आफुले पढेका कुरालाई व्यवहारमा उतारीहाल्ने उहाँको बानी थियो ।
पिताजीले आफ्नो जीवनकलमा कहिले पनि छोराछोरी लगायत अरु कसैकोे आस गर्नु भएन । उहाँले सन्तानब्बे बर्षको उमेर सम्म पनि एलोपेथिक औषधी सेवन गरेको मलाई जानकारी छैन । एलोपेथिक औषधीको बिरोधी हुनुहुन्थ्यो । उहाँको औषधी भनेको वेलुका खाना पछिको उमालेको तातो पानी नै थियो । लगभग आधा लिटर तातो पानी खाएको आधा एक घण्टा पछि सुत्नुहुन्थ्यो । विहान चार वजे उठेर ओछ्यानमा नै भगवति स्तोत्र, दुर्गा कवच पाठ गर्नुहुन्थ्यो । वेलुका छिटो सुतेर विहान शिव मुहुर्तमा उठ्ने मानिस निरोगी रहन्छ भनि हामीलाई वारम्वार भनिरहनुहुन्थ्यो । पिताजीले भनेका केहि उपदेश यस्ता छन् ः– एक्लैले मात्र देखेको सत्य कुरा पनि असत्य हुन्छ, त्यो कुरा समुहमा नभन्नु । लुकेर गरेको कार्यले आफैँलाई घाटा हुन्छ हाकाहाकी गरेको कार्यले समाजमा तत्काल नभए पनि पछि मान वढ्र्छ । अन्य कुरामा घमण्ड नगर्नु तर अध्ययनमा घमण्ड गर्नु । किताव भित्रको ज्ञानले केही गर्दैन जवसम्म आफूले लिइदैन । झगडा भइरहेको ठाउँमा फुत्त नपुग्नु । अगाडीको मानिससँग भन्दा पछाडीको मानिससँग डराउनु । ठुलासँग भन्दा सानासँग अनुशासित रहनु । साथै हामी धेरै छोराछोरी भएका कारण आमालाई सम्झाउने क्रममा पिताजीले यसो भन्नुहुन्थ्यो - "बच्चाहरुको लागि आमा सहि न्याय दिन सक्ने न्यायधीश हुनुपर्छ, आमा सहि बैद्य हुनुपर्छ, आमा सफल गुरु हुनुपर्छ, सफल मनोवैज्ञानिक हुनुपर्छ , मातृकूल राम्रो भएमा मात्र छोराछोरी महान हुन्छन् भन्दै पिताजीले सँधैका लागी मिति २०६६ आषाढ २४ गते बुधवार (श्रावण कृष्ण दुत्तिया) को दिन वेलुका ७ः०० वजे विदा लिए पनि उहाँका अर्ति उपदेश मेरा निम्ति महावाणी बनेका छन् । यीनै अर्ति उपदेशहरुले मलाई पिताजी सम्झाउन वाध्य वनाएका छन् । पिताजीले हप्काउदै दिएका दिएका अर्ति उपदेशहरुले अहिले पाइलापाइलामा मलाई चुम्वन गरिरहेका छन् ।
हाल : टीकाथली , ललितपुर
मो नं ९८५१०३९५७२
000
No comments:
Post a Comment