ठाकुरमणि दहाल |
“ विद्वानको घर तिर्थ समान”
कुरा वि.सं. २०४७ शाल अन्तिम र वि.सं.२०४८ तिरको हो । साविक ठानागाउँ गा.वि.स., थामखर्क निवासी स्व. नन्दलाल पोखरेल हजुरबासंग मैले केही समय संगत गर्ने अवसर पाएको थिएँ । संयोग मेरै बुवा श्री कृष्णप्रसाद दहालले उहाँसंगको कुराकानी पश्चात् मिलाउनु भएको रहेछ ।
वि.सं. २०४७ साल फाल्गुण/चैत्र महिनातिरको कुनै दिन विहान म ओछ्यानमै पल्टिरहेको थिएँ (विउँझीसकेको अवस्थामा) बुवा तल आँगनमा अमुर्त रुपमा शायद म तर्फ संकेत गर्दै भन्दै हुनुहुन्थ्यो - "समय, विद्या, सिकाई निरन्तर जरुरी छ । सिकाईको कुनै सिमा हुदैन, त्यसैले अहिले खाली समयमा थामखर्क हजुरवासँग गएर ज्योतिष सिक ! पछि काम लाग्छ ।" वुवाको आदेश मैले एक इमान्दार सिपाही सरह मान्दै विना प्रतिक्रिया जुरुक्क उठेर हात मुख धोई खाना खाएर थामखर्कतिर हानिए । हजुरवा घरमै हुनुहुँदो रहेछ, मैले आफ्नो परिचय दिन नपाउँदै कुरा वुमmी सक्नु भएछ क्यारे । ल ! अव म तर्फ संकेत गर्दै (सान्दर्भिक ज्योतिषका केहि श्लोकहरु टिप्न) भन्नु भयो । मैले साथमै लिई गएको कलम र कापी निकालेर धमाधम टिप्न थालें (जो अझै सुरक्षित रहको छ ) । त्यो कुनै औपचारिक विद्यालय थिएन तर सिकाई साह्रै प्रभावकारी थियो । मेरो ज्योतिष सिकाई औपचारीक रुपमा सुरुवात भयो । हरेक घटनासँग जोडेर संस्कृतका श्लोकहरु टिपाउने, अर्थ वुझाउने र उपयोग वताउने गर्नुहुन्थ्यो । केही समयको अन्तराल पश्चात् पुन: सोध्ने र थप प्रासंगिक श्लोकहरु टिप्न लगाउनु हुन्थ्यो । अघि टिपाएका श्लोकहरु सोध्ने र नबुझेको अझ स्पष्ट गरिदिनुहुन्थ्यो । मेरो वसाई २।४ दिन थामखर्कमा नै हुन्थ्यो भने पुनः घर गयो र २।३ दिनमा थामखर्क आउने जाने क्रम जारी रह्यो । मलाई थामखर्क वस्न केहि असहज थिएन, किनकी मेरै दौतेरी मामाहरु मचिन्द्र, टिका, परशुराम, र पशुपती हुनुहुन्थ्यो भने हजुरआमा हाम्रै दहालकै छोरी/चेली हुनु भएको साथै हजुरबासँग मेरो मावली हजुरवाको मामा चेला फुपु चेलाको साईनो थियो । तसर्थ मलाई कुनै अप्ठ्यारो महशुस भएन । साथै सानै उमेरमा मेरो ज्योतिष प्रतिको आकर्षण देखेर हजुरबाले माया गर्नुहुन्थ्यो ।
हजुरवाले आफ्नो अध्ययनको सन्दर्भ वि.सं १९८७ तिर काठमाण्डौमा र पछि वनारसमा गइ अध्ययन गरेको वताउनुहुन्थ्यो । त्यो समयमा त्यस भेगका मानिसहरु सायद कोही पनि त्यसरी त्यती टाढा गएर अध्ययन गरेको पाईदैन ।
मैले संगत गर्दा हजुरवा को उमेर झण्डै ७६/७७ वर्ष जति थियो होला । त्यस अवस्थामा पनि युवा अवस्थाकै जस्तो जोश, जाँगर, उत्साहले उहाँ उर्जावान लाग्नुहुन्थ्यो । त्यो उमेरमा पनि दैनिक १/२ घण्टा नियमित स्वः अध्ययन गर्ने उहाँको बानी रहेछ । नयाँनयाँ पुस्तकहरु काठमाण्डौ लगायतका शहरहरुवाट आउने जाने व्यक्तिहरु मार्फत मगाई अध्ययन गर्ने वानी रहेछ । घरमै पनि प्रशस्त धार्मिक एवं ज्योतिष विज्ञान लागायतका पुस्तकहरु रहेका थिए । शायद त्यत्रा पुस्तकहरुको अवस्था र संरक्षण हाल के कस्तो अवस्थामा छ कुन्नी ? एउटा सानो लाइव्रेरी समान पुस्तकहरु रहेको थियो । त्यो पहाडको दुर्गम स्थानमा, त्यो समयमा, त्यतिविधि पुस्तकहरु एउटा अनुपम नमुनाको रुपमा नै मान्नु पर्दछ ।
हजुरबा हामीलाई ज्योतिषी बन्न कम्तिमा चालीस हजार श्लोक याद गर्नु पर्ने वताउनुहुन्थ्यो । अल्पज्ञानले ज्योतिषी वन्न गाह्रो हुने र भए पनि दिगो नहुने वताउनुहुन्थ्यो । फलादेश गर्दा जथाभावी नगर्ने, एउटा मात्र तथ्यका आधारमा नगर्ने, झुठो फलादेश गरेमा त्यसको भागीदार स्वयं हुनु पर्ने वताउनु वताउनुहुन्थ्यो ।
ज्योतिषसँग सम्वन्धित घटना (सायद उहाँसँग सम्वधित होला) कसले वताएको याद भएन तर सम्झना ताजै छ । हजुरवाले अध्ययन समापन गरी घर फर्किए पश्चात् उहाँको अध्ययनको प्रशिद्धि सबै तिर ( सायद ससुराली गाँउ भोजपुरतर्फ पनि ) चर्चा भएछ क्यार । त्यहाँवाट एक जना अपरिचित व्यक्ति कुनै मृत व्यक्तिको चिना लिएर फलादेश गराउन हजुरबाकहाँ आएको र हजुरबाले फलादेश गर्न नपर्ने वताइदिनु भएछ । सो मानिसले उक्त स्थानवाट फर्किए पश्चात् केही तल आदमारा भन्ने स्थानमा गएर आफूले मरेको व्यक्तिको चिना हेराउन गएको तर हजुरबाले पत्ता लगाउनु भएको वताएछन् । ज्योतिषका सम्वन्धमा गर्भे चिना लेख्न सक्ने उहाँको अध्ययन थियो तर उक्त विद्या मैले प्राप्त गर्न भ्याईनँ । शायद, मामाहरु सिताप्रसाद र मातृकाले उक्त विद्या प्राप्त गर्नु भयो कि जस्तो लाग्छ । अरुले उक्त शिक्षा प्राप्त गरे जस्तो लाग्दैन ।
फलादेश सम्वन्धमा मेरै घरको कान्छा हजुरवाले चिना हेराउन हजुरवासमक्ष स्वयं उपस्थित हुनुभएको रहेछ । नन्दलाल बाले निकटमै सम्भावित कुनै अनिष्ट हुने वताइदिनुभएछ । सोको एक हप्ता भित्रै उहाँ परमधाम हुनु भएछ । लखनडाँडा रत्नलाल हजुरवाको सम्वन्धमा पनि उहाँले समय तोकिदिनुभएको थियो भन्थे मानिसहरू ।
ज्योतिष मात्र नभएर नन्दलाल हजुरबाको परिचय अन्य विविध सामाजिक, आर्थिक र कानूनी आयामहरुमा पनि उत्तिकै शसक्त थिए ।
सामाजिक : पहाडी वहुल समाजमा विविध सामाजिक घटना परिघटनामा समेत नन्दलाल हजुरबाको आवश्यता र उपस्थिती उक्तिकै महत्वको थियो । समाजमा अन्याय परेकालाई न्याय दिलाउन, झैगडामा मिलाप गराउन, सामाजिक वेमेलमा मेलमिलाप गराउन पनि उक्तिकै योगदान र आवश्यकताको पात्र रहनु भयो उहाँ । सबैलाई चित्त बुझ्दो निर्णय गरिदिने, कसैलाई पनि थिचोमिचो अन्यायमा पर्न नदिने, सबैलाई समान दृष्टिकोणवाट व्यवहार गर्ने कुशल सामाजिक व्यक्तित्व हुनुहुन्थ्यो । सबै उमेर समुहका व्यक्तिका साथै र सबै वर्ग, क्षेत्र, समुदायका मानिसहरुलाई समान माया ममता दर्शाउने उहाँ सबैका प्रिय व्यक्तित्व हुनुहुन्थ्यो ।
आर्थिक : नन्दलाल हजुरबा उदयपुर जिल्लाको उत्तर पश्चिम क्षेत्रका केही गा.वि.सहरु, खोटाङ्ग जिल्लाको दक्षिण पश्चिम क्षेत्रका केही गा.वि.सहरु र ओखलढुंगा समेतका क्षेत्रका वासिन्दाहरुको एकताका आर्थिक अप्ठेरोमा भरपर्दाे सारथीको रुपमा रहनु भएको थियो । विवाह, व्रतवन्ध, विरामी, खाद्यान्न अभाव लगायत आर्थिक अप्ठेरोमा आशा र भरोसाको केन्द्रको रुपमा रहनु भयो ।
कानूनी : तात्कालीन समयमा सो क्षेत्रमा पढेलेखेका मानिसहरु ज्यादै कम मात्र रहेको र कानूनी क्षेत्रमा ज्यादै न्यून रहेको अवस्थामा प्रहरी, अदालत, प्रशासन आदीमा निवेदन,उजुरी आदि लेखनमा स्थानिय व्यक्तिहरुलाई निःशुल्क सेवा प्रदान गर्नुका साथै कानूनी सल्लाह सुझाव समेत उहाँको उत्तिकै महत्व र आवश्यकता थियो ।
हस्त रेखा अध्ययन र फलादेश : ज्योतिषकै आर्काे शसक्त पाटो हस्त रेखा हेरी फलादेश गर्ने पक्ष पनि उहाँमा त्यतिकै शसक्त थियो चिना (टिपन नभएको) व्यक्तिको फलादेश गर्दा हात हेर्ने हात नभएमा खुट्टा हेरी फलादेश गर्ने खुट्टा पनि नभएमा अनुहार समेत हेरेर फलादेश गर्नु पर्ने वताउनु हुन्थ्यो । यो पक्ष पनि सामान्य अन्य अहिले यत्र तत्र भेटिने ज्योतिष जस्तो नभै गहन अध्ययनको आधारमा रहेको थियो ।
संयोगवस हजुरबासँग मैले उदयपुरकै केहि क्षेत्र भ्रमण गर्ने अवशर पाएको थिएँ । उहाँ जहाँजहाँ गए पनि उत्तिकै मानिसहरु भैला भै आर्थिक मद्दत, कानूनी सल्लाह तथा ज्योतिष (चिना हेर्ने, लेखाउने र हस्तरेखा देखाउन) का लागि उत्तिकै भिड जम्मा हुन्थ्यो । प्रत्येक स्थानवाट तोकिएको समयमा हिड्न सधै मुस्किल हुने हुँदा पुन: चाडै आउने वाचागरि स्थानीय व्यक्तिहरुसँग फुत्किएको घटना अझै ताजै रहेको छ । नन्दलाल हजुरबाको वहुआयामिक व्यक्तित्व, क्षमता, दक्षता र प्रभाव, महत्वको कारण त्यस्तो भएको हुनुपर्दछ ।
धार्मिक स्थल (तिर्थ) सरहको त्यो घर र त्यत्रो विरासत : त्यसै त जतनपुरे पोखरेलहरुको मूलघर भाई, भतिजा, नाती, नातीना, छोरा, वुहारी, ज्वाई,छोरी भान्जा, भान्जी लगायत नाता कुटुम्वहरुको त आवत जावत हुने नै भयो, त्यसको अलावा विविध आर्थिक, सामाजिक, कानूनी लगायत अन्य कारणवाट आउने जाने व्यक्तिहरुले गर्दा एक धार्मिक स्थल सरह मानिसहरु दैनिक आवतजावत गर्ने घर थियो । सायद कुनै दिन पाहुना विनाको भान्छा हुन्थ्यो जस्तो लाग्दैन र सुनिएन पनि । अहिले उक्त कुरा एकादेशको दन्त्य कथा जस्तो वन्न पुग्यो ।
वि.सं. २०४८ सालको मंसिरपश्चात् मैले बीचैमा ज्योतिषको अध्ययन छाडि औपचारिक शिक्षातर्फ समय दिनुपरेको साथै मेरो वसाई धरान र मोरंग तर्फ भएकोले लामो समय सम्म उहाँसंग भेट हुने अवसर मिलेन । ज्योतिषको पढाई पनि अधुरै रहन गयो । झण्डै १० वर्षको लामो अन्तराल पश्चात् वि.सं. २०५८ दशैमा भेटघाट हुने अवशर जुर्यो । कारण, मेरो मावलीगाउँ पनि हजुरबाको वसाइ नगिच नै थियो । उहाँ पनि थामखर्कवाट स्थानान्तरण भै केहि तल वेसी (कवासेटार, आफ्नै खेतिमा सायद सुविधाको लागि होला ) सर्नु भएको रहेछ । दशैंको पूर्णिमाको अघिल्लो दिन विहान २ अढाइ घण्टा जतिको भलाकुसारी र वसाई साथै विहानीको खाना त्यही खाएर विदा भएको त्यही क्षण हजुरबासँगको अन्तिम क्षण भएछ । पछि उहाँ परमधाम हुनुभएको खवर थाहा पाएँ । विविध कारण विशेषगरि निजामती कर्मचारी अस्पतालको जगिरे जीवन, टाढाको वसाई आदिले गर्दा उहाको मृत्युकर्ममा शोकसन्तप्त मामाहरुलाई सान्त्वना दिन उपस्थित हुन सकिएन । दु:ख लागेको छ । केवल औपचारीक रुपमा फोन मार्फत मातृका मामासँग मात्र भलाकुसारी गर्ने अवसर मिल्यो । हजुरबाले छुट्ने वेलामा गिता प्रेसको विष्णु सहस्त्रनाम सहितको गिता पठाई दिन आग्रह गर्नु भएको थियो । पठाइदिन्छु भन्ने त्यो मेरो वाचा अधुरै रह्यो । मलाई अहिले पनि पीडा छ ।
एक उज्ज्वल नक्षत्र, वहुआयामिक व्यक्तित्वका धनी नन्दलाल हजुरबा परिवारमात्रको नभई त्यस क्षेत्रकै आदरणीय व्यतित्व हुनुहुन्थ्यो । उक्त समयमा त्यत्ति टाढा गैर ज्ञान आर्जन गरि पुन: सोही दुर्गम स्थानमा (जन्म थलोमै फर्किएर ) आफ्नो जीवन व्यतित गर्नु आजको भौतिक दुनियाँमा एक असल उदाहरणको रुपमा ग्रहण गर्नु पर्दछ । उहाँले चाहेको भए नेपालको जुनसुकै स्थान र क्षेत्रमा गएर आनन्ददायक जीवन, सुखपूर्वक व्यतित गर्न सक्ने आर्थिक र वौद्धिक हैसियत रहेको थियो ।
स्व. नन्दलाल हजुरबाका असल गुणहरु हामी सबैका लागि अनुकरणीय, अनुग्रहणीय रहिरहने छन् ।
हार्दिक श्रद्धान्जली ! ! !
साविक - ठानागाँउ ८, फलाँटे
No comments:
Post a Comment