Thursday, June 11, 2020

कान्छा बाको सम्झनामा - हेम बस्नेत

हेम बस्नेत
जीवनकालभर आफनो क्षेत्रमा सर्वाधिक प्रशंसा, विबाद र आलोचनाको शिखरमा रहनुभएका स्वर्गवासी नन्दलाल पोखरेलको बारेमा केही कुरा लेख्न बस्दा २०५४ सालको एउटा छोटो भेटको सम्झना आउँछ । स्थानीय चुनाबको नोमिनेसनको दिन म टुप्लुक्क ठानागाउँ पुग्दा बालाई मैले आहालेको स्कूल प्राङ्गणमा आफनो पुरानो हाउभाउ भावभंगीसाथ गफ गर्दै गरेको भेटेँ । मैले नमस्कारको औपचारिकता पछि ‘मलाइ चिन्नु भो’ भनेर सोधेँ । ‘नाक चुच्चे छ पोखरेलकै आफन्त हुनुपर्छ’ भन्दै “बस्नेत हैन ?" भनेर सोध्नुभो । त्यो भेट नै मेरो उहाँसँगको अन्तिम भेट भयो । म उहाँ प्रति आदर र श्रद्धा अर्पण गर्दछु । 

मैले थाहा पाउँदा उदयपुरको उत्तर पश्चिम भेगमा एउटा नाम प्रचलित थियो नन्दलाल पोखरेल । उहाँलाई कान्छा बा ! पनि भनिन्थ्यो । उदयपुरको झण्डै आधि क्षेत्र ओगटेको उत्तरतिरको पहाड र खोटाङ्ग जिल्लाको धेरै भेगमा उहाँको नाम प्रचलित थियो । शारीरिक रुपमा न मोटो न पातलो ठीक्कको शरीर । टाउकोको कपाल पुरै फुलेको । तुक्का जोडदै रसिक पाराले सानो स्वोरमा मीठो बोल्ने र तर्क सहित बौद्धिक भनाइहरु राख्ने भएकाले मानिसहरु कुरा सुन्न झुम्मिन्थे । सधै प्राय दौरा सुरुवाल र कालो कोटमा  सजिएर हिडने । उमेरले झण्डै सत्तरी पचहत्तर पुगिसकेको तर पुरै सक्रिय जीवन शैली । त्यो समयको त्यस भेगको सबभन्दा बौद्धिक व्यक्तित्वको रुपमा परिचित । प्रत्यक्ष राजनितिबाट अलग तर त्यस भेगका शासकहरुको प्रमुख सल्लाहकार । कुटनीति र बाचालपनको पर्याय । राजनैतिक दाउपेचमा देखिने गरी कुनैको पक्षमा पनि लाग्नु हुन्थेन ।
ठानागाउँका पोखरेल बन्धुहरुसँग हाम्रो दाजुभाइको नाता छ । दोलखाको जफेमालुमा हैजाको महामारी फैलिए पछि ज्यान जोगाउँन हाम्रो जिजु बा झण्डै सय वर्ष पहिले काठमाण्डौ भासिनु भएछ । काठमाण्डौको पेटीमा हो वा पसलमा, एकिन छैन, तरकारी पसल गरी बस्नु भएको रहेछ । कान्छा बाको बुबा राइटर कुलप्रसाद पोखरेल पनि काठमाण्डौमा जागिरे हुनुहुँदो रहेछ । उहाँ नियमित जसो हाम्रो जिजुको पसलबाट तरकारी किन्नु हुँदा दुवैको चिनजान र घनिस्टता भएछ । जागिरको अवकास पछि उहाँले भरखरको अल्लारे हाम्रो जिजुलाई आपूmसँगै ठानागाउँ लानु भएछ । उतै रहँदा बस्दा उमेर पुगे पछि उहाँले छोरा बनाइ केटी खोजेर बिबाह गराई अंश दिएर राख्नु भएछ । हाम्रो जिजु बाजे दोलखा नफर्की ठानागाउँ मै रहन बस्न थालेछन । यसरी हामी पोखरेल बन्धुहरुसँग धर्मदाजुभाइको नाताबाट पनि गासिएकाछौं । 

उहाँको शिक्षादिक्षाको बारेमा मलाइ धेरै कुरा थाहा छैन । बनारसबाट ज्योतिष शास्त्र पढनु भएको भन्थे मानिसहरु । उहाँमा कानूनको ज्ञान प्रयाप्त थियो भन्ने कुरा त्यस भेगमा कुनै कानूनी समस्या परेमा मानिसहरु सल्लाह माग्न उहाँसँग जानुले प्रष्टिन्छ । उहाँ आफै मुद्दाको फिराद तथा निबेदनहरु लेख्नु हुन्थ्यो । कस्तो घटनामा कुन मुद्दा चल्छ र कस्तो नालिस दिने भनेर उहाँसँग सोध्थे त्यताका मानिसहरु । उहाँले घरायसी लिखतहरु, जस्तै कपाली तमसुक, भर्पाइ तथा अन्य लिखत पनि लेख्नु हुन्थ्यो । 

उहाँलाई मानिसले चिन्ने अर्को कारण थियो ज्योतिष बिधा । बनारसमा ज्योतिष पढेर आएको भनी नाम चलेको थियो । त्यस भेगको सबै भन्दा बिज्ञ ज्योतिषको रुपमा उहाँलाई चिनिन्थ्यो । लगन, साइत, मुहुर्त, चिना लेख्ने तथा बिबाहमा केटा केटीको नामवर्ग मिलाउँदा अरु ज्योतिषले हेरेर चित्त नबुझे अन्तिममा उहाँकोमा पुग्थे हेराउँन । उहाँले भने पछि त्यो अन्तिम हुन्थ्यो । नन्दलालले हुन्छ भने हुने र हुन्न भने नहुने जमाना थियो त्यो बेला । उहाँलाई चुनौति दिने कोही पनि थिएनन् । 

गरिबीले आक्रान्त गाउँमा धनी हुनुको अर्कै मज्जा थियो र हुन्छ पनि । त्यसो त हिजो पनि धनीको जहाँसुकै इज्जत थियो र आज पनि छ नै । त्यस भेगमा पनि त्यस्तै हुन्थ्यो । मानिसहरु पछाडि कुरा काटेपनि धनीको अगाडि पुग्दा सम्मान नै जाहेुर गर्थे । त्यस भेगका धनी मध्यमा उहाँ पनि हुनुहुन्थ्यो । पैसा चाहिएमा मानिसहरु उहाँसँग जान्थे । ठानागाउँको धनीको लिस्टमा तेजबहादुर ज्यु, कान्छा बा र कर्णबहादुर मगरको नाम आउथ्यो । यी तीनै जना धनीहरुको व्यवसायको स्वरुप पनि तीन किसिमको थियो । उहाँको उदयपुरको त्यस उत्तरी भेगमा र खोटाङ्गको कतिपय क्षेत्रसम्म ऋण लगानी धेरै फैलिएको थियो । 

तेजबहादुर ज्यू ठकुरीको पुख्र्यौली जग्गा जमिन धेरै थियो । उहाँको पुर्खौली जिम्दारी सकिएको भएपनि खेतबारी धेरै भएकोले रवाफ थियो । पच्चिस वर्ष प्रधानपन्च भएकोले र राणा काल देखिको मुखिया खलक भएकोले उहाँलाई गाउलेहरु मुखिया भन्थे । बाली लगाउँने सिजनमा गाउँलेहरु मुखियाको खेत बारीमा हली, गोरु तथा रोपाहार सहित अनिवार्य उपस्थित हुनु पथ्र्यो । त्यस वापत कुनै ज्याला गाउँलेले पाउँदैनथे । त्यो क्रम बि.सं. २०४२ सालको गाउँ पंचायतको चुनावमा प्रधानपन्चमा पराजित भए पछि टुङ्गियो । त्यतिबेला राजनिति धनीहरुले मात्र गर्थे । प्रधानपन्चमा तेजबहादुरको बिरुद्धमा उठन सक्ने ठानागाउँमा जम्मा दुई जना मात्र थिए त्यतिबेला । नन्दलाल कान्छा बा र कर्णबहादुर मगर । कान्छा बाले राजनितिमा चाख नराख्ने भएकोले ठकुरी बिरोधीहरुले कर्णबहादुरलाई २०४२ सालको गाउँ पंचायतको चुनाबमा प्रधानपन्चको उम्मेदवारको रुपमा उठाए । तेजबहादुर र कर्णबहादुरको बीचमा भएको प्रधानपन्चको चुनावमा कर्णबहादुरले जिते । यसरी वर्षौ देखि चल्दै आएको ठकुरी खलकको सत्ता पलट भयो । 

अर्का धनी थिए कर्णबहादुर मगर । उहाँ त्यस भेगका ठूला व्यापारी हुनुहुन्थ्यो । ठानागाउँको कोप्चे भन्ने मगर गाउँको एक चलाख व्यापारी हुनुहुन्थ्यो र कालान्तरमा एक कुसल राजनैतिक खेलाडी पनि हुनुभो । व्यापार पनि यति व्यापक थियो कि उहाँको पसलमा औषधि देखि बिबाह तथा मृत्यु संस्कारसम्मको सबै सामान पाइन्थ्यो । मेरो परिवारका सदस्यहरु टाइफाइड, रगत मासी तथा झाडापखाला लागेर बिरामी परेको कैयौ पटक त्यहाँ गएर ल्याएको औषधिले निको भएको अनुभव छ । धेरै टाढा टाढाका गाउँलेहरु समेत त्यो पसलमा गएर उधारोमा कपडा तथा अन्य सामानहरु ल्याएर दशै तिहार टार्थे । खासगरी दशैमा त्यहाँ धाउनेको लर्को लाग्थ्यो । हामी केटाकेटी छँदा बाले दशंैमा एक सरो नयाँ कपडा सबै परिवारलाई हाल्दिनुहुन्थ्यो । ती कपडा तिनै कर्णबहादुरको पसलबाट ल्याइन्थ्यो । अघिल्लो वर्षको उधारोको पैसा तिरी नयाँ कपडा उधारै ल्याउनु हुन्थ्यो । व्यापारमा एकछत्र साम्राज्य थियो । कोप्चेको कर्णबहादुरको पसल भने पछि लगभग सातवटा  गाउँ पन्चायतसम्म परिचित थियो र मानिसहरु कारोवार गर्थे । सामान कति मूल्यमा ल्याउँन्थ्यो र कतिमा बेचिन्थ्यो ? कसैलाई थाहा पनि थिएन र चासो पनि थिएन । चासो यतिको मात्र थियो कि उधारो पाइन्छ पाइँदैन ? दिन्छन दिँदैनन ? उधारो पाउने बित्तिकै उनीहरु खुसी भएर ती सामानहरु बोकेर हिडथे । 
यसरी हाम्रो गाउँ पन्चायतका प्राय सबै जनता यी तीन जनाको शरणमा थिए । पैसा चाहिए नन्दलाल, अन्न चाहिए तेजबहादुर र अन्य सामान चाहिए कर्णबहादुर । यी तीनको साम्राज्य थियो । हुनत यी तीनले नपत्याउँने वा उनीहरुसँग नजानेहरु पनि थिए तर तिनीहरु एकदमै थोरै थिए । बहुमत भने यीनैको प्रभावमा थियो । बेला बखत यी तीनको टक्करको कथाहरु पनि सुनिन्थ्यो ।
मैले दुई कक्षा र तीन कक्षासम्म रामपुर स्कूलमा पढें ।  चार कक्षा पढन रुपाटार झरें र फेरी पाँच देखि सात ठानागाउँमै पढें । आठ कक्षा रुपाटारबाट पास गरी नौ कक्षा उदयपुरगढी गएर पढें र पूनः दश कक्षा रुपाटारबाट पास गरी एसएलसी सकें । जब ठाँनागाउँमा स्कूल खुल्यो, त्यतिबेला रामेश्वर दाहाल एक जना शिक्षक हुनुहुन्थ्यो । बिधालयको भवन थिएन । वर पिपलको फेदमा हामी चौरमा बसेर काठको पाटीमा बाँसको सिर्कनाको कलम बनाएर कमेरोको मसीले लख्थ्यौ । त्यतिबेला ती दाहाल सर कान्छा बाको घरमा बस्नुहुन्थ्यो । अथवा कान्छा बाले आफना छोरा छोरी पढाउँन त्यतिबेला समेत घरम शिक्षक राखेर पढाउँनु हुन्थ्यो । यसले उहाँको चेतनास्तर कति माथि रहेछ भन्ने देखाउँछ । शिक्षामा लगानी गर्नु पर्छ भन्ने चेत उहाँमा रहेछ र छोरा छोरी सबैलाई पढाउँनु भएको थियो जवकि त्यस बेला छोरीहरुले पढनु पर्छ भन्ने चेत निकै कममा मात्र थियो । एकदमै थोरैले मात्र छोरीलाई पढाउँथे । एक त स्कूल पनि प्रयाप्त थिएन । भएका पनि टाढा टाढा जानु पर्ने । त्यति टाढा पढन पठाउँदा छोरी बिग्रन्छन भन्ने डर समेत हुन्थ्यो । 

उहाँको बारेमा समाजमा कैयौ किस्सााहरु पनि थिए । कैयौं किस्साहरु रोमान्चक पनि थिए । म  पुन : उहाँ प्रति आदर र श्रद्धा अर्पण गर्दछु । 


000

No comments:

Post a Comment