Friday, July 30, 2021

थामखर्क र थामडाडाँ - जगत बहादुर कार्की 'कदुवाली'

 

जगतबहादुर कार्की


नेपालको पूर्वी माझकिराँतले परिचित एक प्रसिद्ध ठाउँ हो खोटाङ हलेसी थुम । यो हलेसी गाउँमा भगवान महादेवको पत्थरे गुफा घर छ । हलेसी महादेवस्थानबाट १० कि।मि। जति दक्षिणमा ओखलढुङ्गापट्टि फर्केका खोक्सेली गाउँ छन् । खोक्सेलीबाट १५ कि ।मि। पश्चिम–दक्षिणमा च्यास्मिटार र भुम्जुतिर फर्केको एउटा रमणीय गाउँ छ । जाँते आकारको त्यो भूमिको नाम हो कदुवा गाउँ । मध्यपहाडी लोकमार्ग हुँदै हलेसी जाने बाटामा पर्छ त्यो गाउँ । दूधकोशी जयराम घाटको झोलुङ्गे शैलीको पक्की पुल तरेपछि करिब ५ कि।मि। उत्तर–पूर्वमा अवस्थित छ कदुवा गाउँ । गाउँका सिरानको बस्तीको नाम हो ‘थामडाँडा’ । 

पूर्वपश्चिम राजमार्ग नखुल्दासम्म भोजपुर र काठमाडौं जानेआउने मूल बाटोमा पर्ने गाउँ हुन् कदुवा र जयरामघाट । भू. पू. न्यायाधीश सीताप्रसाद पोखरेल पाँच वर्षको उमेरमा दुलाहा भई डोलीमा कदुवा पुगेको स्मरण गर्दै भन्नुहुन्छ, धरतीको स्वर्गभूमि हो कदुवा ।

बाल्यकालमा सीताप्रसाद पोखरेल बेहुला हुनु परेको कहानी रमाइलो रहेछ । मादले रुपाटारबाट कदुवामा बिहे गर्न आउने क्षत्री थरका बेहुलाको चिनामा कन्याकेटीसँग बिहे गरे घरजम बिग्रने दोषी राशि परेको रहेछ । विवाह भएकी कन्या केटी नभेटिने । अर्काकी श्रीमती बिहे गर्न पनि नहुने । अप्ठ्यारो परिस्थितिको सृजना चिनाले गराएछ । धर्मसंकटको गाँठो फुकाउने जिम्मा सीताप्रसादका पितालाई आइलाग्यो । समस्या समाधानको उपायमा बेहुला अन्माउनुअघि जात धर्म मिल्ने कुनै कुमार केटालाई अन्माएर लाने । त्यो केटासँग स्वयम्वर भएपछि वास्तविक बेहुलासँग स्वयम्वर र बिहे गराउने निधो भएछ । चिनामा भएको दोष मेटिदिन बेहुला हुने केटा जो कोही भए बेहुलीमा नै दाबी गर्ला भन्ने डर भयो । जात धर्म उमेर माफिकको केटा सीताप्रसाद पोखरेल बेहुला भइदिनु भएकाले उहाँको जन्त जाने रहर पूरा भएसँगै क्षत्री बेहुलाको चिनाको दोष पनि मेटिएछ । यसरी सीताप्रसादले कलिलो उमेरमा फोकटमा बेहुलो हुनु परेछ । अरूको भलाइका निम्ति बेहुलो भई कदुवा पुग्नु भएका सीताप्रसाद पोखरेल कदुवा र कदुवालीलाई अगाध प्रेम गर्नुहुँदो रहेछ ।

कदुवाबाट तल्लो खोक्सेली छर्लङ्ग देखिन्छ । माथिल्लो खोक्सेली छेलिन्छ । खोक्सेलीका सिरानमा काला दाहालका बस्ती पातीखर्क गाउँ छ । त्यहाँका एक दुई घर उपाध्याय भट्टराईहरू खोक्सेली दाहालका गुरु पुरोहित छन् । दूधकोशी पूर्वको पाटो खोक्सेली गाउँलाई दूधकोशी पश्चिमका ओखलढुङ्गाका तलुवातिरबाट हेर्दा इलामेलीले दार्जिलिङ देखे जस्तै झिलिमिली र रमणीय देखिन्छ । दूधकोशी किनारका महादेवबेँसी, खोक्सेलीबेँसी र घबटार गाउँले खोक्सेलीलाई शोभा र सुन्दरता थपेका छन् ।

खोक्सेलीका ब्राह्मणहरूसँग कदुवाली लामा कार्कीको गुरु–पुरोहित र यजमानको साइनो छ । यो पुस्तैनी नाता हो । कदुवाली कार्कीहरूलाई मरणोपरान्त स्वर्गलोक पुर्‍याई घरजम, रसद पानीको व्यवस्था मिलाइदिने । स्वर्गवासी र नरलोकवासीको सम्पर्क गराइदिने सेतुको काम खोक्सेलीबाट हुँदै आएको छ । कदुवाली कार्कीले पाएका नाम र गायत्री मन्त्र खोक्सेलीबाट पठाइएका हुन् ।

माथिल्लो खोक्सेलीटारमा द्विजराज दाहाल (काइँला बाहुन) को घर थियो । उहाँका जेठा छोरा डिल्लीप्रसाद (डाकनाथ) को वि. सं. १९८२ साल असारमा जन्म भएको रहेछ । पङ्क्तिकारका पिताजी भन्नुहुन्छ, ूजेठाबा मभन्दा दुई वर्ष आठ महिना जेठा हुनुहुन्छ । डाकनाथकी जेठी छोरीको न्वारानपछि अर्को नाम उपनाम सीताका बाउले प्रख्यात रह्यो । पङ्क्तिकारको डिल्लीप्रसादसँग नातिबाजेको साइनो छ । उहाँका छोराहरू लीलाविष्णु, मदन र तेजप्रसादसँग काकाभतिजाको र छोरीहरू सीता र राधासँग फुपूभदाहाको साइनो रहेको हो । 

डिल्लीप्रसाद दाहाल घरमा आउँदा सबैभन्दा खुसी म हुन्थेँ । त्यसको कारण थियो— उहाँले तयार गरेको भान्छाको केही हिस्सा मेरोमा पर्थ्यो । उहाँबाट भएको एउटा अन्याय सुनेथेँ । त्यो थियो— ६ दिनको सूतकको शिशु छँदा कानमा कप्टेरोले झर्का थाल ठटाएर मलाई झिँजो दिएको १ अनौठो अनि मीठो स्वरका धनी डिल्लीप्रसादबाट कप्टेरा र थालका तालमा उच्चारण भएका तीन अक्षरका शब्दले आज मेरो परिचय दिलाएको छ । कदुवाली कार्कीका मूल वृक्ष जहरसिंह कार्की र जानकीदेवी कार्की हुन् । कदुवा भन्ज्याङमा कार्की समूहले २०७५ जेठमा सप्ताहव्यापी श्रीमद्भागवत महापुराण लगाएको थियो । त्यस पुराणका मूल पुरोहित डिल्लीप्रसादलाई गुनासो पोखेँ, तपाईँबाट अन्याय पनि भएको रहेछ नि ! उहाँले उत्तर दिनु भयो, "जन्मेको ६ दिनमा न्वारान गरिएका मानिस भाग्यमानी हुन्थे "

खोक्सेली, कदुवा र थामखर्क त्रिकोण स्थानमा अवस्थित छन् । यी तीन वटै गाउँ भुम्जुबाट हेर्न सकिन्छ । भुम्जु डाँडाबाट थामखर्क पूर्वतिर देखिन्छ । त्यहाँबाट कदुवा देख्न पश्चिम र खोक्सेली देख्न उत्तर नजर लाउनुपर्छ । थामखर्क नन्दलाल पोखरेल बाहेकका अरू जतनपुरका पोखरेलसँग कदुवालीको त्यति भेराइँचो साइनो थिएन । मादले, रूपाटार, भाते, नौले–रसुवा, ताम्लिछा, लिम्पाटार र सोरुङ्गमा भने कदुवालीको दैलैपिच्छे नाता र साइनो छ । नन्दलाल पोखरेलसँगको साहु–आसामी र मितेरी नाता सम्बन्धलाई ढाक्ने साइनो खोक्सेलीबाट जोडिएको हो। नन्दलाल पोखरेलले विधुर विवाह गर्नु परेछ । लमी जानेले द्विजराज दाहालसँग नन्दलाल पोखरेलको नालीबेली खुलस्त पोखेछन् । थामखर्के उपाध्याय पोखरेल । विधुर केटा । जन्म वि। सं। १९७० साल असार । लालाबाला घरभरी । नामसुवास, धनदौलत भरिपूर्ण। नन्दलाल पोखरेलको विवाहको विषयलाई लिएर कदुवामा छलफल भएछ । तीन वटी श्रीमती स्वर्गवासी भएबाट विधुर हुनुभएका देवीबहादुर कार्की, मुखिया प्रशुराम कार्की र पुष्पबहादुर कार्कीका बाबुछोराले थामखर्कमा छोरी दिनु हुँदैन भनेछन् । नन्दलाल पोखरेललाई छोरी नदिने निधो गरी डिल्लीप्रसाद खोक्सेली फर्केको सुइँको नन्दलालका कानमा परेछ । कदुवालीले भाँजो हाले भन्ने उहाँलाई थाहा भइहाल्यो । सोझा कदुवालीलाई हुस्सू बनाउने विचारले बमबहादुर कार्की ९गुमानसिंह राउतका ससुरा० का घरमा पुग्नुभएको रहेछ नन्दलाल पोखरेल । देवीबहादुर कार्कीले नन्दलालको नाम सुनेको मात्रै, मान्छे देखे–चिनेको रहेनछ। डम्बरबहादुर कार्कीले पनि नन्दलाललाई नचिनेको । आफ्ना काका देवीबहादुरतिर फर्केर सोध्नु भएछ, "डाकनाथकी छोरी थामखर्क दिन नहुने के खोट छ नन्दलालको, कान्छा   ? देवीबहादुरले आगन्तुकतिर नहेरी, "त्यो नन्दे काठो जाँड खान्छ ? " भन्नुभएछ । आफ्नै सामुन्नेमा बूढो मान्छेले अभक्ष खान्छ भनिहाले । म खाँदिन भन्न पनि मिलेनछ । बिहेको कुरा यिनै ग्वाँजे बूढाले भाँडेको हो भन्ने उहाँलाई पक्का भइहाल्यो । बूढा मान्छेले लगाएको लाञ्छनाको जवाफ झुट्टै कथनले दिनु पर्ने भयो । देवीबहादुरतिर नहेरी भद्र स्वरमा नन्दलालको पालो "राईघाटमा २।४ जना बूढाहरू मातेर लडिराखेका थिए ।" ‘कहाँबाट आयौ ? कसमा पर्‍यौ ? भनी सोध्यौँ । ‘हामी स्वयंपाकी, कदुवाली कार्की हौं, भन्थे ।" भन्नु भएछ । बल्ल थाहा भएछ देवीबहादुरलाई नभन्ने कुरा भनेँछु भन्ने । नन्दलाल पोखरेल त यिनी नै पो परेछन् भन्ने प्रस्ट भएछ । त्यो सिटासिटको परीक्षाले देवीबहादुरलाई नन्दलाल अब्बल दर्जाका मान्छे भएको विश्वास भएछ। त्यसदिनबाट देवीबहादुर कार्की र नन्दलाल पोखरेको सामीप्यता बढेछ । नन्दलालको तारिफको खबर पठाउनुभएछ पुरोहितलाई देवीबहादुरले। नन्दलाललाई मतवालाको दोष लाउनाको गुह्य कुरोचाहिँ थामडाँडामा मितसँगै भान्छामा बसेथे भन्ने सुनेको रहेछ देवीबहादुरले। 

थामखर्क नन्दलाल पोखरेल र हलेसी दुर्छिमका डिल्लीसेर राईको घनिष्ट सम्बन्ध रहेछ । तल्ला खोक्सेली कृष्णप्रसाद दाहालका मित डिल्लीसेर राईको त्यस भेगमा ठूलो प्रतिष्ठा थियो । उहाँको बोली काट्न सक्ने आँट कसैमा थिएन । उहाँले डाकनाथलाई थामखर्क छोरी दिन बाध्य पार्नु भएछ र बाचाबन्धन पक्का गरिएको अठोटकागजमा डिल्लीप्रसादलाई सही पनि गराउनु भएछ । डिल्लीसेरसँग डिल्लीप्रसादले सोध्नु भएछ, जनै सुपाडी लिँदा हुँदैनथ्यो र  डिल्लीसेर राईको व्यङ्ग्य जवाफ आएछ, "किराँतीको जनै हुँदैन क्या बाजे ।" साउँ अक्षरसँग मात्र चिनाजान भएका डिल्लीसेर राईलाई अठोटको रीत थाहा भएनछ । त्यो दोहोरी अठोटकागज नन्दलाल आँफैले लेख्नुभएको रहेछ । त्यसै कागजलाई सुनी जान्नेहरू भन्छन्, "नन्दलालले डिल्लीप्रसादलाई छोरी दिन्छु भन्ने कबुलियतनामा गराएका थिए रे"

अन्ततस धेरै लामो खोजीनितीपछि विवाह हुने निश्चित भएछ डाकनाथकी छोरीसँग नन्दलाल पोखरेलको । लावालस्कर जन्तीका हूलमा घोडचडी बेहुला थानागाउँ, रूपाटार, यारीखोला, राईघाट, च्यास्मिटार, बोझे, बाँङ्मा हुँदै माथिल्लो खोक्सेलीपुग्दा कदुवाबाट सौगात सिसार लिई आउने सोलीवालाहरू सँगसँगै पुगिसकेका रहेछन्। यो विवाहले कदुवाली कार्की र नन्दलाल पोखरेलको नयाँ साइनो ज्वाइँ ससुरालीमा जोडिएछ। मेरा पिताजीले पनि त्यस बिहेमा सहभागिता जनाउनुभएको रहेछ । 

स्कन्ध पुराणको स्वस्थानी व्रतकथामा वर्णन भएजस्तो शिव शर्मा र गोमा ब्राहमणीको विवाहसँग अलिअलि मेल खाने अनमेल विवाह नन्दलाल पोखरेलको सीता दाहालसँग सुसम्पन्न भएछ । त्यसबेला महिलाप्रिय कानून बनेकै थिएनन् । त्यसैले त्ये बहे गाउँले टिप्पणीमा मात्र सीमित रहन गएको हो। 

नन्दलाल पोखरेल २४ असार २०६६ मा नरलोक त्याग गरी स्वर्गलोक जानुभयो । धर्मपत्नी सीता पोखरेलले पनि पितसँग भे६न जाने साइत २०७८ साल वैशाख १८ गतेको जुराउनु भएछ । लगत्तैको १४ जेठमा डिल्लीप्रसाद दाहाल पनि ज्वाइँछोरीको हालखबर बुझ्न स्वर्गलोकतिर प्रस्थान गर्नुभयो । 

डिल्लीप्रसाद दाहालको श्यामकर्णे घोडा थियो । जिनकाँटी कसेको घोडामा ठाँटसँग कदुवा आउनुहुन्थ्यो । उहाँ कदुवा आएपिच्छे खोक्सेली र थामखर्कको हालकुशलका सम्बन्धमा सोधीखोजी हुन्थ्यो । पिताजी पुष्पबहादुर कार्कीबाट सधैँजसो सोधिने रेडिमेड प्रश्न हुन्थे– सीता सन्चै त छिन् ज्वाइँ कता छन्  मातृका मचिन्द्र र साना भान्जाभान्जी कतिमा पढ्छन्  ती लालबाला कत्रा भए रु सीताले कति पढे " जागिर कति खान्छन् ! कपासेमा को बस्छ ? निबुवाटारमा को बस्छ ? पकलेबेँसीको खेतमा यसपाली धान कति मुरी फलेछ ? यस्तै यस्तै गन्थनका धेरै घरायसी प्रश्न हुन्थे । डिल्लीप्रसाद एकएक प्रश्नको रिठ्ठो नबिराई जवाफ दिनुहुन्थ्यो । पिताजी र डिल्लीप्रसादका गफ सुनेका भरमा म थामखर्कको नालीबेली जान्ने भइसकेको थिएँ । कदुवामा नन्दलाल पोखरेलको ठूलो इज्जत र कदर रहेछ । नन्दलाल पोखरेलले गरेका राम्रा नराम्रा गुणदोषका चर्चाहरू जति पनि प्राप्त भए तिनलाई जस्ताको तस्तै उतार्ने प्रयास गरेको छु ।

मल्लकालका कान्तिपुरका राजा महिन्द्र मल्लको दैनिकीमा प्रत्येक बिहान जनताको धुरीमा नियाल्दा धुवाँ नदेखेसम्म आफू खाना नखाने जस्तो प्रजाप्रेमी स्वभाव रहेछ । त्यस्तै स्वभाव कमबेसी नन्दलाल पोखरेलमा पनि रहेछ । गरीबगुरबाका प्राणदातामा उहाँको नाम अग्रपङ्क्तिमा थियो । उदयपुर जिल्लाका गाउँबाहेक सुनकोशी पश्चिम दूधकोशी पूर्वका डिकुवा, दाम्ली, कुर्ले, झापा, भुम्जु, बाहुनीडाँडा, कदुवा, बयाक्ता र च्यास्मिटार समेतका गाउँमा उहाँको रट्ठापट्ठा लहनतहन तिरोभरो थियो । ती गाउँहरूमा उहाँका घरैपिच्छे भैँसी, राँगा, गाई, गोरु, खसी, बोका थिए । किराँती बस्तीका गाउँमा त च्वाँचे पनि पाल्न दिनुभएको रहेछ । आसामीका घरमा भएका आफ्ना चौपायाको लेखाजोखा थिएन उहाँसँग । आस गर्नेलाई अभर नपार्नु भन्ने उहाँको सिद्धान्त थियो । हातमा नगद नहुनेको गर्जो टार्ने साहुमा पर्नुहुन्थ्यो उहाँ । त्यसताक ूछोराछोरी नहुनेले हलेसी जानू, बस्तुभाउ नहुनेले थामखर्क जानू ।ू भन्ने कथन नै बनेको थियो ।

एक पटकको सत्य घटना हो, देवीबहादुरका साहिँला छोरा दौलथबहादुर कार्कीले नन्दलाललाई भैँसीको पैसा नतिर्दा मनमुटाव भएछ । किराँती गोठको भैँसी । राईले पाथी देखेको रहेनछ । ूतपाईँका भैँसीको साँझ बिहान दुई पाथी दूध छ है बाजे । भनेछ गोबिटारको राईले । दुई पाथी दूधको आधारमा भैँसीको मोलतोल भएको रहेछ । दुई पाथी दूध दिने भैंसी किनेको । त्यति दूध दिएनछ भैँसीले । दौलथबहादुरलाई रिस उठेर "नन्दे जालीू" भन्नुभएछ । त्यो कुराको जानकारी नन्दलालसम्म पुगेछ । त्यो भैंसी देख्नु भएको रहेनछ नन्दलालले । दौलथबहादुरलाई ढाँटेको जस्तो भयो । राईका लहैलहैमा पर्दा धुम्मे रिसायो र पगरी लाइदियो । भनी पछुतो मान्नु परेछ नन्दलाल पोखरेलले । 

नन्दलाल पोखरेलको गाईको दूध मैले पनि खाएको छु । २०३० र ३१ सालको कुरा होला । एउटा झालीमाली ठूलो दारको तीखासिंगे लैनू गाई कदुवा घरमा पठाइदिनुभएको थियो । गाईको नाम आरसी थियो । गौमाता र तिनका बाच्छाबाच्छीको केही समय गोठालो बन्नु परेको अनुभव छ यो पङ्क्तिकारसँग । गाईको बाँकी रहेको मोल सखरबाट पनि चुक्ता भएथ्यो ।

मैले नन्दलाल पोखरेललाई एक पटक ढोगेको छु । २०४३ सालतिरको कुरा हो । कदुवाबाट कटारी आउँदा भुत्याहा खोला ओरालो हुँदै तुइमुघाट तर्ने बाटो हिँड्नु पर्‍यो । राईघाटको पुलका मुख नजिकै बाटामुनि भुम्जुका गजबहादुर अधिकारी खत्रीको खेत रहेछ । अधिकारी बूढा खेतबाट उँभो फर्केर कपाल–दाह्री सेतै फुलेका, काठेलौरो टेकेका, कपडाका जुत्ता, कमिज सुरुवाल, माकल टोपी पैरनधारी बूढासँग नन्दलाल पोखरेल ठट्टयौली शैलीमा गफ गर्दै रहेछन् । मैले स्थानीय घाँसीसँग सोधेँ, यी दुई जना बोलिरहेका बूढाहरू को को हुन्, दाइ ? घाँसीले ठाडो जवाफ दिए, उँधो फर्केका नन्दलाल, खेतमा हुने गजबहादुर ।‘’ मैले नन्दलालका पाउ समाई ढोगेँ । को हौ तिमी ? किन ढोग्यौ ? भन्नुभयो । पिताका नामले आफ्नो परिचय दिएँ । मलाई नातो लाउन आएन । सेतै फूलेको बूढो देखेँ, हजुरबा भनेँ । पछि थाहा भयो, मेरो त्यो सम्बोधन एक हिसाबले मिलेकै रहेछ । उहासँगको यो भेट नै प्रथम र अन्तिम भयो मेरा लागि । 

जीवनमा जतिसुकै ठूला समस्या आइपरेपनि सहजै समाधान गर्ने, विचलित नहुने क्षमता रहेछ नन्दलाल पोखरेलमा । रसिक स्वभावका धनी पोखरेललाई ख्यालठट्टा खुब आँउदो रहेछ । २०४१ सालको उघाहामा घारीखोलाले यारीखोलालाई निकै बेर थुन्यो । अनि उर्लेको यारीखोलाले दोभानका पकलेबेँसीका सबै टारी खेतलाई सोहोरसाहार पार्‍यो। नन्दलाल पोखरेल, कुवेरनाथ पोखरेल, कमलबहादुर अधिकारी र गजबहादुर अधिकारीको एक चपरी खेत बाँकी रहेन । कमलबहादुर ९कोबे० र गजबहादुरले नन्दलालसँग गहभरी आँसु पार्दै कसम खानुभएछ, ूआजदेखि बाँचुञ्जेल धानको भात खानु नपरोस् १ू नन्दलालले मुसुमुसु हाँस्दै ठट्टा गर्नुभएछ । "खेत धेर थियो धानको भात खायौँ, खेत बगायो, अबदेखि चामलको भात खान पाउँछौं ।"

हँस्सीमज्जामा रमाउने नन्दलाल पोखरेलले जस्तालाई त्यस्तै ढिडोलाई निस्तै को उखान टुक्कासँग मेलखाने प्रहसन रच्नु भएछ । उहाँको आफ्नै घरको हली बिहे गर्न नपाउँदा रिसाएछ । बिहे नगरिदिए हलो जोत्न छोड्ने धम्की दिएछ । उहाँले हलीलाई खुसी पार्ने उपाय रच्नु भएछ । त्यो हली घरजम गरिखाने खालको नलागेर त्यसको बिहेके झन्झट गर्न उहाँले चासो नलिनुभएको रहेछ । केही दिनपछि त्यो हलीलाई ूकेटी खोजिदिएको छु, गहनापात लिएर केटी लिन राति तँ मात्रै आउनु,ू भनिदिएको रहेछ । स्वास्नी पाउने खुसीले हलीले खोजिमेली गरेर गरगहना र कपडा ल्याएछ । लत्ताकपडा गरगहनाले झरझुट्ट सिँगारिएकी मैतालु जिम्मा लिई खुसी हुँदै मध्यराति हली रूपाटारको बाटो लागेछ । बेहुलीले सुची बस्छु भनिछ । खोल्सीमा पसेकी बेहुली त्यहीँबाट कुलेलम ठोकिछ । बेहुली हराई भनेर हस्याँङफस्याँङ गर्दै थामखर्क पुगेछ हली । आफू अनभिज्ञ भएको देखाउँदै हलीलाई झन् त्रासमा पार्दै भन्नुभएछ, गरगहना त त्यस्तै हो केटा, मान्छेको ज्यानचाहिँ हराउला  हलीलाई ुचोक्टा खान गएकी बूढी झोलमा डुबेर मरीु समान पार्नुभएछ । भोलिपल्टको बिहान गए रातिका आभूषणमा आएकी मारुनीले हलीलाई नमस्कार गर्दै घुम्टो उघारी गुन्युचोली खोलेको देखेर हली तिनछक्क परेछ । त्यसपछिका दिनमा त्यो हलीको विवाह गर्ने चाहना मरेछ । नन्दलालले पनि त्यसको गुनासो सुन्नु परेनछ ।

नन्दलाल पोखरेल निडर, हक्की, उच्च आत्मबल भएका र समयलाई चिनेको व्यक्तित्व हुनुहुँदो रहेछ । उहाँको खोलेखर्कका नैनध्वज सिंह ठकुरीसँग पनि टक्कर पर्दो रहेछ । नैनध्वज ठकुरीका माहिला छोरा विष्णुबहादुरको राजा महेन्द्रका ज्वाइँ खड्गविक्रम शाहकी दिदीसँग विवाह भएको रहेछ । कान्छा छेराको पनि राजा महेन्द्रकी कान्छी छोरी शोभा शाहीसँग नाता पर्थ्यो । राणा खलक र दरबारियासँग नैनध्वज सिंह ठकुरीले नाता जोडेका थिए । उनी धनी र बाठा पनि थिए । कानूनमा पनि राम्रो दक्खल राख्थे । उनीजस्ता पराक्रमीसँग धेरै वटा मुद्दा लडेर उहाँले आफ्नो सामाजिक प्रतिष्ठा उच्च तुल्याउनुभएको थियो । ठूलै ठालुसँग लडाईँ लड्ने नन्दलालको हिम्मतको आधारचाहिँ स्थानीय जनताको सद्भाव जित्नु नै थियो । तिनै मुद्दा गर्न खप्पिस नैनध्वज सिंह ठकुरी र लेखगाउँ धपिनीवासी नन्दलाल पोखरेल वादी प्रतिवादी भई उदयपुर जिल्ला अदालतमा चलेका मुद्दा त कति थिए कति १ दुवैको नाउँ र थर मिल्थ्यो । धपिनीका नन्दलाल थामखर्के नन्दलालका नजिकका दाजु पर्थे । उमेरमा पनि निकै जेठा थिए । 

नन्दलाल पोखरेलका पिता राणाकालीन समयमा पनि पढेलेखेका शिक्षित व्यक्ति हुनुहुँदो रहेछ । शिक्षित पिता कुलप्रसाद रैटरका छोरा नन्दलाललाई त्यसबेलाको नेपाल अहिलेको काठमाडौंमा लेखपढ गर्ने अवसर मिलेछ । राणाकालीन समयको उच्च शिक्षा चार पास कानूनी शिक्षा हासिल गर्नुभएको शिक्षित व्यक्तिमा गनिनु हुँदो रहेछ नन्दलाल पोखरेल । उहाँलाई सामाजिक व्यवहारमा प्रयोगमा आउने कानूनको पनि राम्रो जानकारी थियो । फिराद–पत्र, प्रतिउत्तर–पत्र, पुनरावेदन–पत्र र बिन्तीपत्र लेख्न पनि निपुण हुनुहुन्थ्यो । कानून व्यवसाय मर्यादित पेशा हो भन्ने जान्नुभएका नन्दलाल पोखरेलले छोराहरू सीता पोखरेल, मचिन्द्र पोखरेल र नीलकण्ठ पोखरेललाई कानूनविद् बनाउनुभयो । कानूनविद् गोविन्द राउत र उहाँका छोरा मातृका पोखरेलको मित पनि लगाई दिनुभएछ । 

नन्दलाल पोखरेल आफ्ना समयकालको ख्यातिप्राप्त ज्योतिषी हुनुहुँदो रहेछ । भारतको बनारसमा ज्योतिष शास्त्र पढेका पोखरेलसँग कदुवाका ज्योतिषी मेषबहादुर कार्की र खोक्सेलीका नामूद ज्योतिषी भक्तिविलाश उपायायका बीचमा धुलो कोरी–कोरी भूत, वर्तमान र भविष्यका विषयमा सवालजवाफ हुन्थ्यो । ज्योतिषमा गणितको ज्ञान हुन जरुरी हुन्छ । नन्दलालले बनारसमा ज्योतिष शास्त्र पढ्दा अंकगणितको गहिरो ज्ञान हासिल गर्नुभएको रहेछ । मैले अग्रजहरुबाट सुनेअनुसार, उहाँ कक्षा दससम्म पढाइ हुने अंकगणितका सबै खालका समस्या हल गर्ने सामर्थ्य राख्नुहुन्थ्यो । कस्तो प्रतिभा १ 

रूपाटारको छिमेकी गाउँ मादलेका कटकबहादुर खड्काको चिना मिलेको रहेछ । नन्दलाल पोखरेललाई त्यो चिना देखाएछन् । ूतिम्रो चिनामा यो सालको यस महिनाको यति गते ठूलो खड्गो छ, होस् गरेस् है १ू भनी नन्दलालले टिपोट टिपेर दिनु भएछ । दैवसंयोग टिपोटमा लेखेके समयमा नै कटकबहादुर खड्का बित्नुभएछ जन्म, मृत्यु देख्न सक्ने विलक्षण क्षमता भएका नन्दलाल पोखरेललाई थाहा पाउनेले त्रिकालदर्शी यमराजु भन्थे । कदुवाली कार्कीहरू नन्दलाल पोखरेललाई ज्योतिष बा पनि भनिी सम्बोधन गर्थे । 

थामडाँडा र थामखर्क मितडाँडा हुन् । कदुवा गाउँको थाप्लो थामडाँडा र जतनपुरको थामखर्कको उचाइ बराबर छ । भुम्जुडाँडा हरायो भने थामडाँडाबाट थामखर्क नजिकै देखिनेछ । कदुवाका जहरसिंह कार्कीका पनाति द्वारे हरिमानका छोरा दुर्गबहादुर कार्कीसँग थामखर्कका जतनपुरे रैटर कुलप्रसाद पोखरेलका छोरा नन्दलाल पोखरेलले बाँहाजोडी मित लगाउनु भएको रहेछ । त्यस नाताले नन्दलाल पोखरेलसँग कदुवाली सबैको मितेरी साइनो छ । 

नन्दलाल पोखरेलले कसैको पनि कुभलो गरेको सुनिएन । गम्भीर साहित्य प्रतिष्ठान उदयपुरले प्रकाशन गरेको गम्भीर बहादुर थापाका कृति कविताको एक हरफमा कदुवाका देवीबहादुर कार्कीले नन्दलाल पोखरेललाई लगाएको दोष जस्तै असत्य दोषारोपण लगाएको वाक्यांश परेको रहेछ । नन्दलाल पोखरेल यस लोकमा रहुनुभएको भए देवीबहादुर कार्कीलाई दिए जस्तै जवाफ गम्भीर साहित्य प्रतिष्ठानमा पेश गर्नु हुन्थ्यो होला 

नन्दलाल पोखरेलले व्यवहारमा हारेको सुनिँदैनथ्यो । माओवादी जनयुद्दमा लगेको दाबी गर्ने केही उच्छृङ्खल युवाहरूले नन्दलाल पोखरेललाई पनि छोडेनछन् । आफ्ना सामुन्नेमा पुराना कागजपत्र च्यातचुत पार्दै धनसम्पत्ति लुटेर लैजाँदा टुलुटुलु हेरिरहनु भएछ । तीन पिँढी राजा श्री ५ हरू, तीन जना श्री ३ राणा प्रधानमन्त्रीको हालहुकुम र तकझक देखेका, पञ्चायती व्यवस्था एवं बहुदलीय शासन व्यवस्था प्रत्यक्ष देखेभोगेका अग्राख नन्दलालले कहिले कोहीसँग हार्नु परेको थिएन । जीवनको अन्तिम घडीमा आफैंले दूध पिलाएका बबुराबाट गृहबन्दी हुनुपर्दा पनि आत्मसमर्पण गर्नुभएनछ । बरु ूसमय बलवान् हुन्छ, भाइ हो । भनेर आफ्ना वरिपरि बस्नेहरुलाई सान्त्वना दिनुभएछ ।

समयले डिल्लीप्रसाद दाहाल, नन्दलाल पोखरेल र श्रीमती सीता पोखरेलको भौतिक शरीरलाई छोडेन । कदुवा र खोक्सेली गाउँलाई भने केही गरेन । मितडाँडाहरू थामखर्क र थामडाँडा उही ठाउँमा उस्तै अवस्थामा छन् । नातो–साइनो मेटिएको छैन । स्वर्गवासी मान्यवरलाई हार्दिक श्रद्धाञ्जली !


No comments:

Post a Comment