त्यसबेलाको थामखर्कमा खानेपानीको सम्झना ।
Sunday, January 21, 2024
सम्झनामा कान्दाइ - भक्तबहादुर ठकुरी
रूपाटार गाविस -७, उदयपुरका ९३ वर्षीय भक्तबहादुर ठकुरीसँग
२०७३ साल असोज २८ गते गरिएको कुराकानी
Thursday, October 19, 2023
सम्झनामा थामखर्के कान्छा बा - मोहनबहादुर बुढाथोकी
![]() |
| मोहनबहादुर बुढाथोकी |
Wednesday, September 27, 2023
मेरो दृष्टिमा नन्दलाल पोखरेल - इश्वर बस्नेत
जिल्ला उदयपुर साविक ठानागाउँ गा.वि.स. वडा नं. ४, हालको ताप्ली गा.पा. ४,थामखर्क स्थायी निवासी, वि.स.१९७० साल असार महिनामा जन्मनुभएका स्वर्गीय नन्दलाल पोखरेलको स्मृतिको अवसरमा वहाँको व्यवहारिक पक्ष, बौद्धिक पक्ष,सामाजिक पक्षमा केही कुराहरु उठान गर्न मन लाग्यो ।
समाजमा रहेका सवै आर्थिक स्तरका मानिसहरुसँग समानरुपले व्यवहार गर्ने बानी असाध्यै व्यवहारिक पक्ष थियो । राणाकालिन निरकुंस शासन व्यवस्थामा पनि ज्योतिषशास्त्रमा ४ पासा उतीर्ण गरेको कुरा मैले जानकारी पाएको थिएँ । त्यो समयमा ४ पासा उतीर्ण गर्नु चान्के चुन्के कुरा थिएन । तर नेपालको पूर्वी पहाडी ग्रामिण क्षेत्रमा ४ पासा पास गर्नु आफैंमा,समाज र राष्ट्रको लागि अत्यन्तै महत्वपूर्ण व्यक्तित्व मानिन्छ ।
ज्योतिषशात्रमा नेपाल र बनारसमा अध्ययन गर्नु भएका शिक्षित र हुनेखाने परिवारका स्वर्गीय नन्दलाल पोखरेल तिक्ष्ण दिमागी व्यक्तिन्व, सामाजिक तथा समुदायिक अगुवा, कानूनी विज्ञ, चिनासुतिका, जन्म कुण्डली, विवाहब्रतबन्ध, पुराणजस्ता ज्योतिषसम्वन्धी सम्पूर्ण कार्य निपूर्णता पूर्वक कार्य सम्पादन गर्न सक्ने सक्षम कला र ज्ञान भएका सामाजिक अभियान्ताको आज जति कुरा गर्दा पनि अपुरो र अधुरो नै हुन्छ ।
तीन चार गा.वि.स.(ठानागाँउ,रुपाटार, बारा, बुत्कु र ताम्लिसा.)का अगुवा,जनताका लोकप्रिय समाज सेवी,सहयोगी,चतुर,सहजीकरण गर्न सक्ने योग्य व्यक्तित्व स्वर्गीय नन्दलाल पोखरेल त्यस क्षेत्रको चम्किलो ताराको रुपमा स्थापित हुनुहुन्थ्यो । सामाजिक कार्यलाई आफ्नो व्यक्तिगत स्वार्थ त्यागी सामाजिक सेवामा अहोरात खट्ने स्वर्गीय नन्दलाल पोखरेल विक्रम सम्वत २०६६ असार २४ गते ९६ वर्षमा यस पृथवीबाट सदाको निम्ति अस्ताउनु भयो । नाताले मेरो ठुलो बुबा स्वर्गीय नन्दलाल पोखरेलको सामाजलाई गर्नु भएको योगदानको उच्च मूल्याङ्न तथा सम्झना रही रहेको छ ।
000
Sunday, May 21, 2023
नन्दलाल पोखरेल : मैले सुने जानेका कुरा - मदन दाहाल
![]() |
| मदन दाहाल |
जन्म विसं २०७०।०३।०४
मृत्यु ः २०६६।०३।२७
ठेगाना ः जिल्ला उदयपुर साविक ठाना गाउँ, थाम्खर्क
उहाँका बारेमा सुनेका केहि कुरा
१५, १६ वर्षको उमेरमा आफ्नो गाउँबाट खोटाङ्गको खोक्सेनिमा ज्योतिष पढ्न भनि ज्योतिषि इन्द्रलाल दाहालको घरमा बसि अध्ययन गर्नु हुन्थ्यो अरे अध्ययनको क्रममा ज्योतिष सिकाउने बाजे जता बस्यो त्यतै उनि सँगै जानुपर्ने भएकोले खोक्सेनि बेशीमा बाजेको खेत भएको हुनाले ज्योतिष बाजे सँगै वेशीमा बस्नु भएछ । त्यहि क्रममा म लेखेको बुवा डिल्ली प्रसाद दाहाल तथा नन्द लालको ससुरा २, ३ वर्ष उमेर थियो अरे, र खोक्सेनि गाउँ बेशी गर्दा नन्द लाल मेरो जेठो भिनाजुले मेरो बुवालाई काधमा बोकेर गाउँ बेशी गराउनु हुन्थ्यो रे ।
भिनाजु नन्द लाल भन्दा मेरो बुबा भिनाजुको ससुरा १२ वर्ष कान्छो, अर्थात ससुरा भन्दा ज्वाई १२ वषै जेठो पछि त्यहिकाँधमा बोकेको मान्छेको छोरी विवाह गर्न खोक्सेनि पुग्नु भएछ । मेरो हजुरबुवा धर्मध्वज (दिजयराज) दाहालसँग नातिनि दिनु परो मलाई भनेर प्रस्ताव राख्नु भएछ हजुरबाले झण्डै म हजुर बाउसँगको मान्छेलाई म नातिनि कसरि दिउँ दिन्न भन्नु भएछ र नन्द लालले तत्कालिन गृह मन्त्रि डिल्ली सेर राई लाई मलाई फलानाले नातिनि छोरी दिएन गुहार दिनु परो भनि पत्र र १ जना मानिस पठाउनु भएछ, डिल्ली सेर मन्त्रिले ५, ७ जना मानिस पठाई नन्द लाल पोखरेललाई नातिनि छोरी दिनु, नभए लुटि विवाह गराई दिन्छु भनि धम्कीको पत्र लेखि पठाए पछि नातिनिको विवाह गरिदिनु भएछ अरे ! (पंचायति शासन) अहिले मातेका पोखरेल लगायत ७ भाई छोरा र ५ बहिनि छोरी सोभा लगायत १२ जना जिवित हुनुहुन्छ तिनजना खेर अथवा स्वर्गवास हुनुभएछ ।
भिनाजु नन्द लाल पोखरेलले भनेका र मैले सुनेका पढाईको क्रममा खोक्सेनि वेशीमा बस्दा दाउराको आगो बालेर धुलौटे पाटीमा र हरियो पातको मशी बनाएर बाँसको कलम बनाएर बाँसको पट्यासमा लेख्नु हुन्थ्यो अरे त्यसरि आफुले पढेर सयौ मानिसलाई ज्योतिष पढाएर रोजगार गराई दिनु भएको छ । ज्योतिष बाजेको गोठ अलि एकान्तमा थियो–अरु दाहालहरुको गोठ एकै ठाउँमा डुडे भन्ने ठाउँमा थियो, नन्द लालको गुरु इन्द्रलाल एक दिन उहाँलाई गोठमा छोडेर गाउँ गएछन गोठमा भैँसि गाई बाख्रा सबै जिम्मा राति म आउदिन गोठमै सुत्नु बाख्रा स्याल बाघले खान्छ भनेर जिम्मा लगाएछन् । बेलुका घाँस सबै बस्तुतलाई दिनु भएछ, बिहानलाई घाँस राख्नु भएछ र, खाना खाएर एक्लै सुत्नु भएछ, सुनसान ठाउँ १, २ किलो मिटर पारी पर अरु गोठहरु कराएर बोलाउँदा मात्रै अरुले सुन्ने र त्यस्तो ठाँमा राति निदाएको बेलामा बिहान दिन भनि राखेको घाँस खाएको आबाज आएछ, उठेर हेर्दा त आफ्ना भैँसि बाँधेकै ठाउँमा छन् कस्को भैँसि यहाँसम्म आएर घाँस खाएछ भनि लाठिले कुट्दै खेदाउनु भएछ खेदाउदै जाँदा भैँसि भिर बाट कोशीमा खसेछ लडेर पानिमा झ्याम्म आवाज आएछ, ला कस्को भैँसि म¥यो भोली मलाई तिराउँछन् भनि चिन्ता गर्दै आफ्नो ओछ्यानमा सुत्नु भएछ, विहान कस्ले भैँसि हरायो भन्लान भन्दा २, ३ दिन कसैलाई नभनि बस्नु भएछ, २, ४ दिन कसैले खोजि नगरे पछि गोठालाहरुलाई भन्नु भएछ गोठालाहरुले र ज्योतिषि बाजेले भनेछन, भुत हो कसो तलाई खाएन भनेर डर देखाएछन् । त्यस दिन देखि एक्लै गोठमा बसिन भन्नु हुन्थ्यो ।
मैले उहाँलाई देखि रहँदा उहाँसँग एउटा मुलुकि ऐन भन्ने ठुलो किताब थियो कसैसँग मुद्धा मामिला गर्दा त्यहि किताब हेरेर बादि प्रतिवादी आफै लेख्नु हुन्थ्यो । निडर स्वभाव थियो घरमा गएका सबैलाई र सबै घर परिवारले खाना नखाई आफु खाना खानु हुन्थेन, एउटा चिया दानिमा अगेनोमा पानि ताति रहन्थ्यो पटक पटक त्यहि तातो पानि खाई रहनु हुन्थ्यो, वाचुन्जेल सयौैँ मान्छेको मुद्धा र आफ्नो मुद्धा कहिले हार्नु भएन । एकपल्ट एक जना निकै मै हुँ भन्ने ठकुरीसँग खेतमा सामान्य झगडा भएछ, २, ४ जना केटाहरुलाई लगाएर कुटपिट गराई घाइते बनाई दिएछन ठकुरी बाबु साहेबले नन्द लाल उपर अदालतमा मुद्धा दिएछन जुनदिन कुटपिट भयो भनेर मुद्धा दिए त्यो दिन पारेर खोटाङ्गको च्यास्मी टार गाउँ पन्चायतका प्रधानपँचलाई बैठक बस्न लगाई मिति पहिले को बनाई आफु अतिथि बनि खोक्सेनि मा.वि.का हेड मास्टर कृष्ण प्रसाद दाहाल र सालो लिला विष्णु दाहाललाई स्कुलको बारेमा प्रस्ताव र निर्णय बनाई उनिहरुको नाम समावेश गरि साक्षी बनाई प्रतिवादी दिनु भएर मुद्धा आफ्नो पक्षमा बनाउनु भएको म पनि थाहा पाएछु ।
अर्को कुरा उहाँ उदार बाद पनि हुनुहुन्थ्यो गरिबहरुको खुब ख्याल गर्नु हुन्थ्यो घरमा माग्न आएका मानिसहरुलाई खाना नख्वाई र केहि नदिई खालि हात कोहि पनि फर्कर्नु पर्दैन थियो, उहाँसँग धन सम्पति धेरै थियो, र उहाँलाई कान्छा मुखिया भनेर उदयपुर जिल्ला भनि चिनिन्थ्यो, धान मकै धेरै हुने ठाउँ ठाउँमा मकैका थाङ्ग्रा र धानका ढिकुटी धेरै ठाउँमा कान्छा मुखियाको भन्थे जुन भेगमा अनिकाल लाग्छ त्यस भेगका मान्छेहरुलाई धान र मकैहरु बढि दिनु हुन्थ्यो पछी, उनिहरुले नै उठाएर फेरी मकैको थाङ्ग्रो राखि दिन्थे, धान भने चाडबाडको बेलामा मात्र खोलेर वितरण हुन्थ्यो, हाम्रो २, ३ गाउँका मानिसहरु दशैँमा यस दिन पारि वेशीमा कान्छा मुखियाको भकारि खुल्ने अरे भनि धान लिन गएर लिएर आउँथे र दशैँ मान्थे धेरै ठाउँमा उहाँको लगानी थियो, उहाँको नामले हामि पनि धेरै ठाउँमा तराई काठमाडौँ हिड्दा बाटोमा याँ याँ पुगियो भने फलानो फलानो कोमा बास बस्नु भन्नु हुन्थ्यो हामी पनि सहजै बास बस्ने र यजमान खाने गर्थियौँ, पछि २ पटक डाका लाग्यो धेरै सुन चाँदी धनमाल लगी दियो अझै धेरै ठाउँमा उहाँको परिवारको नाउँमा जग्गा जमिन छ ।
म दिदिको घर आउँदा सुनकोशी डुङ्गाबाट तर्नुपथ्र्यो बुवाले ५० पैसा डुङ्गा तर्न भनेर दिनु हुन्थ्यो, तुइनु भन्ने ठाउँबाट डुङ्गा तर्नु पथ्र्यो त्यहाँ एक जना नाउँ तार्ने फुलिका बाउ भन्ने राई थिए उनि घाटमा पैसा उठाउँथे र घाट तर्ने अरु केटाहरु थिए म पहिलो पटक दिदिको घरमा टिका लगाउन तिहारमा जाने क्रममा त्यहिबाट सुनकोशीको घाट तुइमू भन्ने ठाउँमा पुगेर तिनै फुलिको बाउ लगाएतका मानिसहरु रहेछन फुलीको बाउले ठुलो स्वरले मलाई ५० पैसा लेउ केटा भनेर मागे म डराउदै गाजिको ५० पैसा (एकमोहोर) झिकेर उनको हातमा थमाई दिएँ उनले फेरिसाधे भाताजाने घाट तरेर भागेर कतै हिडेको त होइन भनेर ठुलो स्वरमा भने, मैले सानो सोरमा म भागेको होइन थाम खर्क दिदि भिनाजु कोमा भाईटिका लगाउन हिडेको भने कोहो तिम्रो दिदि भिनाजु भनेर फेरी सोधेँ थामखर्क भनेपछि तिनको अलि सानो स्वर भयो भयो मैले उत्तर दिएँ विस्तारै नन्द लाल पोखरेलको घरमा भनेपछि मलाई यहाँ बस भनेर खाजा खुवाएर मलाई उल्टै १ रुपैयाँ दिएर तिम्रो भिनाजु लाई पैसा लियो घाटमा नभन्नु है बाबु भनेर सानो स्वरमा फकाएर पारि पु¥याई दिए । पछि नन्द लाल पोखरेल कै पहलमा तत्कालिन जिल्ला पञ्चायत उदयपुर बाट त्यस ठाउँमा पुलको र त्यस पुलको ठेक्का उठाउने जिम्मा नन्द लाल र धनहरि राईको जिम्मा मा रहेछ र पछि तिनै पैला डुङ्गा चलाएर जिवन यापन गर्ने मानिसहरुलाई नै ठेक्का उठाउन दिनुभयो ।
अर्को रोचक कुरा २०३४ साल तिर म खोक्सेनिबाट दिदिको घर अथवा भिनाजु नन्द लाल पोखरेलको घर जाने क्रममा जतनपुरको जंगलमा घाँस काट्ने १ जना महिलाको स्वर गुन्जीयो, गीतको लय र भाकामा जेठा चै थामखर्के जग्गा जिविन धनि
माइला गातैमा परे (गालडाडाको बारीमा अंश)
साइला चै थामखर्के
सुनचाँदि धनि
कान्छा जगतकै मणी
भनेको गीत मेरो कानमा गुन्जीयो, म पनि गीत अलिअलि गुनगुन गुनाउथेँ त्यसैले होला त्यो गीत मैले आउँदो पारिहाले, बेलुका आमखर्क पुगीयो खाना खाएर सत्तलमा लहरै भान्जा मातृका पोखरेल भान्जी सोभाहरुसँग सुत्ने क्रममा दिउँसो बाटामा ति महिलाले गाएको गीत सम्झदा मैले गाएछु, दिदिले सुनि राख्नु भएको रहेछ र म छेउमा आएर सोध्नु भयो, भाई ९९९ यो गीत तलाई कसले सिकाइ दियो ९९९
मैले उत्तर दिएँ बाटोमा सुनेको ।
किन दिदि मैले प्रश्न गरे दिदिले उत्तर दिनु भयो तेरै भिनाजूहरुको गीत बनाएका हुन भन्नुभयो मैले प्रश्न गरेँ कसरी भिनाजुहरुको गीत भयो
दिदिले भन्नु भयो सुन तेरा भिनाजु का दाजु भाई ४ भाई जेठा थामखर्केमा बसे जग्गा जिबिन धेरै जोडे जग्गा जमिनका धनि भने, माइला गालडाडा भन्ने ठाउँमा अंश लिएर बसे, गालैमा परे भने .................
साइलाले थाम खर्केमा बसे र सुन चाँदी जोडे र सुन चाँदी धनि भने .....................
कान्छा तेरा भिनाजू धेरै मानिसले चिन्ने सबैको भलो चिताउने भएर नाम कमाउनु भएको हुनाले जगत कै मणि ...........................
भनेका हुन भन्नु भयो अनि मैले बास्तविक अर्थ बुझेँ र त्यो गीत त्यस ठाउँको कसैले कुरा गर्दा मलाई सम्झना आउँछ ।
अझै पनि म गाउँछु ।
अर्को याद–मेरो हजुर बुवा तथा नन्द लाल मेरो भिनाजुको बुढाससुरा धर्मध्वज दिजयराजले उहाँ भिनाजुहरुकै खेत भएको ठाउँमा डिहि भन्ने खेत बेच्ने भएछ र मेरो हजुर बुवाले किन्न भन्नु भएछ मेरो हजुरबुवा जजमान गर्नु हु¥यो, त्यो खेतको दाम १२ सय रुपैयाँ भएछ हजुरबुवाले पैलाका डब्वु जोरविरे भन्थे त्यो पैसा लिएर खेत किन्न जानु भएछ र थैली बुझाउने दिन ८, १० जना मान्छे जम्मा भएछन् २ जना पैसा गन्न अघि सरेछन् बुढाससुरा ज्वाई ठट्टा गर्नुहुन्थ्यो गन्ने मानिसलाई भिनाजुले ठट्टा गर्दै भन्नु भएछ ए भाईहो राम्ररी पैसा गनिदिनु है सारै दुख गरेर टपरा टक टक्याएर, थुकले टिपेर कमाएको पैसा हो भन्नु भएछ, मेरो हजुरबुवा ठट्टा गर्न केकम भनिहाल्नु भएछ । हो है हो राम्रो सँग गन पैसा मैले दमाईको छोरालाई बेहुली बनाएर जोडेको सम्पति हैन,
कुरो के रहेछ भने एउटा क्षेत्री थरका मान्छे मेरो भिनाजु नन्दलाल सँग छोरालाई धनिकि छोरी राम्री केटी विवाहको लागि खोजी (मागि) दिनु परो भनेर भनेछन् भिनाजुले केटा कति पढेको छ के काम गर्छ भनेर सोध्नु भएछ केटाको बाउले जवाफ दिएछन् ए पोखरेल तँ मलाई के ठानेको तिम्रो भन्दा धेरै सुन चाँदी छ धेरै खेत छ धेरै बारी छ मेरो छोराले किन पढ्नु परो जागीर किन खानु परो भनेर धमकाएछन्, सम्पतिको फुर्ति लगाएछन् नन्दलाल भिनाजुले हुन्छ म केटी बन्दबस्त गरेर खबर गरौला भन्नु भएछ २, ४ दिनमा पर एउटा गाउँमा राम्री केटि देखाएर कुरा मिलाई विवाहको टुङ्गो लगाई दिनु भएछ र केटाको बाबुलाई भन्नु भएछ सुन चाँदिका गहना धेरै ल्याउनु भन्नु भएछ विवाहमा एउटा दमाईको छोरालाई बेहुलि बनाएर विवाह गराई दिनु भएछ विवाह खर्च आफैले व्यवस्था गर्नु भएछ र विवाह भएछ बिहान बेहुलि लिएर गएछन् धेरै टाढा ठूलो जङ्गलमा पुगेर बेहुलिले दिसा लागो भनेर जंगल पसेछ, जन्ती बेहुलि आउली आउली भनेर कुरेर बसेछन् यता बेहुलि दमाई भिनाजुको घरमा आएर गहना लुगा जिम्मा दिएर घर गएछ, जन्ती बेहुलि खोज्न जंगलमा छाप छाप पसेछन दिन भरि बेहुली नभेटेपछी बेलुका रुँदै बेहुलाको बाउ बेहुला समेत रुँदै भिनाजुको घर पुगेछन् के गर्नु बेहुलि हराई दिन भरि जंगल खोजि गरी ऊ फेलापरिनन् अब के गर्नु भन्दै रुन थालेछन्, भिनाजुले भन्नु भएछ अब मुलुकि ऐनको यति दफाले अब ज्यान मारामा पर्नु हुन्छ भनेर भन्दिनु भएछ त्यस दिन भिनाजु कै घरमा बसेछन् खाना पिना गरेर सुते पछि पनि छटपटाएर रुँदै अब के गर्नु हामिलाई बचाई दिनु भनेर भनेपछि सबै बिहान छलफल गरौँला भन्नु भएछ बिहान उठेपछि विवाहको खर्च हिसाब गरी आफ्नो लागेको खर्च लिएर सबै गर गहना जिम्मा लगाई दिनु भएछ र भन्नु भएछ धन सम्पति को धाक कहिले नलगाउनु भनेर सम्झाएर फेरी अर्को केटीसँग विवाह गराई दिनु भएछ । त्यहि कुरालाई लिएर बुढा ससुराले ठट्टा ठट्टामा कुरा चलेको रहेछ । सुनेको मात्र हो
।
कविता
खोटाङ्ग जिल्ला वङहरे खोक्सेलिहो गाउँ ।
भक्तपुर मा बस्छु अचेल मदन दाहाल नाउँ ।
बुवा हाम्रो डिल्ली प्रसाद आमा विष्णु भइन ।
ति भाइ छोरा दुई बैनी छोरी जन्माई दिइन् ।
जेठि दिदि सिता भन्छन् माईली दिदि राधा ।
सबैजना खुशी थिए थिएन केही बाधा ।
महामारी कोरोनाले माइलो भेना खायो ।
हामि सबै आफन्तमा रुवाबासी छायो ।
जेठो भेना पैले गए दिदि हालै साल ।
कान्छी दिदि हुनु हुन्छ भयो बेहाल ।
धन सम्पति सबै सँग काठमाडौँ सबको घर ।
दुई बाट एक हुँदा कस्को मान्ने भर ।
कान्छी दिदि दुई भान्जा, पुस्कर र प्रकाश ।
चार भान्जी सम्पन्न छन् काठमाडौँ मै भकाअंश ।
जेठि भान्जी मैया भन्छौ माइलि भइन उसा ।
साइलि लाई निशा भन्छौ कान्छी भइन रोषा ।
जेठि दिदि नन्दलालकी कान्छी श्रीमति ।
छोरा छोरी १३ जना जन्माई दिईन अति ।
जेठा छोरा मात्रीमा हुन देशकै पाज्ञ भए ।
माइला भए मचीन्द्र चै ओकिल तिर गय ।
साईला भन्छौ टिका अनि काइलो पर्शुराम ।
व्यापार र समाज सेवा इनि दुईको काम ।
ठाइला भए पशुपति टाठा बाठा छन् ।
ठुला कान्छा निल कण्ठ ओकिल सुछमन ।
कान्छा भान्जा जनारर्दन बाउको बिढो थाम्ने ।
एउटा भान्जा सानैमा भय देउतालाई काम लाग्ने ।
जेठि भान्जी टाठि बाठि सोभा इन्को नाम ।
भक्तपुरमा बस्छीन यनि धार्मिक इन्को काम ।
माईलि भइन रमा इनि अमेरिका गईन ।
परिवार साथै लगीन पि आर वाला भइन ।
साईली भइन नरर्बदा सून्सकि भईन ।
काईली भन्छन बिमला हुन हेटौडामा गईन ।
कान्छी भईन सावित्रा चै पण्डीत्नी पो भईन ।
लेखको जेठो दाइलाई लिला विष्णु नाम ।
खोक्सेनिमै बस्नु हुन्छ पंडित गर्ने काम ।
माईलो मदन आफै भएँ भक्तपुरमा बस्छु ।
काम काज केहि छैन ठुला कुरा धस्छु ।
कान्छो भाई तेज प्रसाद अधिकृत भए ।
पेन्शन भयो फेरि उनि सहकारी गए ।।
Wednesday, March 16, 2022
मेरो विम्बमा नन्दलाल पोखरेल - शिवहरी राई
![]() |
| शिवहरी राई |
लकडाउनको बेला जेष्ट महिनाको मध्यान्न दिउँसो १ बजेतिर
....................फोनको रिङटोन बज्यो । टि.नि.नि.नि.
टि.नि.नि.नि.................................
म : फोन रिसिभ गर्छु हल्लो...हल्लो...हल्लो .....
उताबाट खिरिलो आवाज आयो
काका नमस्कार...म पर्शुराम पोखरेल कटारीबाट ..................
म : नमस्ते भतिज । के छ नयाँ नौलो खबर ? ...........................
'काका खासै नौलो खबर के भनौं र यसो बुवाको स्मृतिग्रन्थ निकाल्ने सल्लाह भएको छ, काकाले पनि बुबाको नजिकी मित्रताको हैसियतले स्मृतिमा भएका केही कुराहरू लेखिदिनका लागि अनुरोध गरौँ भनेर !' पर्शुरामको आग्रह थियो ।
सम्झनामा आदरणीय दाजु नन्दलाल पोखरेलकै छोराबाट स्मृतिग्रन्थ प्रकाशनको जानकारी पाएपछि विगतका दिनहरुमा नन्दलाल पोखरेलसँग औपचारिक अनौपचारिक भेटघाटको स्मरण झलझली आउन थाल्यो । मलाई पहिलो पटक घरसारको लेनदेन कबोलियतनामा कपाली तमसुक लेख्न स्व. नन्दलाल पोखरेल दाईले सिकाउनु भएको व्यहोरा अझ याद छ । सम्झे मनभरी करीव सात दशक पुरानो स्मरण ।
लिखितम् पूर्व ३ नं. अड्डा माझ किराँत उदयपुरगढी थुम रामपुर थुम्की खाल्ले गाउँ बस्ने दलबीरको छोरा वर्ष ३५ को धनवीर राईले आग्ये साहु ऐऐ. थामखर्क बस्ने नन्दलाल पोखरेलबाट रु ६०।– (अक्षरुपी साठी रुपैयाँ) कर्जा लिएको ठीक साँचो हो । यो रुपियाँको कवोल बन्दोबस्तको हद यही सालको चैत्र मसान्त सम्ममा सवाइका दरले ब्याज लगाइ साहुकै घरमा ल्याइ एकमुष्ट बुझाउनेछु । भाकामा बुझाउन सकिनँ भने सो रुपैयाँ वापत मेरो घरमा भएको हल गोरु दार्मे र तिल्के काडोसी भएको दुवै गोरु साहुले लिनु म बुझाउँला । साक्षी किनारा ! मुकाम साहु कै घर दलानमा हो । आदी आदी ....................................................................
यो युक्ती व्यहोरा नन्दलाल पोखरेल दाइसँग पहिलो पटक मैले सिक्न पाएको हुनाले जीवनभर भुल्नै नसक्ने घरायसी व्यहोराको म सधैं गुरु ठान्दछु । नन्दलाल पोखरेल दाइप्रति मेरो श्रद्धा भावका साथ थोरै कवितामा उतार्न मन छ, किनकी उदयपुर अड्डा नभै गढी मात्र रहेछ र गढीमा १ कप्तानको १६ जवान सिपाही, २ हवल्दार, १ सुवेदारको कमान मात्र रहेछ । पछि २०१३ साल देखी वडा हाकिमको दरबन्दी भएपछि उदयपुर अड्डा हुँदै २०१८ सालबाट जिल्ला हुन गएको हुँदा उपरोक्त लिखत सवालमा ३ नंं माझकिराँत ओखलढुङ्गा जनाउनु पर्ने व्यहोराको सम्झनामा थोरै श्रद्धेय नन्दलाल पोखरेलप्रति कविताद्वारा स्मरण बिम्ब प्रस्तुत गर्दछु ।
कविता
पूर्व तीन नम्बर माझ किराँतको ठ्याक्कै दक्षिणतिर
पर्छ महाभारत उत्तरमहाँ भन्थे थुम एक रामपुर !
ग्राम थामखर्कमा एक कूलको लेख्नु म थोरैकुरा
थिए नन्दलाल पोखरेल थरका व्यक्ति सारै चतुरा !!
ज्योतिष भावका नम्रस्वभावमा बोल्न सारै सिपालु
ऐलेको चर्चित नेता भनेझै उ बेला भन्थे ठालु !
लोकप्रिय समाजका गार्जे नै पनि हुन सबैले भन्थे गुरु
निम्छरा गरिवले शहारा मानेर पछ्याउँथे हुरुरु !!
झगडा गर्नेलाई अदालत नगइ बताउथे सबै कुरा
उ बेला बखतको मुलुकी ऐन मुखमै थियो पुरा !
चीनाका कुण्डली कोरी रहँदा लेख लेख भन्थे जाहेरी
विवाहको लगन औँलाले जुराउने पात्रो केही नहेरी !!
थाम्खर्क उच्चमा कीर्तिमान रहिरहोस् यिनै कलाका धनी
पोखरेलका कूलका कण्ठैछ मुखमा थाम्खर्के कान्छा भनी !
ठानागाउँ भनेर चिनिने यो गा.पा. एैले ताप्ली पर्दछ
पोखरेलका जीवनी लेखेर सकिन्न कथा अरु धेरै छन् !!
नौ दशक बढीनै लोहाका खम्बाझैं जीवन रही गयो
मान्छेको कहानी चर्चाको शीखर अनन्त कृति रह्यो
स्मृति पानामा दुइचरण कविता सम्झना रहीरहोस् ।
हितैसी भावना रहीरहेमा स्वर्गमा भेटघाट हवस् ।
नन्दलाल पोखरेलको जीवनकालका उदाहरणीय कार्यहरु
(क) गरिव निम्छरा वा कसैलाई पनि आपतविपत परेको बेला जो कोही नन्दलाल पोखरेलसँग दुख बिसाउन जाँदा नम्र स्वभावले बोलचाल गर्नुहुने भएको हुँदा सबै आफ्ना कुरा धक नमानी प्रस्तुत गर्न सक्ने अनी आपतका विषयको उपायहरु नितिनियमपूर्वक जानकारी गराई सहज उपायद्वारा समस्या समाधान हुने गर्दथ्यो । यही हो उहाँको पहिलो गुण ।
(ख) उहासँग ऐलेको व्यहकिङ्ग कारोबार नहुँदाको बखत आय व्याय नगद जिनीसको आवश्यक गाउँघरका मानीसहरुलाई आफु जिम्मेवारी भएर खाँचो गाह«ो टार्न नगद जिनिसको आदान प्रदान वा जिनिस जिनिस साटासाट गर्ने । अति उपयुक्त सामाजिक लेना देना गराई दिनुहुन्थ्यो । र समाजका समस्या समाधान हुन्थ्यो । आकर्षक टनेै गर्दथ्यो । त्यसैले उहासँग धेरै मान्छेले पछ्याउने गर्दथ्यो । परि आएको समस्या पनि समाधान हुन्थ्यो ।
(ग) फौजदारी वा लेनदेनका अन्य झगडियाहरुलाई भर्सक घर सारमै दुवै वादी प्रतिवादीलाई राखी मेलमिलाप गराउन हदैसम्म प्रयास गरी मिलापत्र गराउने प्रयास गर्नुहुने हुँदा उहाँसँग टाढा टाढाका मानिसहरु पनि सोधपुछ गर्न आउने गर्दथे ।
(घ) मानीसलाई आइ पर्ने विभिन्न आवश्यक कार्यको लागि नन्दलाल पोखरेलसँग साृधपुछ सुर गर्नु पर्छ भन्ने उदयपुर र हाल खोटाङ हलेसी क्षेत्र भरीका समाजहरुमा घर घर जानकारीको छाप थियो । त्यसै कारण विवाह, ब्रतबन्द, चीना वा वादी प्रतिवादी लेखाउन हेरकोर सोधपुछ गर्न धाउने गर्दथे । अहिलेको निवेदन वारे उ बखत अर्जि भनिन्थो । नन्दलाल पोखरेल धेरै बसी बसी लेखेको अर्जि ओखलढुंगा भाजपुर अड्मामा सिधै दर्ता हुने गर्दथ्यो । कानूनी रितपूर्वक लेखिएको हुँदा जुनसुकै लिखत पनि अड्डाले फिर्ता गर्दैनथ्यो । उतिबेलाको राणा सासन कालमा बढो होसियारी पूर्वक लिखत लेख्दाको बखत पनि अवरोध आरोप नलागी समाजसेवा गर्नुको साथै उहाँमा अन्य विषयको पनि अनुभव थियो । स्वास्थ्यका लागि अमिलो तितोको मात्रा मिलाएर खानुपर्छ । बिहान बेलुका पानी तताएर खानु रोग लाग्दैन । र बिरामीको लक्षण हेरी जरीबुटीको समेत पहिचान गरी खाना दिनुहुनथ्यो । बिरामी सन्चो हुने गर्दथ्यो । देश विदेशका औषधिहरु पनि उहाँलाई जानकारी थियो । उहाँमा सधै उदार सोच बसिरहन्थ्यो ।
(ङ) त्यो राणाशासन कालका कठोर सामान्तीहरुसँग पनि न्यायका लागि पौठेजोरी खेल्न साहसी चतुरा नन्दलाल पोखरेलको पहिलो उदाहरणीय कदम नै काफी सह«ानीय छ । पोखरेलको युवा अवस्थाको हुँदा काठमाण्डौ नेपालको डिल्लीबजारमा डेरा लिई पढ्ने गर्नुहुन्थ्यो । त्यो बखत एउटा बहुत चर्चित घटनाका एक पात्र बन्न पुग्ने नन्दलाल पोखरेल हुन् ।
(च) किराँतकाल पतनपछि रामपुर परीया रेखदेख गर्ने नाइके शाह वंशले हीनेत थरका ठकुरीलाई जिम्मा दिएको हुँदा रामपुरमा ठकुरीको बसोबास हुँदै दरसन्तान फैलिँदै रहाँदा बस्दा कयौा पुस्ता पछि एक कु्रर कठोर सासक नयन ध्वर्ज ठकुरीको रामपुर भित्र सामान्ती शासन चलाई रहेको बखत नन्दलाल पोखरेल काठमाण्डौ डिल्लीबजार मा डेरा गरी पढ्दै थिए । शाहर्वश पृथ्वीनारायणको आक्रमणबाट भागी लुकी बाँचेका होपानी किराँतीको नाती भिमसेन किराँती तावा खोलामा लुकी छिपी रहेको बखत शाहर्वशीहरुले नेपाल एककिरण पछि मासिने मास्ने किराँतीहरुलाई अब नमास्ने बरु जात, धर्क, परिवर्तन गराई उपादी दिने भनी राज्यले निर्णय गरेपछि किराँती शासकको दरसन्तान खोजी हुँदा तावाखेलको साइपाती भन्ने कुनामा एउटा किराँतको सन्तान छ भन्ने जानकारी भएपछि त्यो १० वर्षको नावालक भिमसेन किराँतीलाई कहाँ तेरो खाइपाइन भनी सरकारबाट सोधनी हुँदा रामपुर भनेर जानकारी हुँदा त्यो रामपुर अर्के ठकुरी लाई दिइएको छ । अब रामपुर भन्दा पूर्व राकुला खोला पारी खा भनेर पाप्रे देखी सुनकोसी सम्म र राकुलो खोलादेखी ज्यामिरे खोलासम्म थुम थुम स्वरुङ्ग कट्टी ४ किलाको अनजन बन अधिन गरी खानु भनी भिमसेन किराँती लाई भिमसेन राईको उपाधी स्यहामोहहर लेखी ५२ हातको पगरी गुवाई ४ किल्लाको जिम्दारीको प्रमाण शाहवंश राजाहरुले दिएको मौवा भिमसेन राईको सन्ताव पनातीतीर आइ पुग्दा सम्म राम्रै रहेको र जनाती भरी कृष्ण राईको नाममा जिम्दारी आएपछि भरीकृष्ण ३५ वर्षको अल्पआयुमै मुक्त भयो ।
भरी कृष्ण राईको दुइवटी छोरी मात्र भएको र छोरा नभएको कारण जीम्दारी हक भरीकृष्ण राईको श्रमिती भीम लक्ष्मी राईनी को नाममा भोजपुर अड्डाबाट नाम सारी भयो । जीम्दारी जसो तसो भनि लक्ष्मी राईनीले ददाजुभाई देवर जे गर्नु भतिज हरुको सल्लाहमा चल्दै थियो । ठूलो जिम्दारीको चाल चलन बुझेर कठोर शासक नयनध्वज ठकुरीको गिद्धे आँखा ४ किल्लाको जीम्दारी मौजा तर्फ लगाई वडो गम्भीर षडयन्त्र रची खोला गाउँका केही मगरहरुको सहायता लिई भीम्लक्ष्मी राईनी लाई ललाइ फकाइ गरी धर्म कर्मको नाममा पशुपतिको दर्शन गर्नु उत्तम हुन्छ । खर्च सबै हामी विहोर्स भनी लोभ लालचाको भ्रममा पारी भीमलक्ष्मी राईनीलाई काठमाण्डौ पु¥याई केही रकम हातमा दिई चारखाल अड्डामा गई जीम्दारीको बहाली पुर्जी विक्रीनामा गथराएका थिए । त्यसबखत काठमाण्डौ डिल्लीबजारमा पड्न बसेका नन्दलाल पोखरेललाई यो षडयनत्रकारी लेनदेन र नयन धवजको कुकृतिले जालसाज राम्रैसँग नियाल्न पुग्छ । उता नयन ध्वज ठकुरीले भने नन्दलाल लाई केटाकेटी ठानी बेवास्ता गरेपछि त्यो विक्रीनामाको दावी हदम्याद सबै यथासिघ्र बुझी नन्दलाल खर्च लिन भनी घर तर्फ चम्पट लगाई नयन ध्वज ठकुरी भीमलक्ष्मी राईनीहरु भन्दा ४ दीन अगावै घर आइ भीमलक्ष्मी राईनीले गरेका काम कारबाही सबै यथार्थ बताइ निरक्षर बबरजङ्ग राई समेत ४ जना सामल खाजा बोक्ने भरिया सहित काठमाण्डौ नेपाल ७ दिन मा पुगी हदम्याद भित्र भीमलक्ष्मी राईनी बाट ३६१ घर धुरीको जीम्दारी फिर्ता गर्न बिन्तीपत्र हाल्न भनी काठमाण्डौ सबैजना पुगे रा इपगरीको बहाली पुर्जी १९९२ साल फाल्गुण २० गते नयन ध्वज ठकुरीले नेपालको चारखाल अड्डामा विक्रीनामा पास गरी लिएको भएपनि बाटाको म्याद बाहेक १५ दीनसम्म हकवालाको हकदावी लाग्ने ऐनमा उल्लेख भएको हुँदा ऐनको म्याद भित्र १९९२ साल चैत्र ११ गते नयन ध्वज ठकुरीले भीमलक्ष्मी राईनीबाट स्वरुङ कट्टी ४ किल्ला थुमको ३६१ घर धुरीको पगरी वाला राई भरी कृष्णको सेरु पछि भरीकृष्ण राईकी श्रीमती भीम लक्ष्मी राईनीको नाममा बहाल भईरहेकोमा हाल जालसाज गरी रामपुर खोले खर्क बस्ने नयनध्वज ठकुरीले नेपालको चारखाल अड्डामा विक्री नामा गरी लिएको होता पनि हामी नजिकको हकदारको हक दावीको विन्ती पत्र लेखी एन बमोजिम सरकारमा चढायौँ भन्ने विन्ती पत्र ।
श्री श्री श्री ३ महाराज धिराजको गाथमा
प्रभु विन्ति पत्र लेखाई चढामा प्रभुको हर्जुमा
विषय ः– हकदावी गरी वकिशवश सरकार
नेपाल सरहद पुर्व माझ किराँत ३ नम्बर अड्डा उदयपुर गढी थुम रामपुर खोले खर्क बस्ने नरबहादुर ज्यू ठकुरीको छोरा नयन ध्वज ठकुरीले पुस्तौदेखी हाम्रा पूर्व ३ नं. माझ किराँत अड्डा उदयपुर गढी थुम स्वरुङ्ग कट्टी ४ किल्ला थुम्का राई पगरी बुकुट बास्बोटे बाराहा प्रापेसम्मको जीम्दारी भरी कृष्ण राईको नाममा थियो । भरी कृष्ण राइृ काल गतीले मरेपछि भरीकृष्ण राईकै श्रीमती भीमलक्ष्मी राईनी को नाममा नामसारी भइ आएको माहाल वि.सं. १९९२ साल किराँती उदयपुर गढी थुम रामपुर बसने नर बहादुर ज्यु ठकुरीको छोरा नयन ध्जय ठकुरीले नेपाल आई चार खाल अड्डामा भीमलक्ष्मी रार्यनीबाट हाम्रो राई पगरीको बहाल पुर्जी विक्रीनामा लेखाई छाप पत्र गराउकोले म सहोदर भरी कृष्णको कान्छा भाई र भीम्लक्ष्मी राईनीको देवर भएको हुँदा ऐनको हकदावी म्याद भित्र यो बिन्ती पत्र लेखाई महाराजको गाथमा चढाइ सलाम पाउलागे प्रभु सरकारको जो निधा । फिर्ता गरी पाउँ । मेरो पगरी भनी विन्तिपत्र वाला ।
नेपाल सरहद पुर्व ३ नं. माझकिराँत अड्डा उदयपुर गढी थुम स्वरुङ्ग कट्टी ४ किल्ला बस्ने गर्जमणी को छोरा वर्ष ३६ को ववरगंज राई
दा. बा.
उपरोक्त लिखत मुद्दाका तारतम्मे सबै नन्दलाल पोखरेलकै योजनाबाट निरक्षर ववरगंज राईलाई हकदावीको मुद्दा विन्तीपत्र लेखाई नेपालको चारखाल अड्डामा दर्ता गराई तेस्पश्चात मुद्दाको तारेख खेप्ने वारेश नभै आफैले खेप्नुपर्ने भएको हुँदा निरक्षर विन्तीपत्र वाला ववरगंज राई आफै घरबार जहान छोरा छोरी नावालकहरु अलपत्र छाडी काठमाण्डौको त्यो राणाशासन कालको कालकोठरीमा कहिले ७ दिनको, कहिले १५ दिनको, कहिले ३० दिनको मन लागी फाँटवालाले तारिख खेपाई कठोर जहाँनियाँ राणाशासन काल खाई नखाई भोकै त्यसै पुरा दास सरह ठ्याक्की बाह्र वर्ष काठमाण्डौ काठमाण्डौ तारेख धाउँदा बजरङ्ग राईको घर व्यवहार पनि खरानी भयो । जिवन पनि ८–१० दिनको बाटो पैदल ओहरी दोहरी हिड्दा शिथिल भै सकेको बेला चारखालबाट राणाको मौखिक हुकुम गराई बबरजङ्ग जीमकिो र नयन ध्वज ठकुरीको भोजपुर अड्डाले ४ किल्लाको रेटी बोलाइ तालुक रोजाइ ने भनी हुकुम वकरा भए पछि त्यो हुकुमको ठिक छ महिनापछि भोजपुर अड्डाले दुइजना सिपाही र १ जमेम्वर पठाइ ४ किल्ला बुटके बास्बोटे आएर बबरजङ्ग राई र नयन ध्वज ठकुरी मध्य यहाँका रोटीहरुले कसलाई जिम्दार मान्ने हो सबै घरको मुली १–१ जना सम्वत् २००४ साल चैत्र ५ गतेको दीन सबै राइनीहरु भोजपुर अड्डामा हाजिर भै जिम्दार रोज्ने बयान दिनु आउनु, नत्र सरकारखे अर्को हुकुमबकस हुनेछ । भनी झ्याली पिटेर गइपछि राजाको हुकुम वावा कि दुहाइ भएर सबै रैटीहरु सल्लाह गरी नयन ध्वज ठकुरी को अत्यचार बुझेर भोजपुर अड्डाका वडा हाकिमको ४ किल्लाका रैटीहरुले एक स्वरमा हामी सबैले बबरजङ्ग राईलाई तालुक मान्नेछौँ भनी बयान दिए पछि पुस्तौँ पुस्ता खाइपाइ आएको जीम्दारी मान सम्मान बबरजङ्ग राईले ठूलो संघर्ष फिर्ता लिए पछि उता कठोर मन सायका कु्रर सामन्ती राणाहरुसँग साँठगाँठ भएका नयन ध्वज ठकुरीको लावा लस्कर पछौटेहरु सरदार नीरबहादुर राई समेतका हुन भने ८ वटा घोडा चढेर रैटीहरुको सबै बयचान सुन्नासाथ घर तर्फ रातीनै चम्पट तोडे । भोलीपल्ट सबै रैटीहरु सबै बयान सुन्नासाथ घरतर्फ राटी नै चमपट तोडे । भोलीपल्ट सबै रैटीहरु घरतर्फ फिर्ता लागे भने जिम्दारता बजरङ्ग राईलाई अड्डाले सबै कागज पत्र मिलाई २ दिनपछि भोजपुर अड्डाका वडा हाकिम पुस्कर बस्नेत र मालका खरिदार तुलसी लम्सालबाट रैतीले तिरेको तिरो भोजपुर अड्डामा तुलसी लम्सालबाट रैतीले तिरेको तिरो भोजुर अड्डामा बुझाउने गरी चार खालको हुकुम बमोजिम रैटीले रोजेको हुँदा स्वरुङ्गकट्टी चारकिल्लाको जिम्दार अधिकार चलाउनु भनी बहाली पुर्जी ववरजङ्ग राईको हातमा दिए तव १२ वर्ष पछि खोला फर्किन्छ भन्ने चरितार्थ भएझैं पछि बबरजङ्ग राईले त्यो बहाली पुर्जी ल्याइ केही आफ्ना सहयोगीहरु गौरुङ्ग कार्बाही जेठा बुढा माथाहरु नियुक्ती गरी केही भोज भत्यारको आयोजनामा पात्र नन्दलाल पोखरेललाई बोलाई केही नगदको उपहारसहित सम्मान गरेको यथार्थ एवम आदरणीय नन्दलाल पोखरेल दाइको राणाशासन कालमा पनि जनपक्षीय भावना जगाइ सामन्तहरूसँग लडाइँ जित्नु जिताउनु भएको कार्यप्रति हार्दिक सम्मान गर्दछु । अन्तमा, चर्चित पितृ आत्माको पनि बैकुण्ठमा बास होस् ।
हार्दीक श्रध्दासुमन श्रद्धेय नन्दलाल पोखरेलप्रति ।
000


























