गोपाल पोखरेल |
मलाई थाहा भए अनुसार कान्छाबा गहुँगोरो वर्णको, अग्लो, मोटो, अनुहारमा कता–कता कोठी भएको, दौरा–सुरुवाल, जवारीकोट, टोपी, जुतामा सजिएर हिँडनुभएको याद छ । वहाँसँग जहिले पनि दुईचारजना मानिस विभिन्न समस्या लिएर ज्योतिष परामर्शमा, कानूनी परामर्शमा, या त आवश्यक वस्तु लेनदेनको लागि पछि लागेर हिँडेको देखेको थिएँ । म वहाँको माइलो दाजु (भानुभक्त पोखरेल) को नाती भएकाले पारिवारिक हिसावमा हाम्रो घरको आवतजावतले म सानै देखि कान्छाबाबारे प्रष्ट थाहा पाउँछु । कान्छाबाको जन्म वि.सं. १९७० साल असार महिनामा तत्कालिन उदयपुर जिल्ला ठानागाउँ गा. पं . वडा नं. २, ठानागाउँ धापपानीमा भएको सुनेको थिएँ ।
मैले थाहा पाउँदा कान्छाबाको साविक उदयपुर जिल्ला ठानागाउँ गा.पंं. वडा नं. ४ थामखर्कमा बसोबास थियो । बुवा राइटर कुलप्रसाद पोखरेलको चार भाई छोराहरु क्रमशः कृष्णलाल, भानुभक्त, मीन प्रसाद, कान्छा नन्दलाल पोखरेल हुनुहुन्थ्यो । वहाँको (कान्छाबा) पढाई लेखाई गाउँघरमा अनौपचारीक शिक्षा रहेता पनि पछी काठमाण्डौबाट चारपास माथि अध्ययन गर्नुका साथै भारतको बनारसबाट संस्कृत व्याकरण अध्ययन गर्नु भएको कुरा मैले सुनेको थिएँ । वहाँमा विलक्षणको प्रतिभा थियो । एकचोटी पुस्तक पढदैमा सवै कण्ठस्थ हुने, नविर्सने क्षमता थियो । धेरै जसो संस्कृतका कविता पढेर नेपालीमा उल्था गरी समय सान्दर्भिक बनाउन सिपालु हुुनुहुन्थ्यो । ज्योतिष विद्यामा धेरै प्रख्यात हुनुहुन्थ्यो । चीना लगाउने, वास्तुशास्त्रको (घर निर्माणमा ठाउँ थलो माटोद्धारा साइत, मिलाउने), समय योग हेर्ने, विहेवारीको लगन (जुरअजुर) हेर्ने केलाउने आदी । कान्छाबा ज्योतिष, गणित, बेद, पुराण, रुद्री, चन्डी, कानुनी श्रेस्ता, लेखापढी समेतमा प्रख्यात हुनुहुन्थ्यो ।
म सानो करिव छ सात वर्षको हुँदाको एउटा घटना मेरो मस्तिष्कमा अहिले पनि ताजै छ । एक दिनको कुरा हो । हाम्रो घर (तत्कालिन ठानागाउँ - ३ थुम्की) मा कान्छाबा आउनु भएको थियो । वहाँले क–कसको चीना हेरेको मलाई थाहा भएन । मेरो बुवाले मेरो चिना देखाउन ल्याउनु भयो । कान्छाबाले चिना हेर्दै जानु भयो । केही समय कुन्डली के कता भन्दै हुुनुहुन्थ्यो । अकस्मात ! नराम्रो ग्रहदसा ‘ भोली समाप्त हुदै छ ’ भन्नु भयो । म झस्कें , पहिलेको केहि कुरा बुझिनँ । मात्र ‘भोली समाप्त’ को शव्दले मलाई पिरोल्यो । डरले सोध्न सकिनँ ‘म विवस भएँ ’, छटपटाएँ , भोलीको दिन मेरो कस्तो होला, समाप्त हुने, मर्ने बेला, कति छटपटि हुदो हो, एकाएक ठूलो चिन्ताले ग्रस्त बनायो । खाना खान मन भएन । आमाले मलाई सोध्नु भयो ? "नानी ! तँ किन निरास, अनुहार मलिन्द्र छ , के चिन्ता पर्याे ? आमाको प्रश्नमा मैले भनें – "आमा ! म भोली समाप्त हुदैछु । कान्छाबाले भन्नु भएको, तपाईहरु राम्ररी बस्नु होला । मेरो चिन्ता नगर्नुहोला । " आमा छक्क पर्नु भयो । " किन के भयो र ?" आमाले सोध्नु भयो । मैले भने – " कान्छाबाले चिना हेर्दा भन्नु भएको छ , पुग्छ आमा । कान्छाबाले खडेरीमा पानी पर्छ भन्दा त्यही दिन पानी परेको छ रे ! मर्ने बाँच्ने थाहा पाउनु हुन्छ रे ! हाम्रै बा (भानुभक्त) ले भन्नु भएको ।" आमा चकित्त पर्नु भएको मलाई लाग्यो । आमाको अनुहार मलिन्द्र बन्यो ।
मलाई घर पछाडी छोडी त्यो विषय बुझ्न घर बाहिर जानु भयो । म पनि आमा गएपछि लुक्दै लुक्दै कुरा सुन्न अलि पर गएँ (जहाँ आमा बुवा, कान्छाबा को कुरा सुनिन्थ्यो) आमाले सोझै कान्छाबालाई केही भन्नु भएन । मेरो बुवालाई भन्नु भयो– "के गोपालको ग्रहदसा नराम्रो रहेछ ?" बुवालाई मात्र आमाले सोध्नु भएको थियो ( बुवा र कान्छाबा सँगै हुनुहुन्थ्यो ) कान्छाबाले सुन्नु भएछ । "के भयो अन्तरी ?" ( मेरी आमा अन्तरी ) आमाले भन्नु भयो – "गोपाल त खै के के भन्छ त ?" कान्छाबाले भन्नु भयो – "के भन्छ त ? यहाँ पठाई देउ त ।" म बाहिर पुगेको थिइनँ । आमाले मलाई बोलाउनु भयो । म डरले काप्दै काप्दै कान्छा बा नजिक पुगे । कान्छाबाले मलाई भन्नु भयो – " तैले कुरा बुझिनस् । भोलीबाट तेरो सम्पुर्ण नराम्रो ग्रहदसा समाप्त हुने र राम्रो हुने पो भनेको । तेरो राम्रो छ , भविष्य सुखमय हुनेछ , धनको योग राम्रो छ , विद्यामा मिहिनेत गर्नु पर्दछ , पछि कहिले पर्दैनस् । नगरको, गाउँको श्रेष्ठ हुन्छस् , तेरो मृत्युको योग ८५ वर्षमा देखिन्छ । डराउनु पर्दैन ! " भन्नु भयो । म खुसीले गदगद भएँ , म रमाएँ, कान्छाबासँग धेरै खुशी भएँ , त्यसपछि मेरो दिमागमा त्यो घटनाक्रम सधै तस्विर बनी आइरहेको छ । मलाई त्यो विषय प्रेरणाको श्रोत बनेको छ । जहिले पनि काम गर्दा ‘पछि पर्दैनस्’ भन्ने शव्दले सफल हुन्छु भन्ने आत्मबल बढेको छ । विरामी हुँदा केहि छैन ८५ वर्ष बाँच्दछु , भन्ने विश्वास लागेको छ । आजसम्म त्यो चीनाको ग्रहगोचर हेर्दा कान्छाबाको भविष्यवाणी मेरो जिवनमा पथप्रदर्शक बनेको छ ।
म जान्ने बुझने अवस्था देखि नै कान्छाबाको हाम्रो घरमा घुलमिल थियो । कान्छाबाको घर अग्लो थुम्कामा, वरिपरी जंगल क्षेत्र, बीचमा सम्म मैदानी भाग, चार पाँच घर बस्ती, पानीको अभाव, चोरी डकैीतको डर त्रास, आगलागीको समयमा भय हुने (थामखर्क) मानिन्थ्यो । त्यसैले होला महत्वपूर्ण कागजात तमासुकहरु कहिलेकाही हाम्रै घरमा राख्ने गरेको मलाई थाहा छ । हाम्रो घर (थुम्की) थामखर्कबाट ३० मिनेट तल ठूलो बस्तीको विचमा भएकाले सुरक्षाको हिसावमा राम्रो बुझिन्थ्यो । अर्को तर्फ माइलो दाजुको भर भएकाले मूल घरको रुपमा कान्छाबाले लिएको जस्तो लाग्दछ । हामीलाई पनि सहज थियो– कान्छाबाको गाउँघरमा ठुलो प्रभाव भएको हुदाँ आउँदाजाँदा खाने बस्ने, हाम्रो घर भएकाले होला , कान्छाबा कहिले आउनु हुन्छ ? भनेर धेरैले हामीलाई सोध्ने गर्दथे ।
दशैंको समयमा कान्छाबाले (दशैं सम्बन्धी ) कार्य गराउनु हुन्थ्यो । त्यो हाम्रो क्षेत्रमा सम्पन्न व्यक्तिले गराउने चलन रहेछ । जस्तै : थामखर्क कान्छाबा, ठानागाउँ तेजबहादुर ज्यू ठकुरी, कपासेटार माधब गिरी, मादले जुद्धबहादुर राउतहरुले दशैं कार्यक्रम गराउने बारे सुनेको थिएँ । थामखर्कमा घटस्थापनामा जमरा राखी सप्तमी देखि पुरोहित सहित व्रत बस्ने, अष्टमी दुर्गा पुजा, नबमीमा नौ कन्या पुज्ने चलन थियो । नौ कन्या हाम्रै दिदीवहिनी भएकाले म पनि हेर्न जान्थे । नौ कन्या पुज्ने , खाँपीको कपडा रंगाएर गम्छा बनाई ओढाउने चलन थियो । अष्टमीमा दूर्गा पूजा (बोका बली चढाउने चलन) थियो । बोकाको टाउको दशमीको दिन टिका लगाउन कान्छाबा स–परिवार थुम्की आउदा लिएर आउनु हुन्थ्यो । दशैंमा कान्छाबाको परिवार , जेठा, माइला, साइला, बडावा, वडीआमा, दाजुभाई, दिदी वहिनी, अन्य गाउँघरका इष्टमित्र समेतको पहिलो टीका हाम्रै घर (थुम्की) मा लगाउने चलन थियो । पहिलो टीका लगाउने व्यक्ति कान्छाबा हुनु हुन्थ्यो । अनि क्रमागतः साईनो बमोजिम ठूलो बाट सानोले लगाउने चलन थियो । ठुलठुलो खडकुलामा खाना, दाल, मासु पाक्दथ्यो, त्यो दृश्य हेर्दा कान्छा बाको प्रभाविलो समय ठूलो जमघटले वरपरका मानिसहरु छक्क पर्दथे । कोही त हेर्न पनि आउँथे । दशँैको समयको त्यो रमाइलो क्षण, त्यो जमघट, त्यो पारीबारिक भेला, आजपनि दशैंको समयमा याद आईरहेको छ । कान्छाबा कति बेला थामखर्कबाट थुम्की आउनु हुन्छ भनेर घरबाट माथि (खरबारी) तीर नजर लगाएको दृश्य दिमागमा अझैसम्म कैद भएर रहेको छ । सधैं स्मरण भईरहन्छ ।
लगभग २०३५/२०३६ साल तिर होला म घर नजिक (थुम्की) को विद्यालयमा प्राथमिक तह कक्षा–३ को पढाई, सकेर माथिल्लो कक्षा अध्ययन गर्न रुपाटार गएको थिएँ । मेरो पढाई राम्रै थियो मेरा फुपू, फुपाजु, (फडिन्द्र रेग्मी) को घरमा बसेर तत्कालिन महेन्द्ररत्न नि.मा.वि. रुपाटारमा ५ कक्षा पढदै थिएँ । शुक्रवार पढाइको हाफ छुट्टी हुन्थ्यो । दिउसो १ः३० बजे छुट्टीपछि म घर ( थुम्की) आउँथे । घरमा आउन खुशीको सिमा हुदैनथ्यो । घरमा आउँदा वाहिरबाट आएको छोरालाई बढी माया गरे जस्तो लाग्छ । तर पनि म बाबुआमाको एक्लो छोरा धेरै दिदी वहिनीको दाजुभाई भएकोले होला सवै घर परिवारबाट माया पाएको थिएँ । घरमा आएपछि मलाई पढन जान मन लाग्दैनथ्यो । घरबाट हजुरबा, बुवा आमाको करले पढ्ने गर्दथें । रुपाटार पढ्न जानेबेला अगाडी देखि नै मन रुन्थ्यो । घरमा सुख थियो । आफन्त फूपु, फूपाजु माया धेरै गरे पनि हेलमेल कम भएकोले होला मलाई आफ्नो जस्तो लाग्दैनथ्योे । मलाई रुपाटार गई बस्न, पढ्न कर थियो । घरमा राम्रेै आर्थिक अवस्था थियो, तै पनि पढन जानै पर्ने रुदै चिन्ता गर्दै जान्थें । पढ्न जाने नजिकका साथी साह्रै धेरै थिएनन् । यसै गरी समय वित्दै गयो । म रुपाटार पढन जाँदा आउँदा घरमा कान्छा बा सँग खासै भेट भएनछ क्यारे । म शुक्रबार घर आउने शनिवार घर बस्ने र आईतवार विहान कक्षामा उपस्थ्ति हुन १०ः०० बजे पुग्थें ।
एक समयको कुरा हो । म घरमा आएको थिएँ कान्छा बा पनि हाम्रो घरमा आउनु भएको रहेछ । म कक्षा ६ तीर पढ्थें । कान्छा बा आउदा मैले उहाँलाई ढोगें । विशेष हातमा ढोगिन्थ्यो । ढोगेर पीरामा बसें । मेरो हजुरबा (भानुभक्त) ले कान्छाबा लाई भन्नु भयो – हेर कान्छा ! यो मेरो नाती (गोपाल) पढ्नमा त राम्रै पढ्छ तर स्कूल जाने बेलामा यो अलिक पीर गर्छ । घर नजिक स्कुल नभएर दुःख पाइयो, भन्नुभयो । तत्पश्चात कान्छा बाले मलाई सोध्नु भयो ? तँ कतिमा पढ्छस् ? कस्कोमा बस्छस् ? हिसाव आउछ ? मास्टर गोकर्ण छ हैन ? मैले कान्छा बा को उत्तर दिए – म कक्षा ६ मा पढ्छु । म कवासेटार ठाइँला खडकाको घरमा बस्दछु । हिसाव आउँछ । गोकर्ण मेरो हेडसर हो भने । कान्छाबा ले भन्नु भयो ए ! तेसो भए तलाई एउटा हिसाव दिन्छु बनाएर देखा –
एकान्तस्थलमा त पोखरी नौ–नौ भैंसी त नौ–नौ थिए ।
भैंसीका पिठमा त हासँ नौ–नौ जलैकृडामा थिए ।।
ती हाँसको त पेटमा फुल नौ–नौ जम्मा भए है कति ।
यो जान्ने मनुले हिसाव गर है लेखा नविराई रति ।।
लौ हिसाव गर । तँ कत्ति जान्ने रहिछस् । म छक्क परेँ । हिसाव त गुणा अन्तर्गत पर्दछ जस्तो लाग्यो तर श्लोकमा आउने वितिकै म हतोत्साह भै हाले । मैले हेरीरहेँ बा लाई । मेरो मनले कान्छाबा लाई भन्यो– यी बुढाले विताए । कसरी हिसाव गर्नु ? लाजमर्दो हुने भो, बेइज्जत हुने भो, भन्ने लाग्यो । म टोलाएर नजवाफ भएँ । मलाई मन–मनै कान्छाबासँग रिस उठ्यो । हाम्रो घरमा आउने, मलाई नै यो दश झन्झट भिराउने ? यी कान्छा बालाई घरमा आउन नदिए पाए हुन्थ्यो । मेरो मनमा कुरा खेल्दै थियो । मलाई शंका लाग्यो अघि कान्छा बाले सोधेको प्रश्नको उत्तर मैले ठाडो भाषामा भनेर रिसाउनु भयो की ? म रातो पिरो भए , म त्यहाँबाट हिड्न लागेँ , बस्नु भन्दा हिंड्न छलीन बेश ठानेर उठेको थिएँ । वस ! कहाँ जान लागेको अर्को कुरा सुन :
कागचेष्टा बको ध्यान, स्वान निद्रा तथैवच ।
अल्पहारी गृहत्यागी, विद्यार्थी पञ्च लक्षण ।।
यो भनेको के हो ? फेरी दोश्रो प्रश्न आयो । मलाई त फेरी दोश्रो फसाद भयो । मलाई लाग्यो –रुपाटारबाट घर आउने यसपाली साइत विग्रेछ, वारम्वार झन्झट बेहोर्नु पर्याे । यी बुढा (कान्छा बा) मसँग रिसाए । फसाद परयो आज के गरी उम्कीनु ? मार्ने भए, जस्तो लाग्यो । म चुपचाप बसेँ, एकछिन पछि आफैले उत्तर दिनु भयो । कागको जस्तो दृष्टी, बकुल्लाको जस्तो ध्यान, छोटो निन्द्रा, थोरै खाने , घर त्याग्न सक्ने विद्यार्थी हुनुपर्दछ । यो गुण तेरो छ ? कतीको पढाइमा ध्यान दिन्छस् ? घर सम्झीन्छस् होला । चैने – तेरो पढाई हुदैन । अन्तरे – (मेरो बुवा पनि त्यही आइ पुग्नु भएको थियो ) यसलाई घरमा मिठोमिठो खान नदिनु, एकदम घरमा च्वासच्वास नबोलाउनु, माया धेरै नगर्नु , बाहिर खेदनु नत्र तेरो छोराले पढ्दैन । काम दिदैन है ! भनेर उठेर घर तर्फ हिडनु भयो । मैले अव गम्भीर रुपले सोच्नु प¥यो । अव म के गर्ने, सोचे ! – घर न आउने कि ? कान्छा बा लाई आउन नदिने कि ! घर त्याग्न पनि नसकिने । कान्छा बालाई घरमा आउन बाट रोक्न पनि नसकिने । अव म के गर्ने ? आजको दिन यो संकटको घडी, मेरो यतिन्जेल यस्तो समय आएको थिएन भन्ने मनमा कुरा खेल्यो । धेरै समय सोचेँ, मेरो पक्षमा फाइदा हुने चेष्टा देखिन । कोही कसैलाई केही भनिनँ । ठूलो चोट पर्याे ।
समय वित्दै जादा मेरो कान्छा बासँगको सम्बन्ध भिन्न हुदै गयो । म घरमा आउँदा बेलुकी आउने , घरमा भएको बेला कान्छा बा आउँदा जस्केला बाट निस्केर गाउँतिर जाने, गाउँघरका अन्य केटा प्रयोग गरी कान्छा बा हाम्रो घरमा भएको नभएको सूचना बुझ्न लगाउने । हिँडे पछि मात्र घरमा आउने गर्न थालेँ । मनमा यी बुढा (कान्छा बा) हाम्रो घरमा कति आउछन् ? हामीलाई मिठो नखाउ भन्ने, आपूm चाही मिठो–मिठो खाने भन्ने उव्जन्थ्यो । घरमा कान्छा बाका विरोधमा बोले उल्टै गाली पाउने भएकाले चुपचाप रहें । कान्छा बाले दिनु भएको हिसाव केही गरिएन । सधै अलकढलक भएर समय व्यतित गरियो ।
समय वित्दै गयो म कक्षा सात उत्तीर्ण गरी त्रिवेणी मा.वि. कटारीमा कक्षा आठ पढ्न गएँ । त्यसपछि दूर्छिम मा.वि. छापडाँडामा कक्षा नौमा पढेँ । यसैताक कक्षा नौको अन्तिम परीक्षाताका मेरो बुवा विरामी पर्नु भयो । मैले पढाई छाडेर घर व्यवहार गर्न थालेँ । एक वर्ष पढाई पछि पर्याेे । २०४१ साल तीर होला रुपाटारमा महेन्द्र रत्न मा.वि. रुपाटार नामले प्रस्तावित मा.वि. स्थापना भयो । मैले त्यहीँ भर्ना लिएँ । कक्षा ९ उत्तिर्ण गरी कक्षा १० पढ्ने समयमा विद्यालयले वाहिरको विद्यार्थी एडमीशन गरेर विद्यार्थी संख्या ९६ जना पु¥यायो । एस.एल.सी. पूर्व टेस्ट परीक्षामा मैले प्रथमस्थान हासील गरें । एस.एल.सी. को प्रथम विद्यार्थी भएकाले मैले आपूmलाई बढी जिम्मेबार छात्रको रुपमा लिएँ । त्यसताकाको प्रथम विद्यार्थीले अन्य उपस्थित त्यस केन्द्रमा आएका विद्यालयका प्रथम छात्रसँग पढाइको मापन सम्बन्धि छलफल हुन्छ भन्ने हल्ला हुन्थ्यो । त्यसले मलाई कतै कमजोर पो भइन्छ कि ? भएमा बदनाम हुन्छ भन्ने ठूलो पीर थियो । त्यसताक उदयपुरगढी परीक्षा केन्द्र भएकाले अलिक केन्द्र खुकुलो मानिन्थ्यो । मलाई असफलको डर भन्दा अन्य विद्यालयका साथीहरुसँग सोधखोजमा पो कमजोर भइन्छ कि ? भन्ने चिन्ता हुन्थ्यो । तर कोहीसँग सम्बन्ध नै हँुदोरहेनछ । एस.एल.सी. दिइयो । परिणाम आयो, जम्मा चार जना उत्तीर्ण भइएछ । अरु बयानन्वे असफल भएछन् । नतिजा अहिलेको जस्तो नेट सुविधा थिएन । गोरखापत्र ५÷६ दिनमा आईपुग्थ्यो । मलाई पहिला नतिजाको सूचना दिने प्रथम व्यक्ति काका (कान्छा बा को माइला छोरा) मचिन्द्रप्रसाद पोखरेल हुनुहुन्थ्यो । वहाँहरु म भन्दा तल्लो कक्षामा अध्ययनरत हुनु हुन्थ्यो । विद्यालयले रिजल्ट हेरेर मलाई सूचना पठाएको रहेछ, अनि मात्र मैले थाहा पाएँ । त्यसताकासम्म म कान्छा बा को अलकढलक भई रहेँ । भेटघाट भएपनि नजिक खासै परिएन । केही दिनपछि मलाई रीस उठाउने कान्छा बा लाई भेटन भन लाग्यो । अवत गाली पाइँदैन होला भनेर, हामी त्यस समय २०४३ सालमा थुम्की छोडी जतनपुर ( ठानागाउँ कै ७ नं. वडा) बसाई सरिसकेको थियांै । यारीवेसी र थामखर्क जान जतनपुरको बाटो हिड्नु पर्ने कान्छा बा हाम्रो घरमा आउनु भयो, म घरमा थिएँ । खाटमा बस्नु भयो , मैले हातमा ढोगें । वस, नाती भन्नुभयो , म बसँे । मैले केही नभन्दै कान्छा बाले लौ नाती ! तैले पास गरिस अरे । मैले रुपाटारमा स्कूल बनाउँदा एउटा कोठा एक्लै बनाएको थिएँ । छोरा नातीले लेखपढ् गरुन उन्नती गरुन भन्ने लागेको थियो । तैले पास गरिछस् । राम्रो भयो, काम सफल भयो । अव माथि पढ् । हाम्रो सीताले पनि आइ.ए. सम्म घरको खर्चबाट पढेको, उसले माथिल्लो कक्षा आपैmं पढ्यो । तैले पनि यसो ठाउँ खोजेर पढ्नु । यस्तो अर्ति उपदेश पाएँ । म खुशी भएँ । पहिलेको कुरा विर्सिएर फेरी कान्छा बासँग नजिकिंदै गएँ ।
मेरो पढाई कलेजस्तरमा मोरङ्ग मा दुई वर्ष पढेर नियमित उत्तीर्ण गरी २०४५ साल काठमाण्डौको रत्न राज्य लक्ष्मी क्याम्पसमा वि.ए. अध्यापन कै क्रममा २०४५ साल पौष ९ गते घर आएँ । घरमा आउँदा मेरो हजुरबा (भानुभक्त) को दुई दिन पहिले स्वर्गारोहण भएको रहेछ । मलाई थाहा थिएन । सोही काजकाममा तेह्रौ दिन विताइयो र कान्छा बा लगायत घर परिवारको सल्लाह बमोजिम ककनिश्वर नि.मा.वि. ठानागाउँमा नि.मा.शि पदमा नियुक्ति लिएँ । केही दिन पछि प्र.अ. भई कामकाज गर्न थाले । यसरी नै विद्यालयको कामकाजले समय वित्दै गयो । मेरो घरबाट विद्यालय जान दुईवटा बाटो पर्दथ्यो । एउटा वासपानी अर्को थामखर्क । म धेरै जसो बाटो थामखर्कको हिड्दथेँ । किनकी कान्छा बा सँग पछिल्लो समय मन मिलेको थियो । समसामयिक कुराकानी हुन्थ्यो , चिया खान पाइने । कान्छा बाको चिया अलिक फरक ढंगको थियो । जोसुकै घरमा आवतजावत गर्नेलाई चिया आफै बनाएर दिने । सल्लाको दाउरा, वाहिर नमोलेको कित्ली (चियादानी) अटोमेटिक कपमा (कपको बैठकबाट भित्र उठेको ५/७ चम्चामा भरिने खालको) सखरको गुलियो, मकै भुट्ने कप्टेराको घोलाइले बनेको हुन्थ्यो । चिया खान अनिवार्य थियो , कर गरिन्थ्यो । खानै पर्ने हुन्थ्यो । अरुलाई के भन्नु हुन्थ्यो मलाई थाहा भएन । मलाई चिया खान मन छैन सञ्चो गर्दैन भन्थें। कान्छा बा भन्नु हुन्थ्यो - नाति ! के आज ‘कक्टेल’ हुन्छ होला ? भनेर अर्को पट्टी फर्केर हाँस्नु हुन्थ्यो । म अली-अली ठानागाउँको सँगतमा फसेको, कान्छा बा ले थाहा पाउनु भएछ । चियाको सुरमा व्यङ्य गर्नुभयो । मैले हाँसेर टारें । हैन बा म कहाँ त्यस्तो छु र भनें । कोनी, है ! कोनी, ठानागाउँ ईश्व्र, डाकबहादुर, खोलेखर्क विष्णुको संगतमा छस् म त पत्याउदिन ? फेरी तल्लोबाटो वासपानी भोकको बेला काब्राबोटे जेठो छ भन्दै हाँस्नु भयो । मैले यनकन गरी कुरालाई मोड्दै लगें ।
यसरी कान्छा बाबाट म घर विद्यालय जाँदा आउँदा धेरै अर्ति, उपदेश लिने गर्दथें । मलाई व्यवहारको विषयमा सवै कुरा भन्नुहुन्थ्यो । धर्म सम्बन्धी, ऐकिक नियम, ज्योतीष शास्त्रको बारेमा, ज्योतिष शास्त्र केही त बुझ् भन्नु हुन्थ्यो तर म अल्छे, त्यसै टार्दथें । कान्छा बा लाई चिन्ता थियो – सवै साल घरमा दशैं गराउनु पर्ने, आपूm बुढो हुदै गएको छोराहरु बाहिर बस्ने । अव यो कसले गरिदेला ? यो हाम्रो परम्परा हो, यो हाम्रो कूलको संरक्षण हो । त्यसैले हाम्रा परिवारमा एक जनाले निरन्तरता दिए सम्पूर्ण हाम्रो परिवारको, वंशको सुख प्राप्त हुन्छ, शान्ती मिल्दछ भन्ने थियो । थामखर्कमा रहेको जालपा देवीथानको घण्टा संरक्षण हुँदैन कि भन्ने विषयमा चिन्ता व्यक्त गर्नुहुन्थ्यो । त्यसैले मूख्य चिन्ताको विषय भएकोले उक्त कार्यको लागि म कोशिस गर्दछु बा भनेर आश्वासन दिएँ । कान्छा बा खुसी हुनु भयो । मैले दशै सम्बन्धि कार्यविधीको बारेमा सोधें । बाले मलाई बताई दिनु भयो । सप्तसती चण्डी पढ्ने तरिका समेत सिकाई दिनुभयो । म पनि वाहिर हिंडडुल गर्ने भएकाले नियममा बाँधिन पाए हुन्थ्यो भन्ने सोचमा थिएँ । यसै बीच मलाई कान्छा बा को विचारले मोड्यो । मैले उक्त कार्य गर्ने अठोट गरेँ । नियमित दशैंको विधिप्रकृया कार्यक्रममा लागें । हालसम्म गरिरहेको छु । देवीथानमा रहेको घण्टाको विषयमा छलफल चलिरहेको छ । यसलाई पनि व्यवस्थित गर्ने विचार गरिंदैछ । सम्पूर्ण दाजुभाईहरुको सहयोगमा व्यवस्थित गर्ने सोचाई छ। त्यसैले आज कान्छाबा स्वर्गवास भए पनि वहाँले दिएको अर्तीउपदेशलाई शिरोधार्य गर्दै सधैं स्मरण गरिरहेको छु ।
तत्कालिन : ठानागाउँ–३, उदयपुर
हाल : त्रि.न.पा.–५, उदयपुर
No comments:
Post a Comment