ओमबहादुर राउत |
हालको ताप्ली
गाऊँ पालिकामा दुईवटा मादले गाऊँ छन् । माथिल्लो मादलेमा मूल रुपमा राइहरुको मात्र
बस्ती छ भने तल्लो मादले, जहां म जन्मे र १४/१५ वर्ष बिताएं, त्यहां छेत्री र
सार्कीहरुको बस्ती छ। पूर्वमा यारी खोला र पश्चिममा घारी खोलाको बीचमा अवस्थित
तल्लो मादलेको सिरानमा हल्का उठेको नाके डांडामा हाम्रो घर थियो, मूल घर । मेरो
हजुरबा रामचन्द्र राउतले बनाउनु भएको त्यो मूलघर अहिले छैन। कहिले र कसरी हाम्रो मूलघर र
वरिपरिका अरु संरचना भत्किए त्यसको मलाई एकीन ज्ञान छैन तर २०३० सालमा मैले बिहे
गरेर दुलही त्यही घरमा भित्र्याएको थिएँ । त्यती बेलासम्म पूरै संरचनाः मूलगर,
दक्षिण तिरको मतान, पूर्वतिरको लामो गाई बाँध्ने ग्वाली, बीचमा फराकिलो आँगन र आँगनको पूर्बी छेउमा ग्वालीको अगाडी मकैको थाङ्ग्रो दुरुस्त थियो, त्यो दृश्य अहिले
पनि मेरो आँखा अगाडी ताजै छ।
मेरो पहिलो पाठशाला
मेरो हजुरबा
गाऊँको मुखिया मात्र न भएर त्यस भेकको टाठो-बाठो, जान्ने-सुन्ने घत उघ्रेका सीमित
ब्यक्तिहरुमा पर्नुहुन्थ्यो। उहांलाई शिक्षाको महत्व राम्रोसंग थाह थियो। २०१५/१६
साल तिरको कुरा हो, हाम्रो गाउंमा मात्र होईन, सदरमुकाम उदयपुरगढी बाहेक वर-परका
कुनै गाउंमा पनि स्कूल थिएनन्। तराइ तिरबाट आएका एक जना शिक्षकलाई मतानको छिंडीमा
बस्ने कोठा दिएर ग्वालीको माथी गुन्द्री, पीरा ओछ्याएर गाउंका भूरा केटाहरु पढ्ने
ब्यवस्था मिलाई दिनु भएको थियो हजुरबाले। केटीहरु भने त्यती बेला पढाउंने चलन आइ
सकेको थिएन । त्यही थियो मेरो पहिलो पाठशाला । ऊ बेला तराइतिरबाट आएर गाउंमा पढाउंने
यस्ता शिक्षकहरुलाई ‘काइते मास्टर’ भन्ने चलन थियो। यी गुरुले चाहीं कान छेडेर
मुन्द्रा पनि लाएको हुनाले यीनलाई सबैले ‘कानचीरा मास्टर’ पनि भन्थे। उनी कडा
स्वभावका, झनक्क रिसाउंने र रिसाए पछी अली मोटो दिमागी केटाहरुलाई गोरु चुटाई
चुट्थे । त्यस्ता १/२ जना विद्यार्थीहरुलाई पिटेको दृश्य सम्झदा अहिले पनि मेरो आंग
सिरिंग हुन्छ। मैले चाहीं उनको हातको पिटाइ कहिले खानु परेन, म उनको सबभन्दा
प्यारो विद्यार्थी थिएं। उनी खुब राम्रो अक्षर लेख्थे र सबैलाई राम्रो अक्षर
लेख्नु पर्छ भनेर विशेष जोड दिन्थे र मेरो अक्षर सबै भन्दा राम्रो भएकोले उनी मलाई
माया गर्थे।
थामखर्के हजुरबासंगको पहिलो भेट
थामखर्के हजुरबासंगको पहिलो भेट
हामी काठको
समाउंने भेट्नो भएको लामो पाटीमा कालो पोतोले पोतेर घाममा सुकाइ पाङ्ग्राले घोटेर
चिल्लो पारेको टल्कने सतहमा बांसले छड्के पारेर काटेको कलमले कमेरो माटोको सेतो
मसीमा चोपेर लेख्थ्यौं। क ख ग....., १,२,३,..., दुई एकान दुई बीस सम्म, केही
शव्दहरु, सवैया, ड्यौडा, हुठ्ठा, आदि लेखेर पाटी भरिए पछी फेरि, पोतोले पोत्ने,
घाममा सुकाउंने, घोट्ने र अर्को सत्रलाई तयार पार्ने काम हुन्थ्यो। माडसाबको १२ बजेतिर
खाना खाने बेला हुन्थ्यो, त्यही बेला हामीलाई पनि १ घण्टाको खाजा खाने छुट्टी
दिन्थे। त्यसै बेला हामी पाटी पोतेर घोटघाट पारेर दिउंसोको सत्रलाई तयार पार्ने
काम गर्थ्यौं। ठ्याक्दै तिथिमिति त याद छैन तर २०१६ साल तिरको हिउँदको दिन थियो
त्यो । खाजा खाने टीफिन ब्रेक पछी बिहान भरी लेखेर भरिएको पाटी बोकेर हामी एक हुल
केटाहरु काठको लिस्नो झरेर ग्वार-ग्वारति आंगन तिर आउंदै थियौं। दलानमा हजुरबासंग
गफ गरी रहेका हजुरबाके दौंतरी देखिने नौला मान्छेले म तिर हेरेर “ए नानी यता आइज
तेरो पाटी हेरौं” भनेको सुनेर म आठ वर्षको केटो डराउँदै उहाँ भएतिर कुदें। पछी
थाहा पाएँ, उहाँ मेरो हजुरबाको असाध्य मिल्ने साथी थामखर्क निवासी नन्दलाल उपाध्याय
पोखरेल हुनु हुँदो रहेछ। उहाँले मेरो पाटीमा मैले बिहानभरि लेखेको सिरानदेखि
पुछार सम्म नियालेर हेरे पछि मेरो हजुरबा
पट्टी फर्केर सोध्नु भयो, “ठूल्दाइ, यो केटो को हो?” हजुरबाले मेरो नाति, माइलाको
काहिंलो छोरो भने पछि उहाँले थप्नु भयो, “ठूल्दाइ, यो केटोको पढाई लेखाईमा निकै
माथि पुग्ने लक्षण छ, यसले पढ्न चाहे जति सम्म पढाउंनुस”। हजुरबा र म दुवै
फुरुङ्गै पर्यौं। त्यो दिब्यवाणी मेरो दिलोदिमागमा अमीट छाप बनेर रह्यो र मेरो
भविष्यको जगको एउटा दरबीलो ईंटा साबित भयो किन भने हजुरबाले पनि यसलाई जसरी पनि
पढाउंछु भन्ने प्रण त्यती बेला नै लिनु भयो र बाँचुन्जेल लागि पर्नु पनि भयो। मेरो
कलिलो मष्तिष्कमा म पछी पक्कै ठूलो मान्छे बन्ने छु भन्ने सुदूर भविष्य प्रतिको
मीठो सपनाको एउटा अपरिभाषित महत्वाकांक्षाको बीजारोपण भएको क्षण थियो त्यो थामखर्के हजुरबासंगको मेरो
पहिलो भेटको क्षण । म आज जे छु त्यसमा त्यो पवित्र ब्रह्मवाक्यको ठूलै योगदान छ
जसको निमित्त म हमेशा उहाँप्रति आभारी रहने छु।
मैले बुझेको नन्दलाल
उदयपुर र
छिमेकी जिल्ला खोटाङको धेरै भागमा उहांलाई धेरैले “थामखर्के”, “थामखर्कै साहु” र
“थामखर्के ज्योतिषी”को नामले चिन्दथे । उहांको वास्तविक नामै नजान्नेले पनि। अहिले
फर्केर हेर्दा उहां ब्यक्ती मात्र न भएर त्यती बेलाको समाजको एउटा बहुउपयोगी
घुम्ती संस्था (Multi-functional
Mobile Institute) नै हुनुहुन्थ्यो जस्तो लाग्छ । फलीत ज्योतिषका
प्रकाण्ड विद्वान्, धर्मशास्त्र र कानूनका ज्ञाता, अदालति कामकारवाही र लेखापढीमा
निपुण, सबैको रुपियां-पैसाको गर्जो सजिलै टारिदिने, गाउंघरका सानातिना झैझमेला
सजिलै मिलाइ दिने जस्ता सामाजिक बहुउपयोगिताका अजस्र श्रोत हुनुहुन्थ्यो स्व.
नन्दलाल । अक्सर उहाँको विद्वतालाई उहांको “साहु” ब्यक्तित्वले ढाक्नुको मूल कारण
चाहीं मंसीरमा खलाबाट धाने ब्याज भर्दा हुने, साउं सकेको बेला तिर्दा हुने, त्यो
पनि नगदै तिर्नु पर्ने होइन, आफूसंग भएको जे जिनिस बुझाए पनि हुने, भाका नाघे पनि
हप्कि-दप्की सुन्नु न पर्ने सजिलो साहु भएकाले उहांसंग ऋण माग्ने २/४ जना उहाँ जता जाँदा पनि संगै उहांका यी बहुआयामिक समाजसेवाका प्रतिवध्दताका कारण उहाँको बास
आफ्नो घरमा भन्दा वरपरका गाऊँहरु रुपाटार, गैरिगाउं, दियाथुम्का, मादले,
निबुवाटार, डिकुवा, दिर्सुङ, च्यास्मीतिर बढी हुन्थ्यो होला जस्तो लाग्छ । त्यस
भेगका ठकुरी बाबुसाहेबहरुको सामन्ती दबदबाको सहज समाजवादी विकल्प थिए स्व.
नन्दलाल । समय, परिस्थिति र स्थान विशेषको
कुरा हो। बाङ्लादेशमा मोहम्मद युनुस र उनको ग्रामीण बैंकले साना किसान र
गरीबहरूलाई लघु बित्तीय ऋण उपलब्ध गराए बापत सन् २००६ मा शान्तीको
लागि नोबेल पुरस्कार पाए । सन् २०१९ मा अभिजित बनर्जी र वहांकी पत्नी एस्थर
डुफ्लोले अर्थशास्त्रमा नोबेल पुरस्कार पाएको कृती Poor Economics यति बेला पढ्दै छु म। उनीहरूले आधा किताब गरिब
जनताको दैनिकी कसरी चल्छ, उनीहरुलाई सानातिना ब्यवसाय गर्न ऋण कस्ता कस्ता
श्रोतहरुबाट प्राप्त हुने गर्छन् जस्ता गन्थनले भरेका छन्। यता भने पैसाले फिटफिटी
परेका गाउँलेहरुको खन-खांचो सजिलै टारी दिने, सानातिना झै-झगडा मिलाइ दिएर सामाजिक
सद्भाव कायम राख्ने र निशुल्क ज्योतिष सेवा दिएर समाजमा पुर्याएको गहन योगदानको बदलामा
स्व. नन्दलाललाई समुचित सम्मान दिनमा समाजले कन्जुस्याईं गरेको मात्र नभै कहिलेकहीं त उहांको बिरुध्दमा आधारहीन अनर्गल प्रचारहरु पनि भएका छन्। त्यसैले हाम्रो
समाजमा यो उखान प्रचलित भएको होला, ” गुन गर्दो हलो कपाल छेडी माग्दो”।
मेरो निष्कर्ष
मान्छे कमी, कमजोरी,
गुण, दोषको सम्मिश्रण हो, उ गुणै-गुणले भरिएको देवता कहिले हुन सक्दैन। उसको सोच र
ब्यबहारमा झल्किने गुण र अवगुणको मात्राको हिसाबले उसलाई समाजले असल र खराबको
कित्तामा राख्ने हो। आफ्नो बल, बुध्दी, ज्ञान, शीप, सामर्थ्य बृध्दीमा निरन्तर
प्रयत्नरत रहने र त्यसरी हासील गरेको सामर्थ्य मार्फत परिवार, समाज र देशको
उत्थानमा सक्दो योगदान पुर्याउंनु नै जीबनको उद्देश्य हो। यस अर्थमा स्व. नन्दलाल
आफ्नो समयका एक आदर्श पुरुष नै थिए भन्नेमा म विश्वस्त छु। श्रध्दा सुमन थामखर्के
हजुरबा !!
000
000
No comments:
Post a Comment