तोप बहादुर ठकुरी |
सुकिलो दौरा सुरुवाल, जवाहारी कोट, टोपी जुत्ता अनि लठ्ठी टेकेर २/४ जना साथमा लिएर हिंड्ने , कुरा गर्दा सानो स्वरमा बोल्ने, हरेक गफको प्रसङ्गमा कवितात्मक श्लोकहरु प्रयोग गर्ने र ज्ञानगुनका कुरा सबैसामु जतिवेला पनि बाँडिरहने ‘थामखर्के वा’ मेरो घरमा पाहुनाको रुपमा उपस्थित हुनुहुँदा मेरो परिवारका अग्रज सदस्यहरू ‘वा’ आउनुभयो ढोग भन्नु हुन्थ्यो र हामी शिर निहुर्याएर ढोग गर्थ्यौं । उहाँ हाम्रो निधारमा हात राखेर भाग्यमानी भन्नुहुन्थ्यो । पाहुनाको रुपमा वहाँको उपस्थितिले सानैदेखि संस्कारी हुन सिकायो हामीलाई । वहाँ हाम्रो घरमा आउनु भएको दिन घरमा सानोतिनो सभा कचहरी नै चल्थ्यो । चाडवाड वा विशिष्ट पाहुना आउँदा मात्र मीठो मसिनो पाक्ने हाम्रो परिवारमा ‘वा’ लाई म धेरै चिन्दिन थिएँ पछि वहाँसंग वाक्लै हेलमेल हुनथाल्यो । आसामीहरुलाई ऋण दिंदा धेरैवटा तमसुक मलाई लेख्न लगाउनु भएको अझै पनि याद आउँछ ।
मेरो परिवारसँग वहाँको सम्वन्ध अत्यन्तै नजिक र घनिष्ट थियो । घुमघामको शिलशिलामा रुपाटारको पल्लोटार आउनु हुँदा सधै हाम्रो घरमा वास वस्नु हुन्थ्यो । मेरो वुवा (भक्तवहादुर ज्यू) वहाँलाई कान्दाइ (कान्छा दाइ) भन्नुहुन्थ्यो र वहाँ मेरो वुवालाई कान्छामुखिया र मुमालाई काकी भन्नु हुन्थ्यो । मलाई कहिले कान्छा र कहिले तोप वहादुर भन्नु हुन्थ्यो । मेरो दिदीलाई छोरी भन्नु हुन्थ्यो र दाइलाई वौवा भन्नु हुन्थ्यो । सम्वोधनका यी शब्दहरुले सम्वन्ध नजिक रहेको पुष्टि गर्दछ । घरमा केही खरखाँचो पर्यो भने मेरो बुवा वहाँलाई नै भेट्न जानुहुन्थ्यो र खरखाँचो टार्नु हुन्थ्यो । तात्कालीन समयमा बैंक वित्तिय संस्थाहरु, सहकारी तथा घरेलु वचत गर्ने समूहहरु नभएको समयमा त्यस क्षेत्रका सवै मानिसहरुको खरखाँचो टार्ने बैंक नै हुनुहुन्थ्यो थामखर्के ‘वा’ । भलै ठूलो थुम्कीको मान्छेले ऋण मागेर मादले वा रुपाटार पुर्यायर र रुपाटारको मान्छेले मागे जतनपुर वा ठानागाउँ पुर्यायर ऋण दिनुहुँदोरहेछ । घुमघामको लागि साथि नछुटुन भनेर होला जस्तो लाग्यो । जसलाई पनि खरखाँचो टारिदिने वहाँको वानी थियो र गाई वस्तु, भाँडाकुँडा, जग्गा जमिन वा नगद जे पनि असुल उपर गर्ने वहाँको बानी थियो । मलाई त याद छैन तर वुवा-मुमाको भनाइ अनुसार ‘थामखर्के वा’ का छोराछोरीहरु सिता, गोमा र मातृका मेरै घरमा वसेर रुपाटार स्कुल पढेका हुन भन्नु हुन्थ्यो । पछि मैले पनि वुझे ‘थामखर्के वा’ का धेरै सन्तानहरुसँग लामो संगत गरिरहँदा वहाँहरु हाम्रो परिवारलाई आफ्नै घरपरिवारको रुपमा हेर्नुहुँदो रहेछ । अहिले सम्म पनि त्यो भावनात्मक सम्वन्ध कायमै छ । सिता पोख्रेल दाइसँग २०५० सालमा वहाँकै कार्यालय अन्तसुल्क विभाग लाजिम्पाटमा बुवा र मैले भेट्दा दिनभरी कार्यालय परिसरमै मेरो बुवासँग कुरा सुन्दा म मुकदर्शक भएर सुनिरहें । प्रायजसो प्रत्येक दशैंमा वुवाको हातको टीका लगाएर आर्शिवाद थाप्न म रुपाटार जाने गर्छु । बुवासँग गफगाफ हुँदा सिता, मातृकासँग भेटघाट हुन्छ कान्छा ? भनेर प्रत्येक पटक सोध्नु हुन्छ । ‘थामखर्के वा’ को कसैले कुरा गर्यो भने अहिले पनि मेरो बुवा रुनु हुन्छ । ‘थामखर्के वा’ सँगका सहयात्राका घटना, परिघटनाका रमाइला कथाहरु मेरो वुवासँग अझै पनि धेरै सुन्न पाइन्छ । आज म जहाँ र जुन अवस्थामा छु, मेरो घरपरिवार, थामखर्के वा, मातृका दाइ, वलवहादुर हमाल ( मेरो भिनाजु ) र सम्पूर्ण गुरुहरुप्रति नमन भन्न चाहन्छु । ५० औं वर्षका सहयात्राका कथा कहानीहरु एक दुइ पेज लेखेर पूरा हुन सक्दैन ।
जन्मेको ठाउँ र जन्म दिने आमा स्वर्गभन्दा प्यारो हुन्छ भन्ने भनाइलाई चरितार्थ गर्दै यथेष्ट धन सम्पत्ति र वौद्धिक व्यक्तित्वका धनि ‘थामखर्के वा’ ठानागाउँ नजिक धापपानीमा जन्मेर रुपाटारको कवासेटारमा देहत्याग गर्नुभयो । देशका सुविधा सम्पन्न शहरहरुमा वसाइँ सरी उच्च शैलीको जीवन निर्वाह गर्न सक्ने हैसियत हुँदा पनि जन्मथलो छाड्नु भएन । धर्मशास्त्र, ज्योतिषविद्या र कानुनका ज्ञाता ‘थामखर्के वा’ले समाजमा सामाजिक, आर्थिक, सांस्कृतिक र धार्मिक संस्कारहरु मरणेपरान्त बाँडिरहनु भयो । कताकता लाग्छ, तत्कालीन समाजले वहाँको वहुमुखी प्रतिभालाई वुझ्न सकेन र केहीले शोषक, सामन्तीको संज्ञा दिएको पनि दिए । जेहोस, यो २१ औं शताब्दीमा २० औं शताब्दीका युगपुरुष ‘थामखर्के वा’ का दृश्य र अदृश्य योगदानहरु अन्तर कुन्तरवाट खोजी गरी नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत वनाउन सके वहाँप्रति सच्चा सम्मान हुनेछ ।
‘थामखर्के वा’ प्रति भावपूर्ण श्रद्धाञ्जली !
ताप्ली ५–रुपाटार
हाल, बर्दिवास जनता बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख
बर्दिवास, महोत्तरी
No comments:
Post a Comment