नागेशकृष्ण पोखरेल
(अधिवक्ता)
|
२०४३ साल तिरको कुरा हो । मेरोे दाजु हिराकृष्ण पोखरेल ठानागाउँमा शिक्षक भएर सेवा गर्दा वहाँकै घर थामखर्कमा केटाकेटीलाई विहान बेलुका शिक्षा प्रदान गर्ने प्रयोजनमा बस्नु हुँदाको समयमा दाजु राजविराज आएको समयमा मलाई पनि दाजुसँगै ठानागाउँ जाने अवसर मिल्यो । कटारीसम्म गाडीमा गई २ (दुई) दिनको बाटो हिंडेर ठानागाउँ पुगियो । आमा र केटाकेटीसँग भेटघाट भयो । त्यसको ३/४ दिनपछि बुवा (स्व. नन्दलाल उपाध्याय पोखरेल) आउनुभयो । बुवासँग केटाकेटी डराएको आभाष पाएँ, कोही पनि नजिक पर्दैन थिए । बुवा गाउँघरतिर निकै बढी घुमफिर गर्नुहुँदो रहेछ, बुझ्दा गाउँघरमा लगानी गर्ने, सो को साँवा व्याज उठाउने, अहिलेको बैँक, सहकारीले जस्तो गर्ने कार्य गरी लाखौँ लाख रुपैयाँ लगानी गर्नुहुँदो रहेछ । वहाँसँग प्राय सहयोगी सँगसाथमा ४/५ जना भद्र व्यक्तिहरू कहिल्यै टुट्दैन रहेछन् । वहाँमा कानूनको पूर्णज्ञान प्राप्ती, न्यायका लागि अहिलेका अधिवक्ता वरिष्ठ अधिवक्ता सरहको कानूनी ज्ञान प्राप्त व्यक्ति, मुद्दासँग सम्बन्धित फिराद पत्र, प्रतिउत्तर पत्र, पुनरावेदन पत्र, बिन्तिपत्र विभिन्न तमसुक आफैँ तयार गर्ने क्षमता रहेछ । जुन यद्यपी अदालतमा अभिलेखको रुपमा रहेका छन् । ज्योतिष ज्ञानको पूर्ण पारखी हुनुहुँदो रहेछ । मैले थाहा पाएसम्म मानिसको अनुहार हेरेर वर्तमान र भविष्यका बारेमा भन्न सक्ने क्षमता समेत वहाँमा रहेको, वहाँले तयार गरेको चिनाले भूत, वर्तमान र भविष्यका बारेमा सतप्रतिशत मिल्दो रहेछ । ज्योतिष ज्ञानका बारेमा वहाँले धेरैलाई शिक्षा दिनुभएको र वहाँसँग धेरैले ज्ञान प्राप्त गरेको सो सँग सम्बन्धित रहेर सत्सङ्ग कुराकानी गर्नुहुँदो रहेछ ।
एकदिन बिहानको खाना खाएर दाजु समेत सबै केटाकेटी स्कुल गए । म घर अगाडीको मतानको माथिल्लो तल्लामा थिएँ । सुत्ने, बस्ने र केटाकेटी पढाउने स्थल त्यहीँ थियो । सोही स्थानमा खाना खाएर म बसिरहेको थिएँ । वहाँ आँगनमा दाँत कोट्याउँदै वरतिर परतिर गरिरहेको समयमा मैले वहाँलाई हेरिरहेको थिएँ। एकाएक वहाँले मलाई देखेर हातको ईसाराले बोलाउनु भयो । त्यसबेला मेरो जिउ झसङ्ग झस्कियो । केटाकेटी डराएको भान म मा पनि पर्यो क्यारे । म निकै डराएँ । म नजिकै गएँ र वहाँले मलाई सोधपुछ गर्न लाग्नु भयो। मैले शिक्षक र विद्यार्थी जस्तो भान भएर सोधिएको सबै सवालको जवाफ दिँदै गएँ । मलाई डर पनि लागी रहेको थियो । बिच्चमा आज स्कुल नगई घरमा बस्न पुगेछु भन्ने मनमा विचार जागिरहेको अवस्थामा एकाएक वहाँले “तिमी निकै चलाख बाठो रहेछौ । ल, तिमीलाई पछिसम्म काम लाग्ने एउटा ज्ञान दिन्छु, यो मन्त्र कण्ठ गर !" भनी एउटा मन्त्र दिनुभयो । त्यसको केही समय पछाडी कण्ठ भयो भनेर सोध्नुभयो । भयो भने अब म तिमीलाई विराट रुपको दर्शन गराईदिन्छु मन्त्र मनले जप्नु , नडराउनु भनी मलाई आँगनमै उभ्याएर सेतो विराट रुपको दर्शन गराई दिनुभयो । त्यसपछि मलाई भन्नुभयो - "तिमीले ६ महिनासम्म यसको साधना गर्यौ भने नजिकै भएर दोहोरो सम्वाद गर्न सकिन्छ । शुभ/अशुभ हुने संकेत पनि दिन्छ अफ्ठ्यारोमा परेका बखत साथ दिन्छ । यस मन्त्र जपेमा भुत, प्रेत, पिचासको भय हुदैँन । शुभ/अशुभ छुट्याउन सकिन्छ तर विराट रुपको दर्शन गर्दा उसको रुप कालो देखिएमा अशुभ हुन्छ । त्यसबेला कुनै शुभकार्य नगर्नु, यात्रा नगर्नु !" भन्नुभयो मैले नजिकै ल्याएर सम्वाद गर्दछु भनी निरन्तर साधना गर्दै गएँ, वहाँपनि घरमा धेरै बस्नुहुन्न रहेछ । गाउँघरतिर लाग्नुभयो वहाँ घर नफर्कदै म दाजुसँग गाइघाट तर्फ आएँ । त्यसपछि वहाँसँग भेटघाट हुन सकेन। वहाँले दिएको विजमन्त्र र साधनाको सम्झना आईरहन्छ । वहाँलाई जीवन रहेसम्म भुल्न सक्दिन ।
ooo
No comments:
Post a Comment