समुद्री सतहबाट करिव १३०० मि. को उचाइमा रहेको उदयपुर जिल्लाको साबिक ठानागाउँ–४ थामखर्क (हाल ताप्ली–४) भन्ने ठाउँ । जहाँबाट उभिएर हेर्दा विश्वको सर्वोच्च शिखर सगरमाथा खोटाङको महादेवस्थान, टेम्के डाँडो ओखलढुङ्गाको ‘गोरुजुरे’ उदयपुरकै लिम्पाटार, बेतेनी, ओख्ले, रुपाटार, चित्रेथाम छर्लङ्ग देखिने यस डाँडोलाई बस्नाका लागि अति स्वच्छ हावा पानी र जमिन भएका कारणले पोखरेल वंशले यस स्थानलाई रोजेका थिए । थामखर्कमा बसोबास गरेकै कारण त्यहाँका सबै पोखरेलहरु ‘थामखर्के’ नामले चर्चित छन् । यसै स्थानमा बसोबास गर्नुहुने नन्दलाल उपाध्याय पोखरेल (मेरा कान्छा हजुरबा) एक प्रतिष्ठीत व्यक्ति हुनुहुन्थ्यो । वहाँलाई सबैले ज्योतिषशास्त्रमा एक धुरन्धर सिपालु ठानी उहाँका घरमा चिना हेराउने र लेखाउनेको लर्को लाग्थ्यो ।
उहाँको जन्म वि.सं १९७० साल आषाढ महिनामा यसै जिल्लाको प्रकृतिको अति रमणीय स्थल स्वच्छ र सुमधुर वातावरणमा पिता कुल प्रसाद पोखरेल र माता ............को गर्भबाट ठानागाउँको धापपानी (हाल बौद्धवीर मगरकी छोरी बस्तै गरेको घडेरी) मा यस्ता उदयीमान ताराको जन्म भएको थियो । वि.सं. १९७३ सालको माघ महिनामा भोटो लगाएर महातारीका अघि लागेर धापपानीबाट थामखर्क बसाई सरेको कुरा हामीलाई बाकै घरमा चिया गफमा सुनाउनुहुन्थ्यो । बसाई आएको दिन महातारीले कुथुर्के (निउरो) को तरकारी र जाउलो खाएको मातृस्मृतीका कुरा पनि मेरो पिताजी (बद्रीनाथ पोखरेल) सँग भन्नुहुन्थ्यो । आफ्नो उमेर ३ वर्षका कुरा पनि स्मरणमा राख्न सक्ने उहाँको दिमाग अति नै तिक्ष्ण थियो भन्ने कुरा स्पष्ट हुन्छ ।
हामी जतनपुरे पोखरेलका पुर्खा जयभद्रका साँहिला छोरा लछिमापति । लछिमापतिका २ छोरा मध्ये जेठा कुल प्रसाद पोखरेल र कान्छा मित्रलाल पोखरेल थिए । यीनै जेठा कुल प्रसादका चार सन्तानमा जेठा कृष्णलाल, माहिलो भानुभक्त (मेरा हजुरबा), साहिँला मिन प्रसाद र कान्छा नन्दलाल पोखरेल हुनुहुन्थ्यो । उहाँले आफ्नो ठाउँ र स्थान थामखर्कलाई नै रोज्नु भयो ।
उहाँको बाल्यकाल गाउँमा गाई, भैँसी, बाख्रा, चराउँदै दाम्ला किला गर्दै कहिले हिउँदे गोठ सारेको त कहिले मधेस पहाड गरेका कुराहरु सुनाउनुहुन्थ्यो । पिता माताको असाध्यै माया र ममताका साथ बाल्यकाल वितेको थियो । अक्षराम्भ आफ्ने पिताजीबाट भएको, सामान्य ज्योतिष केही कर्मकाण्डबाट भएको र त्यसबेला पहाडेका गजमा बाँसको कलमले मसीको भाँडोमा चोवेर लेखेका किताबहरु पाइन्थ्यो । त्यसैबाट उहाँको अध्ययन सुरु भएको कुरा उहाँकै जेष्ठ पुत्र सिता प्रसाद पोखरेल (समकक्षी) मलाई क, ख चिनाउने क्रममा सुनाएको कुरा स्मरणमा छ । केही समयपछि खोटाङ जिल्लाको खोक्सेलीका एक विद्वान इन्द्रलाल उपाध्याय दहालसँग पनि ज्योतिष पढ्न गएको कुरा सिता काका र मलाई माध्यमिक शिक्षा हाँसिल गराउन खोटाङको बुईपा जाने सिलसिलामा डुङ्गामा सुनकोशी तर्दाका बेला व्यक्त भएका कुरा आज पनि ताजै छन् । त्यतिमात्र नभएर घरबाट हिँडेको ७ दिनमा नेपाल (काठमाडौ) पुगी काठमाडौको रानी पोखरी नजिक गणेश स्थानमा एक जना काला पंडित गुरुसँग पनि ज्योतिष पढेको कुरा मातृका काकालाई पढाउन भारतबाट ल्याइएका एक भारतिय काइते मास्टरसँग सुझाउनु भएको कुरा पनि सम्झना छ । त्यसबेलाको चारपास गर्नु भएका बा लाई सामान्य शिक्षकले भेटाउन सक्दैनथ्यो । केही समयपछि आफ्ना पिताजीको वृद्ध अवस्था भएका कारण र दाजुहरुपनि छुट्टफुट्ट भएकाले उहाँ फेरी थामखर्क नै फर्किएर आफ्ना पिताजीले गर्दै आउनु भएको महाजनी पेशा रोजेर सोही ठाउँमा बस्नु भयो ।
२००७ साल तिरको कुरा हो त्यो बेला कान्छा बा त्यस ठाउँका धेरै चतुर व्यक्तिमा कहलिनु भएको थियो । त्यसबेला ठानागाउँका हैकमवाला एक शासक नैनध्वज ठकुरीले नन्दलाल विरुद्ध जात पतित गर्ने (काढ्ने) काम गरेका र अदालतमा मुद्धापनि हालेका थिए । सो मुद्धा २०१० सालमा कुमारी चोक उच्च न्यायालयले खारेज गरी दिएकाले नैन ध्वज ठकुरीले मुद्धा हारेको र नन्दलालले मुद्धा जितेको हुँदा अघि काढिएका पराजुली, भट्टराई, पोखरेल, तिम्सिना राम्पुर खोला भित्रका सबै ब्राह्मणहरुको जित कायम भएर भातपानी बराबरी भएको (चलाएको) हुँदा त्यस बखत हाम्रा जिजु बा कुलप्रसाद कान्छा बालाई श्रीखण्ड अरुलाई खिर्रोको उपनाम दिनुहुन्थ्यो रे ।
प्रजातान्त्रिक विचारधाराका व्यक्तित्व त्यसबेलाका गाउँमा सामान्य निरक्षर व्यक्तिहरुलाई पनि नाजायज कुरामा विद्रोह गर्न सिकाई अन्यायको धज्जी उडाउन लगाउनु हुन्थ्यो । त्यसबेलाको नेपी सुनार्नी (अविवाहिता), ठमाने सार्की, लिला सर्कीनी, तल्लोथाम काली दमिनी (त्यसबेलाको सम्बोधन) जस्ता निडर व्यक्तिहरुलाई कानून सिकाएर विद्रोह गर्न लगाउनु हुन्थ्यो । यसरी अन्याय गर्ने भन्दा अन्याय सहने पापी हुन्छ भनेर अन्यायको विरोध गर्न सुझाव दिनुहुन्थ्यो ।
करिब २०१९ साल तिर उहाँलाई राजकाज मुद्धा लगाईयो । त्यसपछि राजविराजमा झिकाइ छ महिनासम्म नजरबन्दमा राखियो, पछि साबित गर्न नसकेर छाडिएको थियो भन्ने कुरा वहाँसँगै हामी नाति बाजे वेशी झर्दा बाटो कटनीमा सुनेको हुँ । यसरी बिना सबुतका मुद्धालाई सहज रुपमा मूकाबिला गर्नुहुन्थ्यो रे ।
थौरै स्मरणमा आएको कुरा २०२० सालतिर ‘नेपाल’ काठमाण्डौबाट भाडाँ बनाउने वाणा झिकाई चाँदिका करुवा, थाल, गिलास बनाउन लगाउनु भएको थियो । ति भाँडा कुरा अतिथी आउँदा स–सम्मान खाना खुवाउनका लागि बनाइएका थिए भनी मेरी माताजी (खोक्सेली टंकनाथ दाहाल मुखियाकी छोरी) ले भन्नु भएको कुरा मलाई थोरै मात्र सम्झना छ । कतिले त चाँदि भन्ने नचिनेर यस्तो संम्भ्रान्त परिवारमा पनि सिल्भरको थालमा भात खान दिए भनेर हँस्यौली बनाए रे ।
२०१५ सालमा गाउँमा ग्रामोफोन र रेडियो ल्याएर हामीहरुलाई सुनाउनुहुन्थ्यो । म त करिब ६ वर्षको हुँदो हुँ, वल्लोपल्लो गाउँका मान्छे लस्कर लागेर रेडियो सुन्न र हेर्न आएका हुन्थे । यसरी नयाँ प्रबिधि देखाउने त्यो भेगमा उहाँ अमूल्य निधी हुनुहुन्थ्यो ।
काँचो ईटा गाउँमा नै बनाएर घुमाउने घर अरु स–साना घरहरु ठूली आमैको छुट्टै घर, खोर भरी बाकटे (लामा काने) खसी, गुज्राती भैँसी, ठिटा लैना मिलाएर गाई बाख्रा खसी बोका सबै पालिएका गोठ तथा खोर फलफूल जडिबुटी रोपिएको अडचल , घोडताप्रे, कुस हरेक जडिबुटीको समिश्रणको खरबारी, एकदमै राम्रो । अझ सुनमा सुगन्ध थप्न २०१२ सालमा कुनाही र ध्याम्पाखोलाका साल र लाम्पातेका काठ कटाइ एउटा काठै काठको धन्सार बनाउनु भएको थियो । जुन धन्सार पछि सम्म नै थियो । त्यस धन्सारमा पाँच हजार मुरी अनाज रहन्थ्यो । बाँकी निबुवाटारमा ६०/७० मुरी र आदमारामा १०० मुरी जति अनाज थन्क्याउनुहुन्थ्यो । आफ्नो मात्र खाँचो नटारी सबै आवश्यक पर्नेलाई खाँचो टारी दिनुहुन्थ्यो ।
उहाँ ज्योतिषशास्त्रमा पारङ्गत हुनुहुन्थ्यो । गर्भे चिना बनाउन पनि सिपालु । एउटा दृष्टान्त मान्नुपर्छ ताप्ली कै थुम्कीगाउँ निवासी (भु.पु. उप.प्र) पूर्ण बहादुर राईको श्रीमतीको गर्भ छ महिनाको हुँदा नै चिना बनाई छोरा जन्मने योग छ भनेर बनाइएको गर्भे चिना पछि प्रमाणित भयो । पछि छोरा नै जन्मियो । उहाँको चिना अहिले सम्म सुरक्षित छ ।
अर्का महाजनी मादलेका कटक बहादुर खडकाको आयु विचार गरी वहाँको मृत्युको दिन गते बार समेत घोषणा गर्नु भएको र सोही दिन उहाँको स्वर्गबास भएको थियो । मेरै माइलो भाई (बौवा) लाई जन्मदै यस्को जन्मभूमिको भोग छैन भन्नु भएको, नभन्दै १४ वर्षको उमेरमा हिडेर ३५ वर्ष सम्म भारतको आसाममा बसि भर्खरै नेपाल निस्कियो । यसरी भविष्य देख्न सक्ने दिव्यदृष्टि थियो उहाँमा ।
कानूनको पूर्ण ज्ञान हुनु भएका उहाँले घरायसी कागजहरु तमसुक, भरपाई, अंशवण्डा, वादी प्रतिवादी लगायत सबै किसिमका कागजात आफै लेख्नुहुन्थ्यो । बहु प्रतिभाशाली र क्षमतावान हुनुहुन्थ्यो कान्छा बा ।
निद्रा र आहारा कम गर्ने स्वभाव थियो उहाँको । विहान-बेलुका खाना खाएपछि १०० पाइला हिड्नु हुन्थ्यो । नियमित तातो पानी खाने बानी थियो । सार्वजनिक काममा अघि बढ्ने तेजिलो हिँडाई । कसैकसैसँग नझुक्ने निडर । मलाई राजनिती गर्दाका क्रममा (२०४८ मा गा.वि.स.को उपाध्यक्ष ) हुँदाका बखतमा एकदमै सुझाव दिनुहुन्थ्यो । “साबिति कहिल्यै नहुनु, काममा आँटिलो हुनु, सरकार छलेर काम नगर्नु, देश र जनताको भलाई हुने काम गर्नु, खेति गर्दा खेतालालाई आधार मान्नु ” भन्ने उपदेश दिनुहुन्थ्यो । कुलो कटाएर खेत विराउने, सम्पूर्ण आत्मनिर्भर हुनुपर्छ भन्ने सबैका कुरा सुन्ने, विश्वास सबैलाई नगर्ने, आफु पछाडी हिँड्ने सँग डराउनुपर्ने, जस्ता स्वभाव उहाँमा थिए । वास्तवमा उहाँ आफ्नो माइलो दाजु भानुभक्त पोखरेल (मेरो हजुरबा) बाहेक कसैको विश्वास गर्नुहुन्नथ्यो । पितृभक्त हुनुहुन्थ्यो । पिताजीको स्वर्गवास हुँदा धेरै पिर गर्नु पनि भयो । उहाँले सकुन्जेल आफै र नसक्दा अरुको सहयोग लिएर पनि सँधै तिथी श्राध्द गर्न छाडनु भएन ।
तत्कालीन उदयपुरका सभापति भक्तबहादुर ठकुरी, उपसभापति दानबहादुर घले, क्षेत्रीय सदस्यहरु टंकप्रसाद पोखरेल , चन्द्रप्रसाद ढुङ्गाना , देवानोर्वु शेर्पा , पूर्णबहादुर मगर लगायत सम्पूर्ण जि.वि.स. परिवारको तर्फबाट नन्दलालले जनतालाई दुःख दिएर गाउँमा आक्रान्त गरेका हुनाले शान्तिसुरक्षा गर्नका लागि पक्राउ गरी थुनामा राखिदिन तत्काल जिल्ला प्रशासन कार्यालयमा लेखी पठाएछन् र उहाँलाई गिरफ्तार गर्न जिल्लाबाटै वारेन्ट काटियो । त्यसैबेला उहाँ आफैं हाजिर हुन जानुभयो । तत्कालीम प्रशासनले कान्छा बाको बौद्धिकतालाई बुझेपछि सि.डि.यो. बलराम प्याकुरेलले कार्यालयको पाहुना घरमा राखेर स्वागत सत्कार गरेर सभापति लगायत जि.वि.स. परिवारलाई नै यस्तो बुद्धिमान र असल मानिसलाई रिसइवीले यस्तो गर्नु अपराध हो भनी सम्झाइ पठाएको मलाई राम्रो सम्झना छ । त्यसबेला म पनि कान्छा बासँगै अड्डामा साथी गएको थिएँ । यसरी उहाँ सबैको विचारलाई जित्न सक्ने अभूतपूर्व व्यक्तित्व हुनुहुन्थ्यो ।
देविका असाध्यै भक्त कान्छा बाले दैनिक जालपादेवीको दर्शन गरेर विभिन्न देवताको पाठ गरेर मात्र खानुहुन्थ्यो । त्यहि शक्तिले होला कहीं केहीमा हार भएन । वाक्य पनि सिद्ध भयो । मलाई अति मन पराउनुहुन्थ्यो कान्छा बाले । देवीको संरक्षण गर्ने जिम्मा तेरो हो भन्नु भएको थियो । मैले पनि गर्दै आएको थिएँ । हाल म सोही ठाउँमा पिङ बाट लडेर जेठो छोरा दुर्गाको २५ वर्षको उमेरमा स्वर्गबास भयो । पुत्र वियोगको कारणले म त्यो ठाउँ छोड्न बाध्य भएँ । अहिले त्यस ठाउँको जालपादेवीको मन्दिर स्थापना/जिर्णोद्धार गर्न पाए कान्छा बा लगायत सबैलाई भगवानको शक्ति प्राप्त हुनेथियो । यसरी कान्छा बाले गर्नुभएका कार्यहरु झल्झल्ती आँखामा आइरहन्छन् । त्यस स्थानलाई सबैले स्मरण योग्य बनाउन जालपादेवीको मन्दिर स्थापना गर्न यो भेगका सबै शुभेच्छुकहरुलाई यसै संस्मरण मार्फत अनुरोध गर्दछु ।
पैत्रिक थलो छाड्न नमान्नु उहाँको दुर्वल पक्षजस्तो लाग्छ मलाई । उहाँको त्यही सोचाइको कारण हामी जतनपुरे पोखरेलहरु अलि पछि पर्यौँ । उहाँमा पैत्रिक थलोको उन्नती गर्नुपर्छ भन्ने भाव भएको कारण जन्मस्थानलाई छोडेर बसाई जानुपर्छ भन्ने कुरा कहिल्यै सुन्न चाहनुभएन। पैत्रिक थलोकै उन्नति प्रगति गर्नुपर्छ भन्ने तिब्र भावना थियो उहाँमा । उहाँको यस विचारले मलाई त झनै पछि पार्यो । कान्छा बाले मेरो जीउछउन्जेल मलाई नछोडेस भनेको वाणीलाई मैले सदा शिरोपर गरें । कान्छा बाको अन्तिम संस्कार समेत गरी सकेर मैले पनि त्यस ठाउँलाई छोडी कटारी बसाई झरें । हाल मेरो बसोबास कटारी सिमानपुरमा छ । मेरो परिवार र सम्पूर्ण जतनपुरे समुदायलाई जालपादेवी र पितृको सँधै आशिवाद मिलोस् ।
घर नजिक, साथ नजिक सम्बन्ध नजिक भएको मलाई देख्नासाथ खुशीले हाँस्नुहुन्थ्यो कान्छा बा । मैले पनि हरक्षण कान्छा बालाई पहरा दिन्थें । “मेरो नाति आयो” भनेर हतारहतार आफै चिया बनाएर दिने कान्छा बाको बानी थियो । काका फुपुहरू सबै आ-आफ्नो भविष्य निर्माणमा लागेपछि केही समय कान्छा काका, बा र हजुरआमा मात्र हुनुभयो । त्यसबेला म मात्र थिँए बहाँको सहारा । चाडवाडमा मात्र पुग्नुहुन्थ्यो काकाहरु । अति नै आत्मियता, अति प्रेम, सद्भाव दिने मेरा अभिभावक कान्छा बाको बैकुण्ठमा बास होस् । हार्दिकहार्दिक श्रध्दाञ्जली कान्छा बा ! हार्दिक श्रद्धा सुमन !!
हाल : सिमानपुर त्रिवेणी कटारी न.पा.
फो.नं. : ९८२६७१२९१४
No comments:
Post a Comment